२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २जनकपुर प्रादेशिक अस्पताल सुधार प्रतिवेदन तयार गर्न तीन सदस्यीय उच्चस्तरीय समिति गठन

जनकपुर प्रादेशिक अस्पताल सुधार प्रतिवेदन तयार गर्न तीन सदस्यीय उच्चस्तरीय समिति गठन


धनुषा–प्रदेश २ सरकारले प्रादेशिक अस्पताल जनकपुरधामको समग्र सेवासुविधा सम्बन्धी प्रतिवेदन तयार गर्न उच्चस्तरीय तीन सदस्यीय समिति गठन गरेको छ । अस्पतालको सेवासुविधामा समस्या रहेको जनगुनासो बढेपछि मुख्यमन्त्री लालबाबु राउतले अस्पतालको अवस्थाबारे जानकारी लिन सरोकारवालासहित अस्पतालका वरिष्ठ चिकित्सकहरुसँग बैठक गरेका थिए ।

मुख्यमन्त्री निवासमा भएको बैठकमा मुख्यमन्त्री राउतले अस्पताल कहिलेसम्म र कसरी सुध्रिने प्रश्नको जवाफ अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलगायत चिकित्सकहरुसँग मागेपछि मेसुलगायतका चिकित्सकहरु अस्पतालको वर्तमान समस्या र त्यसका समाधानका उपायबारे आ–आफ्नो धारणा राखेका थिए ।

चिकित्सकहरुले दिएको सुझावहरुलाई संकलन गर्दै अस्पतालको समग्र सुधारको भावि कार्ययोजना सम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको संयोजकत्वमा तीन सदस्सीय समिति गठन गरेको हो ।

जसमा सामाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठ र प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा सदस्य रहेको छन् । उक्त समितिलाई अस्पतालका वरिष्ठ चिकित्सकहरुको सल्लाहमा प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ ।

४ दिन समय सीमा पाएको समितिले अस्पतालको उपचार, कर्मचारी व्यवस्थापन, प्रतिष्ठानअन्तर्गत गएपछि गरिनुपर्ने संरचनागत परिवर्तनलगायत अन्य सुविधाहरुलाई समेटेर प्रतिवेदन तयार गर्नेछ ।

बैठकमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, मुख्यसचिव गोकर्णमणि दुवाडी, न्यायाधिवक्ता दिपेन्द्र झा, सचिव यमप्रसाद भुषाल, समाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठ, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष संजय सिंहसहित समितिका पदाधिकारीहरु, आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोदकुमार यादव, स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा, अस्पतालका मेसु डा. प्रमोद यादवसहित वरिष्ठ चिकित्सक एवं विभागीय प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

यसअघि शुक्रबार कोभिड–१९ संक्रमित बिरामीको उपचारमा लापरवाही नगर्न उच्च अदालत जनकपुरको आदेश दिएको थियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ