२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकिन हुन्छ हड्डीमा संक्रमण ? कसरी बच्न सकिन्छ ?

किन हुन्छ हड्डीमा संक्रमण ? कसरी बच्न सकिन्छ ?


हड्डीमा आफैं संक्रमण हुँदैन् । यो विभिन्न कारणले गर्दा हुन्छ । शरीरमा कुनै इन्फेक्सन भएको छ । छालामा पिलो आएको छ वा शरीरमा घाउ चोटपटक लागेको छ भने त्यो ठाउँको हड्डीमा किटाणु गएर बस्छ ।

र, त्यही किटाणुले हड्डीको संक्रमण गर्छ । कहिलेकाही डाइरेक्ट पनि हुन सक्छ । कुनै बिरामीको लडेर हात भाँचियो अथवा खुट्टा भाँचियो भने शल्यक्रिया गरिन्छ । शल्यक्रिया गर्दा चोट लागेर वा सिधैं किटाणु हड्डीमा गएर पनि हड्डीको संक्रमण हुन्छ । लड्दा चोटपटक लागेर पनि संक्रमण हुन्छ ।

हड्डी संक्रमणका लक्षणहरु

  • हड्डीमा दुखाइ हुन्छ ।
  • जोर्नीको वरिपरी सुनिन्छ ।
  • बिरामीलाई ज्वरो आउँछ ।
  • खुट्टाहरु चलाउन, टेक्न सकिदैंन् ।
  • छुँदा दुख्छ ।
  • संक्रमण भएको छेउमा दुख्छ ।
  • घाउमा पीप देखिन सक्छ ।

हड्डी संक्रमणको कारण

-हड्डीमा चोट लाग्नु
-छालामा घाउ खटिरा आउनु
-हड्डीको अपरेशन गर्दा ।

हड्डी संक्रमणको उपचार

हड्डी संक्रमणको उपचार भनेको यदि बिरामी २४ देखि ४८ घण्टाभित्र संक्रमण भएर पीप पर्नु भन्दा अगाडि आएमा हामीले भर्ना गरेर सबै जाँच गर्छौ । जाँचको रिपोर्ट हेरेर नसाबाट एन्टीबायोटिक दिन्छौं ।

औषधीले बिरामीको लक्षणहरुमा सुधार आएन भने शल्यक्रिया गरेर जहाँ इन्फेक्सन भएको छm त्यहाँको इन्फेक्सन हटाइदिन्छौं ।

बिरामी ४८ घण्टापछि आएमा त्यो समयमा संक्रमण भएर पिप परिसकेको हुन्छ, त्यसलाई सर्जरी गरेर निकाल्नुपर्ने हुन्छ ।

प्रायः आफै हुने हड्डीको संक्रमण युवाभन्दा पनि साना बालबालिकामा धेरै देखिन्छ । रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता कम भएका वृद्धवृद्धामा कम मात्रामा यो रोग देखिन्छ । बच्चाहरुमा यो धेरै देखिनुको कारण उनीहरुमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुनु हो ।

शरीरको कुन भागको हड्डीमा धेरै संक्रमण हुने सम्भावना हुन्छ ?

हड्डीको संक्रमण प्रायः सानो—सानो हड्डीमा भन्दा पनि ठूला—ठूला हड्डीमा हुन्छ । जस्तैः तिघ्राको हड्डी, खुट्टाको हड्डी र पाखुराको हड्डीहरुमा धेरै संक्रमण हुने हुन्छ । धेरैजसो घुँडाको वरिपरी नै हुन्छ । यो प्रायः बच्चाहरुमा धेरै हुन्छ । युवायुवती वयस्कहरुमा कम हुन्छ ।

हड्डीको संक्रमण हुँदा ध्यान दिनुपर्ने कुरा

धेरै संक्रमण रगतबाट हड्डीमा गएर सर्ने भएकोले चाँडोभन्दा चाँडो उपचार गर्नुपर्छ । शरीरमा इम्युनिटी पावर धेरै हुनपर्छ । इम्युनिटी पावर बढाउने खालको फलफूल, सागसब्जी खानुपर्छ ।

एचआईभी एड्स, क्यान्सर र एनिमियाजस्ता रोगहरुबाट बच्नुपर्छ । यी रोगहरुले शरीरमा प्रतिरोधात्मक क्षमता कम गर्छन् । जसले सजिलै शरीरको हड्डीहरुमा संक्रमण हुन सक्छ ।

हड्डी संक्रमणबाट कसरी बच्न सकिन्छ ?

हड्डी संक्रमणबाट बच्न हात, खुट्टामा चोट लाग्न दिनु हुँदैन् । धेरैजसो संक्रमण हुने घुडामा हो, त्यसकारण घुडालाई चोटबाट बचाउनुपर्छ । हाम्रो शरीरमा इम्युनिटी कम हुने रोगहरु जस्तैः एचआईभी एड्स, एनिमिया, क्यान्सर र लामो समयसम्म औषधिहरु खाइरहेको अथवा कडा खालको औषधी खाएको छ भने पनि उनीहरुसँग रोगसँग लड्ने क्षमता कम हुन्छ । यस्ता रोगहरुबाट बच्न सक्यो भने हड्डीको संक्रमणबाट पनि बच्न सकिन्छ ।

प्रस्तुतिः श्रृजना खड्का


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ