२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश २ मा तीन प्रतिशत नागरिकले गराए पिसिआर परीक्षण

प्रदेश २ मा तीन प्रतिशत नागरिकले गराए पिसिआर परीक्षण


धनुषा – कोभिड-१९ महामारी फैलिएयता प्रदेश २ का करिब ३ प्रतिशत नागरिकले पिसिआर परीक्षण गराएका छन् । मुख्यमन्त्री लालबाबु राउतले बिहिबार कोभिड-१९ महामारीको पछिल्लो अवस्थाबारे जानकारी लिन बोलाएको सरोकारबलाहरुको बैठकमा प्रस्तुत गरिएको तथ्यांकमा करिब तीन प्रतिशत नागरिकले पिसिआर परीक्षण गराएको उल्लेख छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले प्रदेशमा ६० लाख जनसंख्या रहेको अनुमान गर्दै त्यसको २ दशमलव ९८ प्रतिशत अर्थात एक लाख ७८ हजार ६३१ जनाले पिसिआर परीक्षण गराएको बताए ।

उनले पिसिआर परीक्षण गराएकाहरु मध्ये १७ दशमलब ४७ प्रतिशत अर्थात ३१ हजार २२३ जना संक्रमित देखिएकोमा हाल ११ हजार ५ सय ५९ जना सक्रिय संक्रमित रहेको जानकारी समेत गराएका हुन् ।

स्वास्थ्य निर्देशनालयले प्रस्तुत गरेको तथ्यांक अनुसार हाल अस्पतालमा ७ सय ३४ जना उपचार गराइरहेका छन भने १० हजार ६२५ जना होम आइसोलेसनमा रहेको छ । कोभिड-१९ संक्रमणका कारण प्रदेशमा हालसम्म ६ सय ३ जनाको मृत्यु भएको छ ।

कोभिड-१९ महामारीको दोस्रो लहरको संक्रमण दर समेत पछिल्लो समयमा घटदो क्रममा गएको छ । २४ घण्टामा ५ सय ६० सम्म पुगेको संक्रमण दर बुधबार ३ सय ४४ मा झरेको निर्देशक झाले व्रिफिङको क्रममा बताएका थिए । तर, उक्त दर फेरि पनि बढ्न सक्ने सम्भावना कायमै रहेको हुनाले सतर्कता अपाउन आवश्यक रहेको सुझाए ।

बैठकमा समाजिक विकासमन्त्री नवलकिशोर साह, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, मुख्यन्यायधिवक्ता दीपेन्द्र झा, प्रमुख सचिव गोकर्णमणि दुवाडी सहितको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ