२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यजनै पूर्णिमामा क्वाँटी खानुका फाइदा

जनै पूर्णिमामा क्वाँटी खानुका फाइदा


डा.अच्युत शाली घिमिरे

आयुर्वेद शिक्षण अस्पताल

नेपाली हिन्दु सम्प्रदायमा महत्वपूर्ण चाडका रुपमा जनै पूर्णिमालाई लिइन्छ । यसलाई क्वाँटी खाने पर्वका रुपमा समेत हेरिन्छ।भिजाइएका गेडागुडीको टुसा उम्रेपछिको अवस्थालाई क्वाँटी भनिन्छ । एउटा परम्परासँग जोडिएर आएको क्वाँटी खानुका पछाडि स्वास्थ्यमा पुग्ने सकारात्मक फाइदाहरु के-के छन् ? आज चर्चा गरौं।

गेडागुडीलाई निश्चित समयसम्म भिजाएर अङ्कुरित भैसकेपछि त्यहाँ पाइने जटिल संरचना वा पौष्टिक तत्त्वहरु सरल र शरीरका लागि पाच्य भैसकेपछि सेवन गर्नु स्वास्थ्यमा अति नै हितकर मानिन्छ । दाल, गहुँ, भटमास, मेथी आदिका दानालाई राम्ररी धोई पखाली गरिसके पश्चात सफा र स्वच्छ पानीमा १२ घण्टासम्म भिजाएर राखी बाँकी रहेको पानी फाली फेरि धोएर घाम नलाग्ने अँध्यारो ठाउँमा फिजारेर राख्न सकिन्छ । यसरी राखेको दुई तीन दिन भित्र गेडागुडीहरु अङ्कुरित हुन्छन् । यसलाई खाजा वा नास्ताका रुपमा दिनहुँ काँचै वा हल्का बफाएर समेत खान सकिन्छ ।

काँचै खादा यसका पौष्टिक तत्वहरु नष्ट नहुने हुनाले बढी फाइदाजनक देखिन्छ। संसारमा भए गरेका विभिन्न सोधखोज अनुसन्धानले पनि टुसाएका गेडागुडी खानुको महत्त्वलाई अझ प्रष्ट पारिदिएका छन् । अङ्कुरित गेडागुडीमा एन्टीअक्सिडेन्टको मात्रा प्रचुर हुने हुनाले, यसले फ्रि रेडिकल्सबाट उत्पन्न हुने विभिन्न रोगहरुबाट बचाउँछ।

जुनसुकै मौसममा उत्पादन गर्न अनुकुल यी टुसाएका गेडागुडीहरुमा मासुमा भन्दा बढी पौष्टिक तत्त्वहरु पाइन्छन् । टुसाएका गेडाुडीहरुमा भिटामिन ए, भिटामिन बी र भिटामिन सी को मात्रा समेत प्रचुर नै पाइन्छन् । टुसाएका गेडागुडीहरुमा जटिल कार्बोहाइड्रेडहरु सरल ग्लुकोज, फ्रुक्टोज, माल्टोजहरुमा र जटिल प्रोटिनहरु सरल एमिनोएसिडहरुमा परिवर्तन हुन्छन् । जसले पाचन प्रणालीलाई सहयोग गर्नुका साथै अखाद्य पदार्थहरु नष्ट गरी गुणस्तरमा वृद्धि गर्दछ ।

त्यसैले यसको सेवनले कब्जियत हटाई पाइल्स, फिस्टुला, फिसरलगायतका रोगहरुबाट बचाउन समेत मद्दत गर्दछ । टुसाएका गेडागुडीको नियमित सेवनले घाउहरु चाडै निको पार्ने, तौल घटाउने र एन्टीबडी इन्जाइम्स र हर्मोनहरु बनाउने कार्यमा टेवा पुर्याउँदछ।टुसाएका गेडागुडीमा पाइने फाइटोस्ट्रिोजन नामक तत्त्व महिलाहरुमा महिनावारी रोकिएपछि हुने समस्या जस्तै पसिना आउने, शरीर तात्ने, हड्डी कमजोर हुने र महिनावारी हुनुभन्दा अगाडि देखिने समस्याहरुमा उपयोगी हुन्छ । टुसाएका ब्राउन राइस, मेथी आदि खादा मधुमेह ,बाथ तथा मुटु र रक्त नलीगत रोगमा फाइदा पुगेका तथ्यहरु फेला परिसकेका छन्।

आयुर्वेदका विभिन्न ग्रन्थहरुमा तथा अन्तर्राष्ट्रिय आहारमा समेत महत्वपूर्ण स्थान हासिल गरिसकेको अमृत समान यी टुसाएका गेडागुडी र खाद्य पदार्थहरु खाएर रोग लाग्ने अवस्थाहरु बाट आजैबाट बचौं।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ