२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकोभिड–१९ को भय विरुद्ध लड्न आत्मबल जरुरी, नत्र देखिन सक्छ मानसिक समस्या

कोभिड–१९ को भय विरुद्ध लड्न आत्मबल जरुरी, नत्र देखिन सक्छ मानसिक समस्या


डा. अनन्तप्रसाद अधिकारी
प्रमुख कन्सल्टेट साइक्याट्रिस्ट
पाटन मानसिक अस्पताल ।

सन् २०१९ को अन्त्यतिर चीनबाट देखा परेको कोरोना भाइरसले सन् २०२० को मार्चसम्म आइपुग्दा विश्वमा नै एक महामारीका रुपमा उग्र रुप लियो । एकबाट अन्यमा सर्ने क्रममा विश्वव्यापी रुपमा १ सय ५६ देशमा फैलिसकेता पनि हालसम्म यो रोग पूर्ण रुपमा नियन्त्रण भने हुन सकेको छैन । यता विश्वव्यापी रुपमा एकपछि अर्काे मुलुकमा देखिदै गएको कोभिड–१९ का बिरामीको सम्पर्कमा आउँदा एकबाट अर्काे व्यक्तिमा सजिलै सर्ने भएकोले यसबाट अधिकांश व्यक्तिहरु भयभित देखिन्छन् । यसैकारण पनि नेपाललगायत अन्य मुलुकहरुले यसबाट बच्नको निम्ति विभिन्न उपाय अपनाउँदै जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरिरहेका छन् ।

तर, पछिल्लो क्रममा नेपालमा कोभिड–१९ व्यक्तिमा देखा नपरेता पनि विभिन्न सञ्चार माध्यमहरुले यस सम्बन्धि फैलाएको अतिरञ्जित सूचना तथा समाचारका कारण भने कोभिड–१९ सम्बन्धि अनावश्यक डर, त्रास एवं चिन्ता लिने बिरामीको संख्या बढेको देखिन्छ । गत हप्तादेखि यस मानसिक अस्पतालमा पनि कोभिड–१९ को भय वा डर बोकेर मानसिक अर्थात मनोवैज्ञानिक समस्या लिएर परामर्शको निम्ति बिरामीहरु आउन थालेका छन् ।

कोरोना भयका कारण देखा परेको मानसिक समस्या ?

कोभिड–१९ को संक्रमण विभिन्न देशमा फैलिसँगै यसबाट मृत्यु हुनेको संख्यामा पनि वृद्धि आएको यसबाट आफू पनि संक्रमित भइन्छ कि भन्ने अनावश्यक डर एवं भ्रमको पैदा हुनु नै कोरोना भयका कारण देखा परेका मानसिक समस्या हो । यसलाई हामीले कोरोना प्रकोपको कारण व्यक्तिमा देखा परेको एन्जाइटी पनि भन्न सकिन्छ । यस्ता व्यक्तिहरु विशेषगरी निम्न लक्षण वा समस्या बोकेर आउने गरेका छन् ।

  • भीडभाडमा जान डर लाग्ने
  • सामान्य रुघाखोकी लागेमा पनि कोभिड–१९ को लक्षण हो कि भनी डराउने/आत्तिने
  • चिटचिट पसिना आउने
  • निन्द्रा नपर्ने
  • छट्पटी हुने
  • मरिन्छ कि भन्ने भय हुने
  • सामान्य रुघाखेकीमा पनि डराएर अस्पताल गइहाल्ने ।

उपचार

प्राकृतिक विपत्तिजस्ता कुनै पनि ठूला खालका समस्या आइपर्दा उक्त प्राकृतिक विपत्तिसँग सम्बन्धित भएर व्यक्तिमा देखापर्ने मनोवैज्ञानिक असरलाई ‘एक्युट स्ट्रेश डिसअर्डर’ (एएसडी) पनि भनिन्छ । यो समयअनुसार विभिन्न समस्यासँग सम्बन्धित भएर आउँछन् ।

यस्ता ठूला खालको समस्या सामना परेको समयमा व्यक्तिमा एन्जाइटीको रुपमा देखा पर्छ । हाल कोभिड–१९ अन्र्तगत देखा परेको समस्यालाई पनि हामीले यसै अन्र्तगत राख्न सकिन्छ । तसर्थ हामीले हाललाई दिने यस्ता समस्याको उपचार भनेको आवश्यक एवं उचित परामर्श हो । यसबाहेक हामी उनीहरुलाई के–के कारणवश कोरोनाको संक्रमित भइन्छ वा कोरोना कसरी एकबाट अर्काेमा सर्छ, भन्ने कुराको जानकारी दिन्छौं ।

यसैगरी, आत्मबल कमजोर भएको वा व्यक्तिमा तनाव उच्च भएको अवस्थामा विभिन्न रोगहरुले छिट्टै नै आक्रमण गर्ने भएकोले आत्मबल दह्रो राख्नको निम्ति सुझाव दिन्छौं । तर, कुनै पनि व्यक्तिमा यसैकारण पूर्ण वा गहन रुपमा मनोवैज्ञानिक अवस्था देखा परेको खण्डमा भने हामी बिरामीको अवस्था हेरेर आवश्यक परेमा औषधि प्रयोगको निम्ति पनि सुझाव दिन्छौ । तर, हालसम्म यसैकारण कडा रुपमा मनोवैज्ञानिक असर परेर आएका छैनन् । तर, आएको खण्डमा भने हामीले उनीहरुको अवस्था हेरेर औषधि प्रदान गर्छौ ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ