२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशस्वास्थ्य सेवाको सचिव नभए प्रदेशकै स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी

स्वास्थ्य सेवाको सचिव नभए प्रदेशकै स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी

प्रशासनतर्फको सचिव बनाउने तयारी गरेपछि स्वास्थ्यका कर्मचारी असन्तुष्ट, मन्त्रीलाई पत्र बुझाए


काठमाडौं—सत्ता समीकरणलाई ध्यान दिदैं बागमती प्रदेशमा स्वास्थ्य मन्त्रालय गठन गरिएको छ । २३ भदौंमा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पनि स्वास्थ्य मन्त्रालय गठन गरेकी छिन् ।

बागमतीको स्वास्थ्य मन्त्रीका रुपमा नेकपा एमाले सिन्धुलीका सांसद प्रदीपकुमार कटवाल क्षेत्री नियुक्त भइसकेका छन् । लुम्बिनी र गण्डकीमा भने यसअघि नै स्वास्थ्य मन्त्रालय स्थापना भइसकेको छ । जहाँ स्वास्थ्यको ११ औं तहका वरिष्ठ अधिकारीले सचिवका रुपमा प्रशासनको नेतृत्व गर्दै आएका छन् ।

बागमतीको नयाँ गठन भएको स्वास्थ्य मन्त्रालयको दरबन्दीमा कर्मचारी प्रशासनको नेतृत्व प्रशासनतर्फका कर्मचारी दिने तयारी अगाडि बढाएपछि प्रदेशका स्वास्थ्य अधिकारी र कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले अहिले लुम्बिनी र गण्डकीका स्वास्थ्य मन्त्रालयमा कर्मचारी प्रशासनको नेतृत्व स्वास्थ्यका कर्मचारी नै गरिरहेको भन्दै बागमतीमा पनि स्वास्थ्यतर्फकै कर्मचारीलाई सचिव बनाउन माग गरेका छन् ।

‘स्वास्थ्य क्षेत्रमा लामो समय कार्यनुभव भएका र सक्षम स्वास्थ्यकर्मीहरु कार्यरत रहेको र स्वास्थ्य सचिव हुन योग्य प्राविधिक समेत भएको अवस्थमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत गण्डकी र लुम्बिनी प्रदेशहरुमा समेत स्वासथ्य मन्त्रालयको जिम्मेवारी स्वास्थ्य क्षेत्रका अनुभवी स्वास्थ्यकर्मीबाट स्वास्थ्य सचिवको कार्य जिम्मेवारी बहन भइरहेको नजिर समेत स्थापित भएको व्यवहोरा अनुरोध गर्न चाहन्छौं,’ बागमती प्रदेशका अधिकारीहरुले स्वास्थ्य मन्त्री क्षेत्रीलाई बुझाएको पत्रमा भनेका छन् ।

स्वास्थ्यका अधिकारीहरुले नयाँ स्थापित भएको स्वास्थ्य मन्त्रालयको दरबन्दी संरचनामा स्वास्थ्य सेवाको ११ औं तहको सचिव दरबन्दी सिर्जना गर्न माग गरेका छन् । स्वास्थ्य सेवा बाहेकको सचिवको दरबन्दी सिर्जना गरिए स्वास्थ्य सेवाका कर्मचारीहरुले अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

यसरी चेतावनी दिने स्वास्थ्यका कर्मचारीहरुमा स्वास्थ्य शिक्षा तथा प्रवद्र्धन संघ नेपालका अध्यक्ष बद्रीबहादुर खड्का, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयकी निमित्त निर्देशक सावित्री पौडेल, हेटौडा प्रादेशिक अस्पतालका नि.प्र.मे.सु. डा. रामचन्द्र सापकोटा, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक बसन्त अधिकारी, नेपाल जनस्वास्थ्य संघ बागमती प्रदेशका अध्यक्ष सतिस विष्ट, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका डा. पुरुषोतम राज सेढाई, डा. रविन भुषाल, प्रदेश स्वास्थ्य निर्देशनालयका डा. अर्जुन सापकोटा, डा. सुरेश महर्जनलगायतका स्वास्थ्यका कर्मचारीहरु रहेका छन् । उक्त पत्र मुख्यमन्त्री कार्यलय र प्रमुख सचिव कार्यलयलाई बोधार्थ दिइएको छ ।

यसअघि सामान्य प्रशासनले सबै प्रदेशमा स्वास्थ्य सेवातर्फकै व्यक्तिलाई स्वास्थ्य सचिव बनाएर पठाउने तयारी समेत अगाडि बढाएर स्वास्थ्य मन्त्रालयबाट योग्यता पुगेका ११ औं तहका सहसचिवहरुको नामावली मागेको थियो । तर, संघीय प्रशासन मन्त्रालयकै तयारी विपरित प्रदेशले प्रशासनको सचिव बनाउने तयारी गरेको स्रोत दावी छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ