२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलबिडिएस र बिएमएसका इन्ट्रान्स टपर अनुपम, जसले रोजे एमबिबिएस

बिडिएस र बिएमएसका इन्ट्रान्स टपर अनुपम, जसले रोजे एमबिबिएस


काठमाडौं—चिकित्सा शिक्षा आयोगले पहिलोपल्ट लिएको एकीकृत प्रवेश परीक्षामा बिडिएसतर्फ १७ सय ९४ जनाले नाम निकाले । जसमा पहिलो नम्बरमा थिए—अनुपम ढकाल । बिडिएसमात्रै होइन्, १ सय २३ जनाले नाम निकालेको बिएमएसमा पनि उनको नाम पहिलो नम्बरमै थियो । ४ हजार ३ सय ९१ जनाले नाम निकालेको एमबीबीएसमा पनि टप ३० भित्र उनी छन् । एमबीबीएसको २६ औं नम्बरमा छन्, अनुपम ।

बिडिएस र बिएमएस टपर उनको रोजाइमा भने एमबीबीएस परेको छ । दोस्रो प्रयासमा एमबीबीएसतर्फ २६ औं नम्बरमा, बिडिएस र बिएमएस टप गरेका २० वर्षीय अनुपमको स्थायी ठेगाना गुल्मी हो । तर, सरकारी जागिर सिलसिलामा उनका बुवा धरानमा रहेका बेला उनको जन्म पनि त्यही भएको हो । उनका बुवा प्रा.डा. दुवीनन्द ढकाल त्रिभुवन विश्वविद्यालय मानविकी संकायका सहायक डिन हुन् । आमा सीतादेवी ग्लोबल आईएमई बैकमा कार्यरत छन् । शैक्षिक वातावरण रहेको परिवारमा हुर्किएका अनुपममा सानैदेखि पढ्नुपर्छ भन्ने भावनाको जागृत भयो ।

कीर्तिपुरको पुष्प सदन बोर्डिङ हाइस्कुलमा पढेका हुन्, उनी । त्यहीबाट सन् २०१७ सालमा उनले एसएलसी ए प्लस ल्याएर उत्तीर्ण गरेका हुन् । त्यसपछि माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा उनी प्लस टु पढ्न थाले । कक्षा ११ मा पढ्दै गर्दा कलेजका सरहरु र माथिल्लो तहका अग्रजहरुबाट एमबीबीएसमा नाम निकालेपछिका चर्चा उनको कानसम्म पुग्थे । कक्षा ११ को अन्तिमतिर उनका साथीहरुले प्री—मेडिकल ज्वाइन गर्ने तयारी गरेपछि अनुपम पनि साथीहरुसँगै प्री—मेडिकल पढ्न थाले । फिजिक्स उनलाई मनपर्ने विषय हो ।

सन् २०१९ मा उनले ए प्लस ल्याएर प्लस टु उत्तीर्ण गरे । त्यसपछि एमबीबीएसको तयारीमा झन सक्रिय भएर लागे । तर, पहिलो प्रयासमा उनको एमबीबीएसमा नाम निस्किएन् । भनिन्छ, निरन्तर प्रयास गर्नेहरु अवश्य सफल हुन्छन् । अनुपमले पनि यसलाई आफ्नो मन्त्र बनाएर झन बढी मेहनत गर्न थाले । परिणाम नै मान्नुपर्छ, पहिलो प्रयासमा असफल भएपनि उनले दोस्रो प्रयासमा फरक रेकर्ड बने ।

अनुपमले बिडिएस र बिएमएस टप गरे भने एमबीबीएसमा पनि २६ औं नम्बरमा नाम निकाले । ‘मेरो मुख्य प्राथमिकतामा त एमबीबीएस नै थियो,’ हालैको एक साँझ हेल्थआवाजसँगको कुराकानीमा उनले भने, ‘अरु विकल्प नभएपछि बिडिएस र बिएमएस पनि दिइराखौं भन्ने भयो । एक वर्ष लस भइसकेको थियो अर्को वर्ष पनि त्यही गर्ने सोच थिएन ।’ एमबीबीएसमै नाम निकाल्ने योजनाका साथ तयारी गरेका उनले बिडिएस र बिएमएस लाई पनि वैकल्पिक छनोट बनाएका थिए ।

२६ औं नम्बरमा नाम निस्किएपछि उनले एमबीबीएस नै रोजे । सबै प्रक्रियाहरु पूरा गरेर अहिले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा एमबीबीएस क्लासहरु सुरु भइसकेका छन् । भविष्यमा उनको के बन्ने सपना छ ? भन्छन्, ‘अहिले नै प्रेसर हुन्छ भनेर यही बन्छु भन्ने निश्चित गरेको छैन । हेर्दै जाउ जुन विषयले मन छुन्छ, त्यहीतिर जानुपर्ला ।’ उनी अहिले एमबीबीएसमै बढी मेहनत गर्ने योजनामा छन् ।

उत्कृष्ट नतिजाका लागि कस्तो तयारी आवश्यक पर्दोरहेछ ? ‘कक्षा ११ र १२ मै राम्रो बेस बनाउनुपर्छ । अन्य कोर्सहरु पनि अलि डेप्थमा हेरेर जानुपर्छ,’ उनी भन्छन्, ‘मोडल टेष्टहरु दिने, के विग्रन्छ त्यसलाई सुधार गर्ने गर्नुपर्छ ।’ उनकाअनुसार बिग्रेको कुरालाई सुधार्दै जाने बानीले राम्रो गर्न सहयोग मिल्छ । एमबीबीएस तयारी गरिरहेका र डाक्टर बन्ने सपना देखेका धेरै विद्यार्थीलाई उनी जर्नी लामो भएकाले सुरु गरेर बीचमै नछाड्न सुझाव दिन्छन् । ‘जर्नी धेरै लामो छ, सुरु गरेपछि बीचैमा छाड्नु हुँदैन्,’ उनको सुझाव छ, ‘घरपरिवार र समाजबाट धेरै प्रेसर दिइएको हुन्छ तर आफ्नो रुचि लागेको विषय पढ्नुपर्छ ।’

सुरु गरेपछि बीचैमा छाड्दा त्यसले रिग्रेट अनुभव गराउने बताउँदैं उनी निरन्तर प्रयास जारी राख्न आग्रह गर्छन् । ‘गाह्रो भएपछि निरन्तर प्रयास र मेहनत गर्नुपर्छ,’ उनी भन्छन्, ‘बीचमै छोड्नु हुँदैन् । धैर्य गर्नुपर्छ, टेष्टहरु दिइरहनुपर्छ । प्रत्येक शनिबारलाई फाइनल परीक्षाकै रुपमा लिएर टेष्टहरु दिइरहनुपर्छ ।’ एकपटक एमबीबीएसमा नाम ननिस्कदैंमा हतास नहुन र धैर्य रहनुपर्ने उनी बताउँछन् । ‘मेरा धेरै साथीहरु पनि दुई तीन वर्ष ट्राई गरेपछि सफल भएका हुन्,’ उनी भन्छन्, ‘त्यसैले एक पटक असफल हुँदैमा निराश हुनु हुँदैन् । यो जर्नीले प्यासन पनि सिकाउँछ ।’


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ