२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २धनगढीमाई नगरपालिकाद्वारा विद्यालयमा सेनिटरी प्याड वितरण

धनगढीमाई नगरपालिकाद्वारा विद्यालयमा सेनिटरी प्याड वितरण


जनकपुर – महिनावारीको समयमा पनि किशोरीहरु नियमित विद्यालय आउने वातावरण बनाउने उद्देश्यले धनगढीमाई नगरपालिकाले नगरक्षेत्रभित्रका विद्यालयलाई सेनेटरी प्याड वितरण गरेको छ । ‘मर्यादित महिनावारी, हामी सवैको जिम्मेवारी’ भन्ने नारा सहित नगरक्षेत्रका १३ वटा विद्यालयलाई ११ हजार ९ सय ४ प्याकेट सेनेटरी प्याड विद्यालयलाई हस्तान्तरण  गरेका हुन् ।

महिनावारीको समयमा छात्राहरु विद्यालय नआउने, आएपनि पढाईमा कम रुचि देखाउने समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामार्फत सेनिटरी प्याड विद्यालयलाई हस्तान्तरण गरिएको नगरप्रमुख हरिनारायण चौधरीले बताए ।

हस्तान्तणको क्रममा नगरप्रमुख चौधरीले यो समाग्री प्रयोगमा अझै जटिलता रहेको बताउँदै सम्वनिधत शिक्षकले छात्राहरुसँग नजिकको सम्बन्ध  राख्नुपर्ने बताए । उनले भने, ‘महिनावारी महिलाहरुमा हुने नियमित प्रकृया हो, तर किशोरअवस्थामा यसले छात्राहरुमा एकखालको लाजमान्ने चलन अझै छ, त्यसैले यसको उचित प्रयोग र व्यवस्थापनमा फोकल शिक्षकले विशेष ध्यान दिनुपर्ने बताए ।’

कतिपय अवस्थामा शिक्षका र छात्राहरुविचतको तारतम्मे नमिल्दा दराजमै सेनेटरी प्याडमा धमिरा लागेको मैले सुनेको छु,’ चौधरीले भने, ‘हाम्रो नगरका शिक्षिका र छात्राहरुमा त्यस्तो समस्या नहोला भन्ने विश्वास मैले गरेको छु, यसको उचित प्रयोग र प्रयोग पछिको व्यवस्थापन पनि राम्रो हुने छ भन्ने आशा गरेको छु ।’

विद्यालयमा छात्राहरुको संख्याको आधारमा ७ माध्यमिक विद्यालय र ५ वटा आधारभूत विद्यालयलाई ३ कार्टुनदेखि ७ कार्टुनसम्म सो सामाग्री हस्तान्तरण गरिएको नगर शिक्षा शाखा प्रमुख बुद्धिमान दनुवारले जानाए । एक कार्टुनमा झण्डै एक हजार ६ सय थान सेनिटरी प्याड रहेको जनाइएको छ । सालाखाला ७ कक्षाबाट छात्राहरुमा महिनावारी शुरु हुने आकलनको आधारमा नगर क्षेत्रका ३३ वटा सामुदायिक विद्यालयमध्ये ८ कक्षा देखि माथि पठनपाठन हुने विद्यालयमा सेनिटरी प्याड वितरण गरिएका हुन् ।

नगरबाट हस्तान्तरित सेनिटरी प्याड वितरण प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले प्रत्येक विद्यालयमा फोकल शिक्षिका तोकिएको छ । उनले नै उमेर पुगेका छात्राहरुलाई पहिला १ प्याकेटका दरले र पछि आवश्यकता अनुसार वितरण गर्ने बताए ।

नगरमा अझै सेनिटरी प्याडहरु मौज्दात रहेकोले खपतको आधारमा माग गर्ने विद्यालयलाई जुनसुकै बेला सेनिटरी प्याड थप हस्तान्तरण गरिने नगर शिक्षा अधिकृत दनुवारले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ