२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यव्यक्ति रिसाहा स्वभावका किन हुन्छन्?

व्यक्ति रिसाहा स्वभावका किन हुन्छन्?


हरेक व्यक्तिहरु आफ्नै स्वभाव र प्रकृतिका हुन्छन् । कोही व्यक्ति शान्त स्वभावका हुन्छन् त कोही भने झनक्क रिसाउने तथा छिट्टै आक्रोशित हुने रिसाहा स्वभावका हुन्छन् । कुनै पनि व्यक्ति आक्रोशित हुनु भनेको व्यक्तिमा सहने सक्ने क्षमताको कमी हुनु हो । व्यक्तिको यस्ता स्वभावका कारण उसँग कमै व्यक्तिहरु मात्र सम्बन्ध स्थापित गराउन चाहन्छन् । यसै बानीका कारण उनले आफ्नो भएका सम्बन्ध त गुमाउँछ नै, यससँगै यस्तो स्वभावका कारण आफ्नो सर्कलमा भएको व्यक्तिलाई समेत यसले हानी पु¥याउँछ ।

आखिर कोही व्यक्ति रिसाहा एवं आक्रोशित प्रकृतिका किन हुन्छन् त?

व्यक्ति रिसाहा हुनु पछाडि उसका वरपरको वातावरण, सम्बन्ध, सामाजिक, पारिवारिक एवं आर्थिक स्थिति पनि उत्तिकै जिम्मेवार रहेको हुन्छन् । कुनै पनि व्यक्ति यति धेरै रिसाहा किन छ भन्ने विषयमा थाहा पाउन उसको बाल्यकालदेखिको परिवेश कस्तो थियो ? उसलाई के–कस्ता पक्षले प्रभाव पारेको छ ? भन्ने उसका वरपरका पक्ष नियाल्नु पनि उत्तिकै जरुरी रहन्छ । यसबाहेक व्यक्ति रिसाहा एवं आक्रोशित हुनुका कारणहरु निम्न रहेका छन् ।

बाल्यकाल अवस्था

माथि उल्लेख गरेजस्तो कुनै पनि व्यक्ति रिसाहा वा आक्रोशित हुनु पछाडि प्रत्यक्ष भूमिका उसको परिवारको रहेको हुन्छ । यदि कुनैपनि परिवारमा झै–झगडा भइरहने र घरका ठूला अभिभावकबीच मनमुटाव भइरहन्छ भने त्यस्ता पारिवारिक माहोलका बच्चाको प्रकृति पनि छिटो रिसाउने र आक्रोशित हुने स्वभावका हुन्छन् ।

यस्तै कुनै पनि व्यक्तिको बाल्यकाल कस्तो रह्यो? ऊ विद्यालय कसरी गयो? यसको अभिभावकबीच कस्तो सम्बन्ध रहेको थियो ? उसको साथीसंगत कस्तो रहेको छ भन्ने विषयले पनि विशेष प्रभाव पार्दछ ।

यी कुनै पनि रिसाहा व्यक्तिको बाल्यकालसँग जोडिएको पक्ष हो । यस्ता व्यक्तिहरु आफ्ना बाल्यकालदेखि नै रिसाहा एवं आक्रोशित हुन्छन् । तर, यसबाहेक केही व्यक्ति यस्ता पनि हुन्छन्, जसमा पछिल्लो समयमा मात्रै यस्ता लक्षण देखा पर्दछ । त्यस्ता व्यक्तिहरुमा विशेषगरी निम्न पक्षहरुले प्रभाव पारेको हुन्छ ।

प्रेमको अभाव

अधिकांश व्यक्तिको छिटो रिसाउने बानीको अर्को मुख्य कारण प्रेम अभावको महसुस पनि हो । यदि व्यक्ति आफूलाई एक्लो सोच्छ र आफूलाई माया गर्ने मान्छेको अभाव महसुस गर्छ भने त्यस्ता व्यक्तिहरु झनक्क रिसाउने स्वभावका हुन्छन् ।

शान्तिको अभाव

मानिसको स्वभाव र प्रकृतिलाई उसका वरपरका वातावरणले सजिलै प्रभाव पार्दछ । कोलाहल, होहल्ला एवं शान्तिको अभावमा रहेका मानिसको स्वभाव आक्रामक र आक्रोशित बन्न पुग्छ । त्यसैले व्यक्तिको स्वभाव बाहिरी वातावरणको प्रतिक्रिया पनि हो ।

लागु पदार्थ दूर्व्यसनीः

यस्ता व्यक्तिहरु प्रायजसोः आफ्नै दुनियाँमा हराइरहेका हुन्छन् । नशाका कारण उनीहरु एकोहोरिने प्रवृत्तिका हुन्छन् । उनीहरुलाई अरु आफूसँग बोलेको मन पर्दैन । जसकारण उनीहरु अन्य व्यक्तिसँग बोल्दा झर्किने र रिसाउने गर्छन् ।

मनोरोगको शिकार

डिप्रेसन, एड्जस्टमेन्ट डिसअर्डर, सिजोफ्रेनिया, बाइपोलार डिसअर्डर आदि मनोरोगहरूले ग्रसित ब्यक्तिहरूमा पनि रोगको लक्षणको रूपमा रिस प्रकट हुन्छ भने बोर्डरलाइन वा इम्पल्सिव अनि भावनात्मक रूपमा अस्थिर खालको ब्यक्तित्व विकारको शिकार भएका मानिसहरू पनि छिटो—छिटो झनक्क रिसाउने गर्दछन् । यसैगरी डिप्रेसन तथा कन्डक्ट डिसअर्डर भएका बालबालिकाहरूले पनि मौखिक तथा व्यवहारिक रूपमा अत्याधिक रूपमा रिस प्रकट गर्ने गर्दछन् ।

शारीरिक शोषण

शारीरिक शोषणमा परेको व्यक्ति पनि झनक्क रिसाउने, डराउने र आक्रोशित हुने स्वभावका हुन्छन् ।

सामाधानका उपायहरु

कुनै पनि समस्या समाधानको प्रमुख उपाय भनेको नै त्यसको कारण पत्ता लगाउनु हो । उक्त कारणहरुलाई व्यवस्थित गर्नु नै रिस कम गर्ने समाधानका उत्तम उपाय हो । कुनै पनि व्यक्तिको स्वभाव र प्रकृतिलाई पूर्ण रुपमा बदल्न सकिदैन ।

तर, त्यसको विकल्पको रुपमा रिसलाई नियन्यण वा कम गर्ने कोशिस भने गर्न सकिन्छ । यसका लागि निम्न पक्षहरुमा विशेष ध्यान दिनु पर्दछः

  • लागु पदार्थ एवं नशायुक्त दूव्र्यसनबाट टाढा रहने
  • मनोरोगको समस्या छ भने समयमै पहिचान गरी उपचार गर्ने
  • रिस नियन्त्रण र शान्त रहनका लागि मनो परामर्शविद्हरुले दिएको सुझाव एवं व्यायामहरु अवलम्बन गर्ने
  • योगा गर्ने
  • हिंसात्मक र आक्रात्मक वातावरणबाट टाढा तथा शान्त वातावरणमा बस्ने ।

प्रस्तुतीः सृजना मगर 


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ