२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यअसुरक्षित गर्भपतनका जटिलताहरू

असुरक्षित गर्भपतनका जटिलताहरू


गर्भपतन आजको समयमा महत्वपूर्ण विषय हो । तर, अझै पनि धेरैमा यसबारे जानकारी छैन । सामान्यतयाः गर्भ रहेको केही समयपश्चात महिलाले आफ्नो स्वेच्छामा गर्भमा रहेको शिशु फाल्नुलाई गर्भपतन भनिन्छ ।

नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । हाडनाता करणी, बच्चा र आमाको ज्यान जान सक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ हप्तासम्मको गर्भपतन पनि गर्न सकिने व्यवस्था छ ।

औषधीको सेवन र औजारको प्रयोगबाट गर्भपतन गराइन्छ । तर, अनुभवी चिकित्सकबाट गर्भपतन नगराउँदा महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गर्छ । स्वास्थ्य संस्थामा गएर अनुभवी चिकित्सकद्वारा गर्भपतन गराएमा खासै असर पर्दैन । तर, समाजमा बेइज्जत हुने डर, अनिच्छित गर्भधारण आदि विभिन्न कारणले गर्दा धेरैले असुरक्षित गर्भपतन गराउँछन् । खासगरी, अनिच्छित गर्भपतन गराउने अविवाहित महिलाको संख्या धेरै पाइन्छ ।

जटिलता धेरै

औषधी प्रयोग गरेर गर्भपतन गराउँदा गर्भ रहेको समय कति पुगेको छ त्यो हेर्नु आवश्यक हुन्छ । गर्भपतन गराउँदा आमाको स्वास्थ्य अवस्था कस्तो छ, पहिले कति बच्चा जन्माएको छ । शल्यक्रिया गरेको हो कि होइन, पाठेघरको अवस्था के छ भनेर हेर्नुपर्दछ । जथाभावी औषधीको प्रयोगले असरहरु केही पनि थाहा हुँदैन् । सेवा प्रदायक कहाँ गयो भने सबै कुरा सम्झाएर पठाउने गर्दछ ।

औषधीको प्रयोगले सामान्य असरदेखि जटिल असर समेत हुने गर्दछ । कसैलाई रक्तस्राव धेरै हुने समस्या देखा पर्दछ । औषधीको सेवनपछि बान्ता आउने झाडापखाला हुने, टाउको दुख्ने, रिंगटा लाग्ने हुन्छ ।

गर्भपतन पूर्ण रूपमा नहुनु

औषधी पसलबाट किनेका विभिन्न औषधीको आफूखुसी प्रयोग र अनुभव नभएका व्यक्तिबाट गर्भपतन गराउँदा गर्भ पूर्ण रूपमा नजान सक्छ । पूर्ण रुपमा गर्भपतन नभएर केही अंश पाठेघरमै रहने र पाठेघरमा संक्रमण हुने सम्भावना हुन्छ ।

पाठेघरको संक्रमण पाठेघरमा मात्र सिमित नभई रगतमा पनि फैलिन सक्छ । त्यसले गर्दा शरीरका महत्वपूर्ण अंग जस्तैः मिर्गौला समेत असर गर्ने हुन्छ ।

अत्याधिक रक्तस्राव

कतिपयले मेडिकलबाट औषधी किनेर सिधै प्रयोगमा ल्याउने गर्छन् । यस्तो अवस्थामा स्वास्थ्य अवस्थाबारे कुनै जानकारी नहुने हुँदा स्वास्थ्यमा विभिन्न असर पर्छन । अत्याधिक रक्तस्रावले ज्वरो आउने, बेहोस हुने, शरीरमा रगतको कमी हुने र रगतमा हेमोग्लोबीन र आइरनको कमी हुने गर्छ ।

पाठेघरको संक्रमण

खासगरी औजारको प्रयोगबाट गरिएको गर्भपतनमा पाठेघरमा चोट लाग्ने, घाउ हुने वा पाठेघर फुट्न सक्ने जोखिम रहन्छ । यसले विभिन्न संक्रमण हुन सक्छ । जसकारण सेतो पानी बग्ने समस्या समेत हुन्छ । कतिपय अवस्थामा पछि गएर बाँझोपनको समस्या पनि हुने गर्छ । सुरक्षित तरिकाले गर्भपतन नगराउँदा ज्यान पनि जान सक्छ । तसर्थ, गर्भपतन गराउँदा सरकारद्वारा मान्यताप्राप्त स्वास्थ्य संस्था र अनुभवी चिकित्सकको पूर्ण निगरानीमा मात्र गराउनुपर्छ ।

(सेती प्रादेशिक अस्पतालमा कार्यरत स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. निर्मला शर्मासँग गरिएको कुराकानीमा आधारित ।)


क्याटेगोरी : जनस्वास्थ्य, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ