पछिल्लो समय सामाजिक सञ्जालमा विपद्का कारण मृत्यु भएका व्यक्तिहरूको मृत शरीर व्यवस्थापन (Dead Body Management) सम्बन्धमा विभिन्न किसिमका नकारात्मक तथा सकारात्मक धारणा र बहसहरू देखिरहेका छौँ । यस्तो संवेदनशील विषयमा भावनात्मक प्रतिक्रियाभन्दा पनि मानवीय संवेदना, वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर बुझ्नु आवश्यक छ ।
म एक विपद् व्यवस्थापन (Disaster Management) विद्यार्थीको नाताले बुझ्दै आएको कुरा के हो भने विपद्मा मृत्यु भएका व्यक्तिहरूको पहिचान तथा व्यवस्थापनका लागि DVI (Disaster Victim Identification) Form व्यवस्थित रूपमा भर्ने, आवश्यक प्रमाण तथा नमुना संकलन गर्ने र डिएनए (DNA) सुरक्षित राख्ने कार्य सम्पन्न गरिसकेपछि मृत शरीरलाई सुरक्षित र सम्मानजनक स्थानमा व्यवस्थापन गर्न सकिने अन्तर्राष्ट्रिय अभ्यास रहेको छ । पछि आवश्यक परेमा सुरक्षित राखिएको डिएनए तथा अन्य अभिलेखका आधारमा पहिचान प्रक्रिया अघि बढाउन सकिन्छ ।
नेपालजस्तो भौगोलिक तथा स्रोत–साधनका हिसाबले सीमित देशमा ठूलो विपद्का समयमा धेरै संख्यामा मृत शरीर व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्छ । यस्तो अवस्थामा उपलब्ध स्रोत, स्थान, जनशक्ति र स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखी व्यवस्थित, सुरक्षित, सम्मानजनक र व्यावहारिक ढंगले व्यवस्थापन गर्नु आवश्यक हुन्छ ।
सामाजिक सञ्जालमा ‘२४ घण्टामै गर्नुपर्छ’ वा ‘२४ घण्टाभित्र गर्नै हुँदैन’ भन्ने एकतर्फी धारणा राख्नुभन्दा कुन अवस्थामा कुन प्रोटोकल लागू हुन्छ भन्ने कुरा बुझ्नु जरुरी छ । मृत शरीर व्यवस्थापनको प्रक्रिया परिस्थितिअनुसार फरक हुन सक्छ र यसको मुख्य उद्देश्य मृतकको सम्मानसँगै पहिचान, प्रमाण संरक्षण, सार्वजनिक स्वास्थ्य र समुदायको सुरक्षालाई सुनिश्चित गर्नु हो ।
नेपाल सरकारले पनि विपद्को समयमा मृत शरीर व्यवस्थापन गर्दा अन्तर्राष्ट्रिय मान्यता तथा प्रोटोकललाई आधार मानेर प्रक्रिया अघि बढाउने गरेको छ । त्यसैले यस्तो विषयलाई अनावश्यक रूपमा राजनीतिक वा सामाजिक विवादको विषय बनाउनु उचित हुँदैन । बरु भएका कामको तथ्यपरक मूल्याङ्कन गर्दै कमजोरी भए सुधार र राम्रो अभ्यास भए त्यसलाई संस्थागत गर्नुपर्छ ।
अर्को महत्वपूर्ण पक्ष भनेको विपद्पछि उत्पन्न हुन सक्ने सार्वजनिक स्वास्थ्य जोखिम तथा सम्भावित महामारीको रोकथाम पनि हो । ठूलो संख्यामा मृत्यु भएको अवस्थामा मृत शरीरको व्यवस्थापन मात्र होइन, पानी, सरसफाइ, वातावरण, संक्रमण नियन्त्रण र समुदायको स्वास्थ्य सुरक्षालाई समेत समान रूपमा ध्यान दिनुपर्छ ।
हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने मृत शरीर व्यवस्थापन केवल एउटा प्रशासनिक प्रक्रिया होइन्, यो मृतकप्रतिको सम्मान, परिवारप्रतिको जिम्मेवारी, प्रमाणको संरक्षण, सार्वजनिक स्वास्थ्य र मानवीय मर्यादासँग जोडिएको संवेदनशील विषय हो ।
त्यसैले सामाजिक सञ्जालमा अपुष्ट सूचना र भावनात्मक टिप्पणी फैलाउनुभन्दा तथ्य, प्रोटोकल, विज्ञान र मानवीय संवेदनाका आधारमा आफ्नो धारणा राखौँ ।
(डा. अधिकारी हस्पिटल विपद् व्यवस्थापन विज्ञका साथै नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघका अध्यक्ष हुन् । उनी शुभेच्छा हस्पिटलका प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।)