२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशअसन्तुष्टिका बीच बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सांगठनिक संरचनामा प्रशासनतर्फकै सचिव

असन्तुष्टिका बीच बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सांगठनिक संरचनामा प्रशासनतर्फकै सचिव


काठमाडौं—बागमती प्रदेशमा नयाँ गठन भएको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फकै सचिव राख्नुपर्ने माग भएपनि प्रशासनतर्फकै सचिव रहने व्यवस्थासहितको सांगठनिक संरचना तयार पारिएको छ । मन्त्रालयले प्रस्तावित दरबन्दी तेरिजमा मन्त्रालयमा संघीय सेवाको राप प्रथम तहको सचिव रहने उल्लेख छ ।

यस्तै, मन्त्रालयमा ९/१० औं तहको अधिकृतस्तरको प्रशासनतर्फकै उपसचिव रहने सांगठिक संरचनामा छ । त्यसपछि मात्र स्वास्थ्य सेवातर्फका कर्मचारीलाई मन्त्रालयको प्रस्ताविक सांगठनिक संरचनामा स्थान दिइएको छ । स्वास्थ्य सेवातर्फको बरिष्ठ जनस्वास्थ्य निरिक्षक (हेई) ९/१० औं तह १ जना, बरिष्ठ उपस्वास्थ्य प्रशासक ९/१० औं १ जना, आयुर्वेद चिकित्सक ८ औं तह १ जना, अधिकृत प्रशासन ७/८ औं तह २ जना, न्यास सेवाको कानुन अधिकृत रापतृ १ जना, लेखा अधिकृत प्रशासन लेखा समूहको ७/८ औं तहको १ जना, जनस्वास्थ्य अधिकृत (हेई) ७/८ औं तहको एक जना, जनस्वास्थ्य शिक्षा अधिकृत (हेए) ७/८ औं तहको १ जना, कम्युनिटी नर्सिङ अधिकृत ७/८ तहको १ जना, फार्मेसी अधिकृत ७/८ तहको १ जना, सहायक/अधिकृत प्रशासनतर्फको ५/६ औं तहको २ जना, सहायक कम्प्युटर ४/५ औं तहका २ जना, सह लेखापाल प्रशासन लेखाको ४/५ औं तहका १ जना, हसचा तहबिहीन ३ जना, कार्यलय सहयोगी तहबिहीन ४ जना गरी कुल २५ जनाको प्रस्तावित दरबन्दी तेरिज तयार पारिएको हो ।

यसअघि प्रदेश कार्यरत स्वास्थ्यका अधिकारी र कर्मचारीहरुले मन्त्रालयमा प्रशासनतर्फको सचिव राख्न थालिएको भन्दैं स्वास्थ्य सेवातर्फको सचिव बनाउन दबाब दिएका थिए । उनीहरुले गण्डकी र लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयमा पनि स्वास्थ्य सेवातर्फकै सचिव राखिएको भन्दैं बागमतीमा पनि सोहीअनुसार दरबन्दी राख्न माग गरेका थिए ।

प्रदेशका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवातर्फको सचिव नराखिए प्रदेशकै आकस्मिकबाहेकको स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका थिए । तर, मन्त्रालयले उक्त चेतावनीलाई बेवास्ता गर्दै प्रशासनतर्फकै सचिव रहने दरबन्दी प्रस्ताव गरेको छ ।

जसको सरकारी चिकित्सकहरुको संगठन सरकारी चिकित्सक संघ (गोदान)ले पनि विरोध गरेको छ । उसले बागमती प्रदेशमा गठन गरिएको स्वास्थ्य मन्त्रालयको प्रस्तावित दरबन्दीमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदैं स्वास्थ्य ज्ञान नभएको व्यक्तिलाई मन्त्रालयको प्रशासनको नेतृत्व दिनु हास्यास्पद र गैरजिम्मेवारी भनेको छ । गोदानमा अध्यक्ष डा. रविन खड्का र महासचिव कीर्तिपाल सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यजस्तो निकै प्राविधिक र मानव जीवनसँग प्रत्यक्ष जोडिएको सेवालाई गैर स्वास्थ्य समूहको र स्वास्थ्य विधाबारे ज्ञान नै नभएको अप्राविधिक नेतृत्वको हातमा सुम्पिन खोज्नु हास्याँस्पद र गैरजिम्मेवार एवं खेदपूर्ण छ ।’

गोदानले उक्त प्रस्तावित दरबन्दी सच्चाएर स्वास्थ्य सेवाकै सचिवको दरबन्दी राख्न समेत माग गरेको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ