२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशत्रिशुली अस्पतालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक कार्यक्रम पढाइ हुने

त्रिशुली अस्पतालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक कार्यक्रम पढाइ हुने


काठमाडौं-नुवाकोटको त्रिशुली अस्पतालमा हेटौडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक कार्यक्रम पढाइ हुने भएका छन् । सोमबार अस्पतालको ५७ औं वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानका शिक्षाध्यक्ष डा. सतिशकुमार देव र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले शैक्षिक कार्यक्रम अध्यापन सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिष्ठानअन्तर्गतका चिकित्सा, डेन्टल र नर्सिङका विभिन्न विषयगत शैक्षिक कार्यक्रम सञ्चालनमा हुनेछन् । प्रतिष्ठानले भदौंदेखि नर्सिङ र चिकित्सकका विषयगत कक्षा सञ्चालनमा ल्याउने तयारी अगाडि बढाएको छ ।

१ सय ३० शैय्याको त्रिशुली अस्पताल भौतिक पूर्वाधार र शैक्षिक कार्यक्रम सञ्चालनको लागि उपयुक्त रहेकोले शैक्षिक कार्यक्रम सञ्चालनका लागि छनोट गरिएको हो । २०७६ असोज २ मा बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले गत असारदेखि शैक्षिक कार्यक्रम सुरु गरेको हो ।

चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई ब्याचलर अफ पब्लिक हेल्थ, ब्याचलर अफ फार्मेसी र ब्याचलर अफ साइन्स इन मेडिकल ल्याब्रोटरी टेक्नोलोजी विषयमा अध्यापन गराउन अनुमति दिइसकेको छ । शैक्षिक कार्यक्रम मात्र नभई स्वास्थ्य सम्बन्धि अनुसन्धान तथा जनरल प्रकाशनसमेत संयुक्तरुपमा गरिने डा. देवले बताए ।

त्रिशुली अस्पतालका मेसु डा. दिपेन्द्र पाण्डेले चिकित्सा, डेन्टल र नर्सिङलगायतका विषयको अध्यापन त्रिशुली अस्पतालमा हुने सहमति भएको बताए । ‘हामीले प्रतिष्ठानका विद्यार्थीहरुलाई यहाँ पढाउने  छौं,’ उनले भने । डा. पाण्डे मेसु बनेर गएपछि पछिल्लो समय त्रिशुली अस्पतालमा व्यापक सुधारका कामहरु भएका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ