२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशचिसाेले ज्यानै जान सक्छ, यी हुन् सुरक्षित रहने उपाय

चिसाेले ज्यानै जान सक्छ, यी हुन् सुरक्षित रहने उपाय


चिसो मौसममा विशेषगरी बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित हुन्छन् । जसकारण विभिन्न खाले स्वास्थ्य समस्या देखा पर्छन् । अझै चिसोले बालबालिकालाई छिटो प्रभाव पार्छ र उनीहरुले आफूलाई कहाँ के भएको छ भन्नेबारे आमाबुबालाई बताउन नसक्ने भएकाले यस्तो अवस्थामा बालबालिकालाई चिसोबाट जोगाउन सकिएन भने स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गर्न सक्ने कर्णाली प्रदेश अस्पताल सुर्खेतका बाल रोग विशेषज्ञ डा. नवराज केसीले जानकारी दिए । ‘चिसोको संक्रमणले बालबालिका तथा वयस्क व्यक्तिको पनि ज्यानै जानसक्ने खतरा हुन्छ,’ उनले भने, ‘बढ्दो चिसोमा आफु र आफ्ना बालबालिका तथा घर परिवारको स्वास्थ्यमा ध्यान दिन जरुरी छ ।’

चिसोको संक्रमणले हुने खतरा र सुरक्षित रहने उपाय

स्वस्थ जीवनका लागि ब्याक्टेरिया र भाइरससँगको सम्पर्कबाट पनि टाढा हुनुपर्छ । हिजोआज जाडो मौसम छ । यस समयमा विशेषगरी बालबालिका र वृद्धवृद्धालाई चिसोले बढी असर गर्छ । हामीले चिसो याममा बच्चालाई राम्रोसँग ध्यान दिन सकेनौं भने विभिन्न प्रकारका रोग तथा समस्या देखापर्छन् । चिसोमा विशेषगरी दम, एलर्जी, पखाला, निमोनिया जस्ता स्वास्थ्य समस्याहरु देखिन सक्छन् । यो बाहेक छातीको संक्रमण, निमोनिया जस्ता रोगले बालबालिकाको ज्यानै जान सक्ने सम्भावना रहन्छ । त्यसमा पनि तीन महिना भन्दा कम उमेरसमूहका बालबालिकालाई चिसोले छिटो समात्छ । कहिलेकही धेरै चिसो भयो भने मुटुको गति नै बन्द हुनसक्ने सम्भावना हुन्छ ।

चिसोबाट बचाउन बच्चाको शरीर सबै छोपिने गरी कपडा लगाइदिनुपर्छ । हातमा पञ्जा र कान छोपिने गरी टोपी लगाइदिनु गर्नुपर्छ । एकदमै बाक्लो कपडा लगाउँदा अप्ठ्यारो हुन सक्छ । त्यसैले समयानुकूल कपडा लगाइदिनुपर्छ । धेरै अथवा बाक्ला कपडा लगाइदिँदा बच्चालाई असहज हुनुका साथै शरीरमा पसिना आएर त्यसैको चिसोले पनि निमोनिया हुन सक्छ ।
चिसोमा साना बच्चा छन् भने नियमित स्तनपान गराइराख्नुपर्छ । अन्य झोल खानेकुरामा पनि जोड दिनुपर्छ । बच्चालाई चिसोबाट बचाउन कोठालाई न्यानो बनाइराख्न आवश्यक छ । कोठा न्यानो बनाउँदा भेन्टिलेसनमा पनि ध्यान दिनुपर्छ । चिसो मौसममा बच्चाको उमेरअनुसार ध्यान दिनुपर्ने हुन्छ । नवजात शिशु छन् भने विशेष ध्यान दिनुपर्छ ।

चिसोमा स्वस्थ रहने उपाय

– हरिया तरकारी खाने

हामीले चिसो समयमा हरियो तरकारीहरू तथा समय अनुसार फलफुलहरु प्रयाप्त मात्रामा खाने गर्नुपर्छ । जसबाट भिटामिनहरू पाउनुका साथै सन्तुलित आहार कायम राख्न मद्धत गर्छ । सबै बच्चाहरूलाई पर्याप्त मात्रामा भिटामिन डी युक्त खानेकुराहरु खुवाउनु पनि उत्तिकै आवश्यक छ । भिटामिन डीको कमीले हड्डीको विकास, हृदय समस्या, र कमजोर प्रतिरक्षा प्रणाली जस्ता लक्षणहरू निम्त्याउन सक्छ । कलेजो, पनिर, अण्डाको पहेलो भाग र दुध र सूर्यको प्रकाशमा भिटामिन डी पाइन्छ ।

– नियमित व्यायाम गर्ने

व्यस्त जीवनशैली, अस्वस्थकर खाना र व्यायाम नहुँदा दैनिक अनेकन रोगका विरामीको संख्या बढ्दो छ । नियमित व्यायाम तालिका अनुसरण गरेर सक्रिय रहनुपर्छ । जसले गर्दा तनाव कम हुन्छ र हाम्रो प्रतिरक्षा क्षमता बढाई चिसोबाट बच्न मदतगर्छ ।

– पर्याप्त सुत्ने

हामीले प्रतिदिन सातदेखि आठ घण्टासम्म सत्नुपर्छ । शरीरलाई पर्याप्त निद्रा पुगेन भने शरीर कमजोर हुने, रोग लाग्ने जोखिम बढ्छ भने अल्छि हुँदा पनि रोग लाग्ने जोखिम बढ्छ । त्यस्तै धुम्रपान तथा मद्यपान गर्ने बानी हटाउनु पर्छ । किनभने धुम्रपान मद्यपान सेवनले पनि निद्रामा असर पुर्याइरहेको हुन्छ ।
यसका साथै कसैलाई दिर्घ रोग जस्तै खोकी, दम, सुगर, प्रेसर छ भने चिसो मौसममा फ्लुको खोप लगाउनुपर्छ । साथै, सरसफाईमा विशेष ध्यान दिनुपर्छ । यस्तै, पटक–पटक साबुन पानीले हात धुने अथवा सेनिटाइजरको प्रयोग गर्ने, सुरक्षित गरिएको पानी प्रयाप्त मात्रामा पिउने गर्नुपर्छ ।

प्रस्तुतिः चन्द्रा कँडेल


क्याटेगोरी : कर्णाली प्रदेश, जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ