२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमधुमेह र कोभिड-१९: मधुमेह भएका मानिसहरुलाई कति खतरा हुन्छ, कसरी बच्न सकिन्छ ?

मधुमेह र कोभिड-१९: मधुमेह भएका मानिसहरुलाई कति खतरा हुन्छ, कसरी बच्न सकिन्छ ?


मधुमेह के हो ?

शरीरमा उर्जा उत्पादनको लागि ग्लुकोज अति आवश्यक हो । ग्लुकोज शरीरको कोष भित्र छिर्न इन्सुलीन हार्मोनले सहायता गर्दछ । जब शरीरमा इन्सुलीन हार्मोनको उत्पादन रगतमा प्रयाप्त हुँदैन वा इन्सुलीन प्रर्याप्त हुँदा पनि काम गर्न छोड्छ, जसले गर्दा शरीरमा चिनीको मात्रा अत्यधिक बढेर जान्छ । त्यसलाई नै मधुमेह भनिन्छ ।

नेपालमा मधुमेह रोगीहरु धेरै छन् । जसमध्ये धेरै जनामा सुगरको मात्रा लक्ष्य भन्दा धेरै बढी छन् ।

कोभिड-१९ को जोखिममा रहेको जनसंख्याहरु कुन हो ?

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को भनाइअनुसार
• मधुमेह
• उच्च रक्तचाप
• हृदय रोग
• क्यान्सर
• वृद्ध व्यक्ति
इटाली र चीनमा गरिएको अध्ययन (University of Birmingham, Edgbaston, UK, BMJ; 2020) अनुसार धुम्रपान सेवन गर्ने व्यक्ति, उचाइ अनुसार तौल बढी (BMI>40 kg/m2) भएको व्यक्ति, पुरुषहरु कोभिड-१९ को उच्च जोखिममा रहेको देखिन्छ ।

मधुमेह रोगीहरु कोभिड-१९ को जोखिममा किन छन् ?

मुटुरोग र मधुमेह लागेका कोभिड-१९ संक्रमितहरुमा अस्पताल भर्ना हुने सम्भावना ६ गुणा र मृत्यु हुने सम्भावना १२ गुणा बढी हुन्छ । (Erin K. Stokes, MPH, and associates of the Centers for Disease Control and Prevention-CDC COVID-19 Emergency Response team) । नेपालमा पनि कोभिड-१९ संक्रमितहरुको संख्या सँगसँगै मृत्यु हुने संख्या  बढ्दै गइरहेको छ । उपलब्ध तथ्याङ्कअनुसार नेपालमा पनि मुटुरोग र मधुमेह लागेका कोभिड-१९ संक्रमितहरुमा मृत्यु दर बढी रहेको छ।

मधुमेह विरामीहरुमा प्रतिरोधात्मक क्षमता कम हुन्छ, जसले उनीहरुलाई संक्रमणको लागि अत्याधिक संवेदनशील बनाउँदछ । त्यसैले कुनै जिवाणुसँग लडने क्षमता कम हुन्छ । साथै, मधुमेह विरामीहरुमा मृगौलाको जटिलता, हृदयरोग र अन्य रोगहरु पनि हुन्छ ।

त्यसैले मधुमेह विरामीहरु कोरोना भाइरसबाट संक्रमित हुने सम्भावना उच्च हुन्छ । नेपालको अधिकांश जनसंख्या मधुमेहको स्वयं व्यवस्थापन शिक्षा (Diabetes Self Management Education) बाट बन्चित छ । त्यसैले वर्तमान अवस्थामा मधुमेहका बिरामीहरु बढी सचेत हुनु पर्दछ ।

के मधुमेह रोगीहरुमा कोभिड-१९ का जटिलताहरु बढी हुन्छ ?

मधुमेह रोगीहरुमा कोभिड-१९ का जटिलताहरु बढी हुन्छन् । उनीहरुमा जिवाणुसँग लडने क्षमता कम हुन्छ । यदि शरीरमा चिनीको मात्रा नियन्त्रण गरिएन भने मधुमेह सम्बन्धि जटिलता हुन सक्छ । मधुमेहका साथै हृदय रोग र अन्य जटिलता भएमा मधुमेह रोगीहरुमा कोभिड-१९ का गम्भीर अवस्था देखिन सक्छ ।

कोभिड-१९ बाट बच्ने उपायहरु के हो ?

• हातलाई पटक-पटक साबुन पानी वा स्यानिटाइजरले कम्तीमा २० सेकेन्डसम्म धुने गर्नुहोस् ।
• हात नधोइकन आँखा , नाक र मुखलाई छुने नगर्नुहोस् ।
• घरको सतह तथा अन्य बारम्बार छुने सामानहरु किटनाशक (Disinfectant) प्रयोग गरी नियमित सफा गर्नुहोस् ।
• खोक्दा वा हाँच्छ्यु गर्दा डिस्पोजेबल टिस्यु प्रयोग गर्नुहोस् वा पाखुराले छेक्नुहोस् ।
• डिस्पोजेबल टिस्यु प्रयोग गरेपछि ढकनसहितको डस्टबिनमा फाल्नुहोस् र हात धनुहोस् ।
• हात नमिलाउनुहोस्, नमस्कार गर्नुहोस् ।
• घरमा बस्नुहोस्, समाजिक दुरी (कम्तीमा ३ फिट) कायम गर्नुहोस् ।
• सरकारद्वारा जारी निर्देशनहरुको पालन गर्नुहोस् ।
• सहि सुचना दिने माध्यमबाट सुचना लिनुहोस् र गलत सुचनाबाट बच्नुहोस् ।

कोभिड-१९ बाट बच्न मधुमेह रोगीहरुले विशेष के कुरामा ध्यान दिनु पर्छ ?

• आवश्यक परेमा सम्पर्क गर्नुपर्ने नजिकको चिकित्सक, एम्बुलेन्स र आफन्तको सम्पर्क विवरण अध्यावधिक गरेर राख्नुहोस् ।
• मधुमेह नियन्त्रणको लागि खाइरहेको ‍औषधी नछुटाइकन नियमित सेवन गर्नुहोस् ।
• रगतमा चिनीको मात्रा कम वा बढी भएर हुने जटिलताबाट बच्न नियमित रुपमा चिनीको जाँच गराउनुहोस् ।
• होम क्वारेन्टाइनमा बस्न आवश्यक पर्ने मधुमेह नियन्त्रणको लागि खाइरहेको ‍औषधि पर्याप्त मात्रामा आफूसँग राख्नुहोस् ।
• आवश्यक खानेकुराको आपूर्तिको सुनिश्चत्ता गर्नुहोस् ।
• रगतमा चिनीको मात्रा कम भएमा त्यसको व्यवस्थापन गर्ने सक्ने गरी तयारी गर्नुहोस् ।
• यदि तपाईं एक्लै बस्नुहुन्छ भने तपाईंलाई विरामी परेको बेला सहयोग गर्न सक्ने विश्वासिलो व्यक्तिलाई तपाईं लाई मधुमेह छ भनी जानकारी गराइराख्नुहोस् ।
• तालिका बनाइ सोहि अनुसार नियमित रुपमा खानपिन तथा अराम गर्नहोस् ।
• अत्याधिक कडा काम नगर्नुहोस् र कम्तीमा राती ८ घण्टा सुत्नुहोस् ।
• यदि तपाईंलाई फ्लुजस्तो लक्षण (ज्वरो, खोकी, सास फेर्न गाह्रो) देखिएमा चिकित्सकसँग परामर्श लिनुहोस् ।
• चिनीरहित पानी (Sugar Free Water) प्रशस्त सेवन गर्नुहोस् (प्रति घण्टा १०० मि. लि. पानी र प्रति दिन कम्तीमा २.५ लि. पानी )

स्वास्थ्य पोषण

• चिनी कम हुने खाना (तरकारी, फलफूल, गहुँ/पास्ता/नुडल्स) बढी प्राथमिकता दिनुहोस् ।
• दिनमा कम्तीमा २.५ लि. पानी पिउनुहोस् ।
• तारेको/भुटेको खानेकुरा अत्यधिक सेवन नगर्नुहोस् ।
• चिनी, कार्बोहाइड्रेड र बोसो बढी पाइने खाध्यपदार्थको सेवन सिमित मात्रामा मात्र गर्नुहोस् ।
• प्रोटिन पाइने खानेकुरा (राम्ररी पकमएको माछा, मासु, अण्डा, दुध, गेडागुडी अत्यधिक सेवन गर्नुहोस्।
• हरियो सागपात प्रशस्त खाने गर्नुहोस् ।
• फलफूल दैनिक खाने गर्नुहोस् ।
• धुम्रपान तथा मद्यपानको सेवन नगर्नुहोस् ।

व्यायाम

कोभिड-१९ महामारीका कारण सवै जना होम क्वारेन्टनइनमा रहेको अवस्थामा समान्य व्यक्ति तथा मधुमेह रोगी ले नियमित शारीरिक व्ययाम गर्नु लाभदायक हुन्छ ।

होम क्वारेन्टनइनमा हुँदा गर्नुपर्ने व्यायाम
• कम्तिमा ६ तल्ला बराबरको सिढीमा ८ चोटी तल माथि हिड्नुहोस् ।
• स्किपिङ्ग, पुसअप, Flank गर्नुहोस् ।
• कम तौल भएका घरेलु समानहरु जस्तो पानी भरिएको बाल्टिन तथा बोतल आदि प्रयोग गर्नुहोस् ।

मधुमेहका विरामीमा कोभिड-१९ का शंकास्पद लक्षण देखिएमा चिकित्सकलाई जानकारी गराउनु पर्नेकुरा
• कोभिड-१९ का शंकास्पद लक्षण (ज्वरो १००.४०F आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने)
• तपाईंको सुगरको मात्रा
• तपाईंको Ketone Body (सम्भव भएमा)
• दैनिक पिउने पानीको मात्रा
• अहिले खाइरहेको औषधिको नाम र मात्रा


क्याटेगोरी : जनस्वास्थ्य
ट्याग : #कोभिड-१९, #डा. अनिल यादव, #बच्ने उपाय, #मधुमेह


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ