२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलएमएनकी इन्ट्रान्स टपर मन्जु, जसले २० वर्षमै लोकसेवा पास गरेकी थिइन्

एमएनकी इन्ट्रान्स टपर मन्जु, जसले २० वर्षमै लोकसेवा पास गरेकी थिइन्


काठमाडौं—न कुनै विशेष तयारी कक्षा, न त ट्युसन नै । बलियो शैक्षिक ब्याकग्राण्ड र निरन्तर पढिरहने बानीकै कारण मन्जु ऐर एमएनको इन्ट्रान्स टप गर्न सफल भइन् । चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा एमएन/एमएस्सी नर्सिङ/मिडवाइफ्रीतर्फ सुदूरपश्चिम डडेल्धुराकी मन्जुले पहिलो नम्बरमा नाम निकालिन् ।

इन्ट्रान्सबाट नर्सिङको स्नातकोत्तरका लागि छानिएका ३५२ जनाध्ये मन्जुले २०० पूर्णांकमा सबैभन्दा बढी १३४.५ प्रतिशत अंक ल्याएकी छन् । २९ वर्षीया मन्जु पढाइमा सानैदेखि अब्बल हुन् । त्यही कारण उनले २० वर्षमै दुई पटक लोकसेवामा नाम निकालेकी थिइन् । पहिलो पटक अनमीमा र त्यसको ६ महिनामै दोस्रो पटक स्टाफ नर्समा । त्यसपछि उनले ब्याचलर इन नर्सिङ साइन्स (बीएनएस) पनि महाराजगन्ज नर्सिङ क्याम्पसमा पूर्ण छात्रवृत्तिमै नाम निकालेर पढिन् ।

‘हरेक दिन अलिअलि पढिरहने बानी छ । एकै पटक परीक्षा आयो अब पढ्नुपर्छ भन्ने बानी मेरो छैन्,’ यी टपर नर्स भन्छिन्, ‘त्योबाहक बीएनएस पढ्दा महाराजगन्जको बेस । त्यहाँको क्लासमा पढाइएका कुरा र त्यहाँका म्यामहरुले हालिदिनुभएको बलियो जगले मलाई यो इन्ट्रान्स टप गर्न एकदमै सहयोग ग¥यो ।’ मन्जुको सफलताको प्रमुख कारण निरन्तरता हो । ‘यो निरन्तरताले दिलाएको सफलता दिएको हो,’ उनी थप्छिन्, ‘बेस पनि एकदमै चाहिँदो रहेछ ।’

वि.सं. २०५० सालमा डडेल्धुराको अमरगढी नगरपालिका—१ मा जन्मिएकी हुन्, मन्जु । बुवा भीमबहादुर ऐर र आमा दुर्गादेवी ऐरका तीन सन्तानमध्ये उनी माइली हुन् । उनका बुवा नेपाल विधुत प्राधिकरणका सरकारी जागिरे हुन् भने आमा गृहणी । जन्मिएको डडेल्धुरामा भएपनि उनको परिवारको बसाइँ भने धनगढीमै छ । त्यहीकारण भीमबहादुर र दुर्गादेवीका तीन जना सन्तान नै धनगढीमै पढेबढेका हुन् ।

मन्जुको प्रारम्भिक शिक्षादीक्षा धनगढीमै भएको हो । उनले स्थानीय स्टेपिङ स्टोन इंग्लिस स्कुलबाट आफ्नो शिक्षादीक्षा अगाडि बढाइन् । स्कुल जीवनमा उनलाई इंग्लिस र नेपाली विषय बढी मन पर्थे । ‘मलाई सजिलो पनि लाग्ने र मन पर्ने विषयहरु यी दुई वटा नै थिए,’ ड्युटीबाट छोटो समय फुर्सद निकालेर हेल्थआवाजसँग गफिएकी उनले भनिन् । पढाइबाहेक मन्जुको नृत्यमा पनि विशेष लगाव थियो । त्यहीकारण स्कुल तथा कलेजमा हुने हरेक कार्यक्रममा नृत्यमा भाग लिएकै हुन्थिन् । संगीतकी पनि उनी उतिकै पारखी हुन् ।

वि.सं. २०६४ सालमा उनले फस्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरेकी हुन् । एसएलसीपछि उनी पिसिएल नर्सिङ पढ्नका लागि सेती—महाकाली नर्सिङ क्याम्पस महेन्द्रनगर गइन् । नर्सिङको पढाइ उनले बुवाकै इच्छामा चयन गरेकी हुन् । ‘म त्यतिबेला सानै भएकाले के पढ्ने भन्ने मेरो व्यक्तिगत रोजाइ केही थिइन्,’ उनले सुनाइन्, ‘मलाई नर्सिङ पढ्दा के हुन्छ भन्ने पनि त्यति थाहा थिएन । त्यही कारण बुवाको इच्छा र घरपरिवारकै रोजाइमा मैले नर्सिङ पढेकी हुँ ।’

वि.सं. २०६८ सालमा उनले महेन्द्रनगरबाट पिसिएल नर्सिङको अध्ययन पूरा गरिन् । त्यसपछि केही समय धनगढीका प्राइभेट अस्पतालहरुमा रहेर बिरामी सेवा गरिन् । ‘दुई वर्ष प्राइभेट हस्पिटलमा ओटी नर्सका रुपमा काम गरे,’ उनले भनिन् । त्यही बेला उनले सरकारी जागिरका लागि प्रयास गरिन् । पहिलो प्रयासमै उनी वि.सं. २०७० मा लोकसेवाबाटै सरकारी जागिरमा प्रवेश गरिन् ।

त्यसपछि उनले स्टाफ नर्स (पाँचौ तह)को लोकसेवा पास गरिन् । २० वर्षकै उमेरमा लोकसेवाबाट सरकारी सेवामा जागिर सुरु गरिन् । लोकसेवामा पहिलो प्रयासमै कसरी सफलता प्राप्त भयो ? ‘निरन्तरता नै प्रमुख कुरा रहेछ,’ उनले भनिन्, ‘निरन्तर पढ्दा त्यसले परीक्षामा रिजल्ट पनि राम्रो दिन्छ । लोकसेवाकै लागि त्यस्तो विशेष तयारी गरेकी थिइन् ।’ त्यसको दुई वर्षपछि उनले थप उच्च शिक्षाका लागि पहल थालिन् ।

पढाइमा सधैं अब्बल र निरन्तर पढिरहने बानीकै प्रतिफल मान्नुपर्छ उनले पहिलो प्रयासमै महाराजगन्ज नर्सिङ क्याम्पसमा पनि ब्याचलर इन नर्सिङ साइन्स (बीएनएस)मा पूर्ण छात्रवृत्तिमा नाम निकालिन् । वि.सं.२०७२ सालमा महाराजगन्गमा बीएनएस पढ्न थालिन् । ‘त्यतिबेला म डडेल्धुराको दुर्गम ठाउँ जोगबुढामा जागिर गर्दै एक्लै आफै तयारी गरिरहे,’ उनले भनिन्, ‘निरन्तर एक दुई घण्टा पढिरहन्थे । त्यही कारण नाम निस्कियो ।’ वि.सं. २०७५ सालमा उनले बीएनएसको अध्ययन सकिन् ।

त्यसपछि मन्जु पुनः आफ्नो सरकारी जागिरे जीवनमा फर्किइन् । नेपाल सरकारको जोगबुढा सामुदायिक अस्पतालमै गएर सेवा गर्न थालिन् । त्यहाँ पुनः ८ महिना काम गरिन् । तीन वर्ष जोगबुढामा रहेर बिरामी सेवामा तल्लीन रहिन् । त्यसपछि मन्जुको प्रदेशमा समायोजन भयो । उनको पोष्टिङ मालाखेती अस्पतालमा भयो । वि.सं. २०७६ सालबाट उनी मालाखेती अस्पतालमा स्टाफ नर्सका रुपमा कार्यरत छन् ।

मालाखेतीमै आफ्नो ड्युटी र दैदिनका कामहरु गर्दै उनले पढाइलाई निरन्तरता दिइरहिन् । त्यही निन्तरताले उनलाई देशभरकै एमएन पढ्न प्रतिस्पर्धामा रहेका नर्सहरुमा प्रथम बनायो । उनले एमएन इन्ट्रान्स टप गरिन् । यी युवा नर्सको भविष्यमा पनि बिरामी सेवामै रहने योजना छ । सरकारी जागिरका लागि माथिल्लो तहका लागि आफूले निरन्तर प्रयास जारी राख्ने हेल्थआवाजलाई सुनाइन् । ‘भविष्यमा सरकारी सेवामा अझ माथिल्लो तहमा ट्राइ गर्दै जाने योजना छ,’ कुराको बिटमार्नुपूर्व उनले भनिन् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #इन्ट्रान्स टपर, #एमएन, #एमएन/एमएस्सी नर्सिङ/मिडवाइफ्री, #चिकित्सा शिक्षा आयोग, #मन्जु ऐर


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ