२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकिन हुन्छ घाँटीमा खसखस ?

किन हुन्छ घाँटीमा खसखस ?


घाँटीमा खसखस हुने समस्या विभिन्न कारणले हुन सक्छ । कहिलेकाहीँ एलर्जीको कारणले घाँटी खसखस हुने गर्छ । घाँटीमा खसखस वायु प्रदुषणका कारण पनि हुने गर्छ । यसले छालामा मात्रै होइन्, हाम्रो शरीरको जुनसुकै भागमा पनि असर गर्न सक्छ । जाडरक्सी खाँदा, चुरोट खाँदा, चिल्लो पिरो खाँदा पनि घाँटीमा खसखस हुनसक्छ ।

फ्यारिङ्गस भनेको किलकिलेको पछाडीको भाग हो । घाँटीको किलकिलेको पछाडिको भागमा सुन्निने कारण र त्यसको वरिपरी टन्सिलाइटिस हुँदा पनि खसखस हुन्छ । क्रोनिक साइनोसाइटिस जसमा नाकमा पिनास हुने व्यक्तिहरुमा नाकबाट तरल पदार्थ बग्दै घाँटीतर्फ आउने हुँदा पनि त्यसले घाँटीमा खसखस हुने समस्या सिर्जना गर्न सक्छ । संक्षिप्तमा भन्दा क्रोनिक साइनोसाइटिस लामो समयसम्म हुने साइनस इफेक्सन हो ।

पेटको खराबी पनि यसको कारण हुनसक्छ । मुखमा अमिलो पानी आइरहने बिरामी, ग्यास्ट्रिकका समस्या हुनेलाई पनि घाँटी खसखस हुन्छ । कहिलेकाही कुनै शारिरीक समस्या नभएका मानसिक रोगका बिरामीलाई पनि यो समस्या देखा पर्न सक्छ । मानसिक तनाव हुँदा पनि यस्तो समस्या हुन्छ । खाना निल्न गाह्रो नहुने, दुख्दा पनि नदुख्ने तर घाँटीमा केही अड्किएकोजस्तो लाग्छ । यस्तो हुँदा मनोपरामर्शको आवश्यकता पर्छ ।

नाक, कान र घाँटीको समस्याले पनि घाँटीमा खसखस हुन्छ । सामान्यजस्तो लागे पनि घाँटीमा खसखस हुनु गम्भीर रोगको लक्षण पनि हुन सक्छ । एरो ग्यास्ट्रिक ट्रयाकको क्यान्सरको कारण पनि यो समस्या देखिएको हुन सक्छ । जस्तैः माथिको खाने पाइपको नलीमा क्यान्सर छ भने पनि घाँटी खसखस हुनसक्छ ।

उपचार पद्धति

घाँटीमा खसखस हुने समस्या समान्य एलर्जीदेखि गम्भीर रोगका लक्षण समेत हुने भएकाले यसको निदानका लागि सर्वप्रथम कारण थाहा पाउनु जरुरी हुन्छ । त्यसका लागि अस्पताल वा स्वास्थ्य संस्थामा गएर चिकित्सकको परामर्श लिनुका साथै स्वास्थ्य परीक्षण गराउनुपर्छ ।

परीक्षणका क्रममा कुन कारणले खसखस भएको छ भन्ने थाहा हुन्छ । यसमा लक्षणसहित परीक्षण गरेर हेर्नुपर्ने हुन्छ । किन र के कारणले खसखस भएको हो इन्डोस्कोपी गरेर हेर्छौ । यदि आवश्यक परेको खण्डमा अरु प्रविधिद्वारा थप जाँच गरिन्छ ।

खाना खाने नली र स्वर आउने ठाउँ सँगसँगै हुन्छ । त्यहाँ संक्रमण हुँदा र मासु पलाएको छ कि भन्ने कुरा जाँच गर्नुपर्ने हुन्छ । खाना नलीको आन्द्रामा अल्सर हुँदा पनि यो समस्या हुने हुँदा यसका लागि इन्डोस्कोपी गरेर हेर्न सकिन्छ ।

हामीले खाने पाइपको नलीमा भएको क्यान्सर हुँदा पनि खसखस हुनसक्छ । एलर्जी भइराख्ने बिरामी र अमिलो पानी एसिडहरु रिफ्ल्क्स भएर घाँटीमा पुग्दा अमिलो डकार आउनेजस्ता कारणले पनि हुन सक्छ । यसको लागि ग्यास्ट्रिक सम्बन्धि विशेषज्ञ कहाँ पठाउँछौं ।

घाँटीमा खसखस हुने समस्या सामान्य लागे पनि यो गम्भीर रोगको लक्षण पनि हुनसक्छ । त्यसकारण हामीले घाँटीमा खसखस हुँदा सावधानी अपनाउनुपर्ने हुन्छ । खासगरी घाँटीको खसखसको समस्याबाट बच्नका लागि वातावरण र खानेकुरामा विशेष ख्याल राख्नुपर्छ । हामीले यो समस्याबाट बच्न प्रदूषित ठाउँमा धेरै नबस्ने, मद्यपान, धुम्रपानमा नियन्त्रण गर्ने, चिल्लो, पिरो धेरै नखाने गर्दा पनि केहि हदसम्म कम हुन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ