२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशदोलखामा सांसदहरुको सहयोगमा पिसिआर मेसिन खरिद गरिने

दोलखामा सांसदहरुको सहयोगमा पिसिआर मेसिन खरिद गरिने


दोलखा – जिल्लबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसदहरुको सहयोगमा जिल्लामा नै पिसिआर परीक्षण गराउनका लागि मेसिन खरिद गरिने निर्णय भएको छ । कोभिड-१९ दोलखाको विभिन्न क्षेत्रमा फैलिरहेको र त्यसको नियन्त्रणका लागि परीक्षण गर्नकै लागि जिल्लाका अस्पतालहरुका परीक्षण गराउने मेसिनको अभाव भएको र सांसदहरुको सहयोगमा मेसिन खरिद गरी प्रस्तावित चरिकोट अस्पतालमा ल्याव सञ्चालन गराउने भएको हो ।

मेसिन खरिद गर्नका लागि दोलखाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ५० लाख, बागमती प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ का विशाल खड्का र क्षेत्र नम्बर २ का पशुपति चौलागाईले ५०-५० लाख सहयोग गर्ने र उक्त रकमबाट पीसीआर परीक्षण गराउने मेसिन खरिद गरिने जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताए ।

प्रत्यक्ष निर्वाचित ३ जना सांसदबाट संकलित १ करोड ५० लाख रकमबाट मेसिन खरिद गरिने र ल्यावको लागि आवश्यक उपकरण तथा स्वास्थ्यकर्मीको व्यवस्था गरि तत्काल प्रस्तावित अस्पतालबाट जिल्लाबासीहरुलाई सेवा प्रदान गर्ने निर्णय भएको जिसस प्रमुख पाण्डेले जनाए  ।

जिल्लामै पीसीआर परीक्षण गराउने मेशिनको अभाव हुँदा कोरोना शंकास्पद बिरामीहरुको स्वाब परीक्षण गराउनका लागि धुलिखेल अस्पताल लैजानु पर्ने बाध्यता रहेको थियो । जिल्लाबाट स्वाब संकलन नगरी परीक्षण गर्न पठाउँदा तीन चार दिनमा समेत रिपोर्ट नआउँदा बिरामीहरुले दुख व्यहोर्दै आइरहेका छन् ।

आम जिल्लाबासीहरुलाई जिल्लामानै सहज तरिकाले परीक्षण गराइ सेवा दिने उद्देश्यले प्रस्तावित चरिकोट अस्पतालमा मेशिन खरिद गरी सञ्चालन गर्न लागिएको हो । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेको अध्यक्षतामा बसेको बैठकले पीसीआर परीक्षण गराउने मेसिन खरिद प्रक्रिया अगाडि बढाउनका लागि भीमेश्वर नगरपालिका दोलखालाई निर्देशन गरेको छ ।

पछिल्लो समय समुदाय स्तरमा समेत कोरोना भाइरस फैलिदै गएको छ । यसको नियन्त्रणका लागि जिल्लामै कोरोना परीक्षण गराउदा सहज हुने भएसँगै जिल्लाबासी खुशी हुने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ