२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशगंगालाल हृद्धयरोग केन्द्रको अक्सिजन प्लान्ट सञ्चालनमा, दैनिक १३५ सिलिण्डर उत्पादन हुने

गंगालाल हृद्धयरोग केन्द्रको अक्सिजन प्लान्ट सञ्चालनमा, दैनिक १३५ सिलिण्डर उत्पादन हुने


काठमाडौं-बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ । आइतबारबाट अस्पतालको अक्जिन प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको हो ।

यससँगै बाहिरबाट अक्सिजनको खरिद गर्दै आएको गंगालाल अस्पताल अक्सिजनमा आत्मनिर्भर भएको छ ।

काठमाडौं महानगरपालिकाको सहयोगमा स्थापना गरिएको उक्त अक्सिजन प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमता छ ।

आइतबार एक कार्यक्रममाझ उक्त अक्सिजन प्लान्टको औपचारिक सुभारम्भ गरिएको हो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अहिलेको अवस्थामा अक्सिजन उत्पादन सुरु हुनु सुखद् भएको बताए । उनले यसबाट अक्सिजन चाहिएका कोभिड-१९ का बिरामीको ज्यान जोगाउन मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

जनस्वास्थ्यका मापदण्ड पूरा गरेर घरमै बस्न आग्रह गर्दै मेयर शाक्यले अनावश्यक रुपमा अक्सिजन सिलिण्डर होल्ड नगर्न समेत आग्रह गरे । उनले कोभिड-१९ महामारी सुरु नहुँदै महानगरपालिकाले कान्ति बाल अस्पतालबाटबाट अक्सिजन प्लान्ट बनाउने काममा सहकार्य सुरु गरेको उल्लेख गरे ।

गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले अस्पतालले कोरोनाको लहरभन्दा अगाडिनै अक्सिजन प्लान्ट स्थापना गर्ने योजनाअनुसार प्लान्ट निर्माणको काम अगाडि बढाएको उल्लेख गर्दै अहिले अक्सिजनको समस्या परेका बेला उत्पादन सुरु हुनु सकारात्मक भएको धारणा राखे । उनले गंगालालमै मिर्गौला डाइलाइसिस गर्न पाएमा बिरामीलाई सहज बताउँदै महानगरसँग डाइलाइसिस मेसिनका लागि सहयोगको अपेक्षा रहेको जनाए ।

काठमाडौं महानगरपालिकाले २ करोड ७५ लाख लगानीमा बनेको उक्त प्लान्टको व्यवस्थापन एवं सञ्चालन भने गंगालाल अस्पतालले गर्नेछ । प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, तीन डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, एक हजार लिटर क्षमताको एअर टंयाक, दुईवटा अक्सिजन जेनेरेटरलगायत उपकरण छन्।

महानगरपालिका र अस्पतालबीच १५ माघ २०७६ मा अक्सिजन प्लान्ट निर्माण सम्बन्धी सहमति भएको थियो । महानगरपालिकाकै सहयोगमा कान्ति बाल अस्पतालमा पनि अक्सिजन प्लान्ट स्थापनाका भइरहेको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ