२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसाउन महिनामा उपवास बस्नुका फाइदा

साउन महिनामा उपवास बस्नुका फाइदा


डा.अच्युत शाली घिमिरे

हाम्रो देश नेपालमा विगत लामो समयदेखि नै उपवासलाई धेरै नै महत्व दिने गरिएको छ । भगवानका निमित्त आफ्नो मनोकामना पूरा गर्ने हेतुले तथा आध्यात्मिक एवं धार्मिक साधनाका रुपमा प्राचीन समयदेखि नै उपवासको महत्व झल्किदैं आएको छ ।

साउन महिना लागेसँगै विशेषतः अझ सोमबार हामी पूजा-आराधना, भक्ति-कीर्तन र उपवासमा तल्लीन हुन थालेका छौं ।  उपवास श्रद्धा र भक्तिभावका लागि मात्र नभएर साच्चिकैं स्वास्थ्यका लागि समेत लाभदायक रहन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ।

संस्कृतमा ‘व्रत’भन्नाले ‘भक्ति वा संकल्प’ बुझाउँछ भने ‘उपवास’ भन्नाले ‘भगवानको नजिक’ बुझाउँदछ ।

अवधि

सामान्यतयाः उपवासको अवधि मानिसको उमेर, रोगको अवस्था, सेवन गर्ने औषधिको प्रकारमा भर पर्दछ । विद्वानहरुको सर सल्लाहमा २-३ दिन र क्रमसः बढाउदैं लैजानु फाइदाजनक रहन्छ।

तरिका

उपवास गर्दा पानी, फलफूलको जुस, काचो सब्जीको जुस, कागतीको जुस आदि सेवन गर्न सकिन्छ । पेटमा ग्याँस वा दुषित पदार्थ नरहोस् भन्नाका लागि ‘इनिमा’ गरेर पेट सफा गरेपश्चात मात्र उपवास सुरु गर्नु पर्दछ ।

६-८ गिलास पानी दैनिक सेवन गर्नुपर्दछ । थिग्रिएको विषाक्त र दुषित पदार्थहरु निकाल्नुपर्ने भएकाले धेरै शक्ति खर्चिन पर्ने हुन सक्छ । त्यसैले शारीरिक आराम र मानसिक विश्राम आवश्यक पर्छ । उपवास तोड्ने क्रममा एकै चोटी धेरै खाने गर्नु हुँदैन । विस्तारै धेरै चोटी चबाएर मात्र सामान्य भोजनमा फर्किनुपर्दछ।

फाइदा

उपवास, शरीरलाई शुद्ध गर्ने एक प्रक्रिया हो । जब शरीरमा अनेकौं विकारहरु जम्मा हुन्छन् तब हामी रोगको सिकार हुन्छौं।मल, मूत्र, पसिना आदिबाट शरीरका अनावश्यक विकारहरु फालिन्छन् ।

तर, पनि निरन्तर रुपमा सेवन गरिने आहारहरुको कारण, शरीरमा विकारहरुको सञ्चय हुने सम्भावना रहन्छ र उपवासको सहयोगबाट शरीरले यस्ता विकारहरु सफा गर्न मद्दत पुर्याउँदछ।

उपवासका कारण प्रतिरोधात्मक क्षमता बढेर जान्छ । र, साथै न्यूूराल्जिया, कोलाइटिस, थकान, कब्ज, कोलाइटिस, सिरोदर्द हुने सम्भावना समेत घटेर जान्छ । प्राकृतिक रुपमा नै हामीभित्र रहेको एक्स्ट्रा फ्याटमा कमी ल्याएर, उपवासले हाम्रो शरीरको तौल सन्तुलन गर्न मद्दत पुर्याउँछ ।
उपवासले ‘ब्रेन डिराइभद नियुट्रोफिक फ्याक्टर’ नामक प्रोटिनको वृद्धि गराएर, ब्रेनको कार्य गर्ने शक्ति समेत बढाउँदछ । र, पार्किन्सोन्स रोग हुने सम्भावना समेत घटाउँदछ । पाचन क्रियामा प्रत्यक्ष भूमिका खेल्ने उपवासले ग्यास्ट्रोइन्टेस्टाइनल सिस्टमलाई अवधिभर विश्राम दिएर, पाचन शक्तिलाई मजबूत बनाउँदछ ।उपवासले मनलाई शान्त,उल्लासमय र स्फूर्तिवान् बनाएर मानिसको आत्मशक्तिमा वृद्धि गराई तनाव घटाउँदछ। उपवासले स्मरणशक्तिमा वृद्धि गराई, अल्जाइमर रोगबाट समेत बचाउँदछ।

उपवासको समयमा शरीरका हरेक अंगहरुमा पर्याप्त आराम मिल्ने हुनाले पछि यिनिहरुले सशक्त रुपमा काम गर्न सक्छन् । जटिल हुँदै गएका जैविक क्रियाहरुलाई उपवासले सामान्य बनाउदै लान्छ । जसले गर्दा शरीरमा तन्दुरुस्ती आउँछ ।
अन्तयमा, आयुर्वेद चिकित्सा पद्धतिमा समेत उल्लेख्य वर्णन गरिएको उपवासलाई कुनै चाडपर्व वा महिना विशेषसँग मात्र नजोडेर दैनिक जीवनमा समेत लागु गर्न सके स्वास्थ्यका लागि हितकर हुने देखिन्छ।

क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ