२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. भक्तबहादुर सिंहको सल्लाह : यसरी बच्न सकिन्छ पिनासबाट

डा. भक्तबहादुर सिंहको सल्लाह : यसरी बच्न सकिन्छ पिनासबाट


नाक शरीरका विभिन्न अंगहरुमध्ये एक महत्वपूर्ण अंग हो । नाकले यसमा भएको स–साना रौंहरुको सहायताले बाहिरी वातावरणमा भएको हावाहरु फिल्टर गरेर शरीरभित्र तान्ने र फाल्ने काम गर्दछ । बाहिरी हावा वा श्वास तान्ने र फाल्ने क्रममा विभिन्न कारणवश नाकको भित्री स्नायुमा क्षति वा हानी भएको खण्डमा व्यक्तिमा रुघाको समस्या देखा पर्दछ ।

लामो समयसम्म रुघा लागिरहेको खण्डमा, रुघा बिग्रिएमा र व्यक्तिको नाकको भित्री भागमा पुग्न गएको क्षतिको कारण व्यक्तिमा स्वतः रुपमा पिनासको समस्या देखा पर्दछ ।

यस अर्थमा भन्नुपर्दा पिनास नाकसँग सम्बन्धित विभिन्न समस्याहरुमध्ये एक हो । पिनासका कारण व्यक्तिमा टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने, शरीर कमजोर हुने तथा नाकबाट रगत मिश्रित पहेंलो वा हरियो बाक्लो सिंगान बग्नेजस्ता विभिन्न समस्याहरु देखा पर्दछ ।

यसले व्यक्तिको सुघ्न सक्ने क्षमतामा ह्रास ल्याउँछ, नै यसबाहेक पनि यसले कालान्तरमा गएर नाकको क्यान्सर समेत गराउने सम्भावना रहन्छ । तसर्थ यस्ता समस्या देखा नपरोस् भन्नका निमित्त हामीले बेलैमा सर्तकता अपनाउनुपर्ने हुन्छ । यसका निमित्त प्रत्येक व्यक्तिले सर्वप्रथम पिनास के कारणले हुन्छ भन्ने विषयमा बुझ्न आवश्यक रहेको देखिन्छ ।

पिनासका कारणहरु

  • लामो समयसम्मको रुघा
  • नाक भित्रको हड्डी बांगिएमा
  • नाकको एलर्जी
  • इम्युनिटी पावर कम भएमा
  • दुषित वातावरण ।

रोकथाम तथा बच्ने उपायहरु

  •  सर्वप्रथम हामी सकेसम्म चिसोबाट जोगिनु पर्छ । चिसोमा अधिकांश व्यक्तिलाई रुघा लाग्ने र हत्तपत्त निको नहुने भएकोले लामो समयसम्म रुघाको भाइरसहरुबाट संक्रमण भइरहेको अवस्थामा पिनासको समस्या देखा पर्न सक्छ । तसर्थ चिसोबाट जोगिनु नै पिनास हुनबाट बचाउने उत्तम उपाय हो । यसका निमित्त हामीले चिसो फलफूल तथा खानाहरुबाट समेत टाढा रहनु पर्छ ।
  • कतिपय व्यक्तिहरुमा नाकलाई एलर्जी हुने खानाहरु (आलु, रोटी तथा बदामजस्ता आदि) को कारण पनि पिनास हुने गरेको पाइन्छ । यो व्यक्तिपिच्छे फक–फरक पनि रहन्छ । तसर्थ कुन खानाको कारण नाकलाई एलर्जी हुन्छ, त्यो पत्ता लगाएर त्यस्ता खानाहरु सकभर प्रयोग नगर्नु पनि स्वास्थ्यको निम्ति उचित रहन्छ ।
  •  चिसो तथा डेरीद्वारा उत्पादित खानाहरुबाट टाढै रहने ।
  •  यसका साथै प्रदूषित धुलो धुवाँका कारण पनि पिनासको समस्या देखा पर्ने भएकोले त्यसता प्रदूषित हावा वहने ठाउँहरु बाट टाढै रहनु पर्दछ । त्यस्ता वातावरणमा रहनुपर्ने बाध्यात्मक अवस्थामा भने ‘टेन नाइन्टी वान’ मास्कको उचित प्रयोग गर्न सकिन्छ ।
  • नाकको हड्डी बाङ्गो भएमा पनि पिनास लाग्ने भएकोले नाकको हड्डी बाङ्गो हुने व्यक्तिहरुले आवश्यक उपचारको प्रक्रियाबाट हड्डीलाई सिधा बनाउनुपर्छ ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ