२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशसरोकार समाजद्धारा स्वास्थ्य सामाग्री वितरण

सरोकार समाजद्धारा स्वास्थ्य सामाग्री वितरण


चरिकोट–दोलखाको कालिञ्चोक सरोकार समाजले कोभिड–१९ महामारी नियन्त्रणका लागि दोलखाको कालिञ्चोक गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ ।

समाजले पहिलोपटक कोभिड संक्रमणका कारण ज्यान गुमाएका कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ का स्व. कुलबहादुर विकको परिवारलाई आर्थिक सहयोग समेत गरेको छ । उनलाई सामान्य घरखर्च गर्न भन्दै ५ हजार रकम घरमै पुगेर हस्तान्तरण गरिएको संयोजक शिवाकोटीले जनाएका छन् ।

समाजले कालिञ्चोक गाउँपालिकाका ९ वटा स्वास्थ्य चौकी, सिंगटी अस्पताल र सामुदायिक स्वास्थ्य इकाइहरु गरी १३ वटा स्वास्थ्य संस्थामा अत्यावश्यक स्वास्थ्य सामग्रीहरु वितरण गरेको हो । दोलखाको कालिञ्चोक गाउँपालिका स्थायी घर भएर राजधानी काठमाडौंमा विभिन्न पेसा व्यवसाय गर्दै आएका युवाहरुको समुहद्धारा गठित कालिञ्चोक सरोकार समाजले कोभीड–१९ र अन्य विपतजन्य घटनाहरुलाई लक्षित गरेर स्थापना गरेको विपत व्यवस्थापन कोषमार्फत चलाएको अभियानबाट स्वास्थ्य सामग्री हस्तान्तरण गरेको विपत तथा उद्दार कोषका संयोजक टेकराज शिवाकोटीले जानकारी दिए ।

संयोजक शिवाकोटीले कोभिड संक्रमण समुदायस्तरमा पुगेको र जसका कारण ग्रामीण बस्तीमा समेत कोरोनाका बिरामीहरु बढ्दै गएकाले समुदायमा सचेतना फैलाउनका साथै गाउँघरमा भएका सबै स्वास्थ्य संस्थाहरुलाई प्राथमिक उपचारका लागि स्रोत र साधन सम्पन्न बनाउन अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिए ।

कालिञ्चोक सरोकार समाजले सिंगटी अस्पतालसहित कालिञ्चोक गाउँपालिका भरिका सबै स्वास्थ्य संस्थाहरुमा दुई–दुई थान अक्सिमिटर, एक–एक थान थर्मल गन, दस लिटर सेनिटाइजर र प्रतिस्वास्थ्य संस्था ५ सय थान ओरिजिनल सर्जिकल मास्क वितरण गरेको छ । गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुमा पुगेर समाजका पदाधिकारीले सामग्री हस्तान्तरण गरेका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ