२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशजर्मन इन्जिनियरको डिजाइनमा ३ करोड ८७ लाख लागतमा दोलखामा अस्पताल बन्दै

जर्मन इन्जिनियरको डिजाइनमा ३ करोड ८७ लाख लागतमा दोलखामा अस्पताल बन्दै


चरिकोट—दोलखा विगु गाउँपालिका–५, चिलंखामा अस्पताल निर्माण हुने भएको छ । सुविधासम्पन्न अस्पताल निर्माणको एक समारोहकाबीच शिलान्यास गरिएको छ । हेल्थ नेपाल संस्थामार्फत जर्मन नागरिक र स्वास्थ्यकर्मीहरुको टोलीले अस्पताल भवन निर्माणका लागि सहयोग जुटाएको छ ।

जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले एक समारोहकाबीच अस्पतालको शिलान्यास गरे । भवन शिलान्यासपछि आयोजित समारोहमा बोल्दै जिसस प्रमुख पाण्डेले स्थानीय जनताका लागि अस्पताल महत्वपूर्ण र आवश्यकता रहेको विषय भएकाले अस्पताल निर्माण र व्यवस्थापनमा सरकारको पनि सहयोग रहनुपर्नेमा जोड दिए ।

अस्पताल चक्रेश्वरी सामुदायिक स्वास्थ्य केन्द्र मातहत सञ्चालन हुनेछ । केन्द्रका अध्यक्ष प्रवीण खड्काका अनुसार अस्पताल सञ्चालनका लागि २१ कोठे भवन निर्माण हुनेछ । जसको डिजाइन जर्मन इन्जिनियरहरुको टोलीले गर्नेछ । करिब तीन करोड ८७ लाख रुपैयाँ भवन निर्माणको प्रारम्भिक लागत अनुमान गरिएको छ । ६ देखि ८ महिनाभित्र अस्पतालको भवन निर्माण गरिसक्ने लक्ष्य छ ।

अस्पतालको जिम्मा नेपाल सरकारले नलिएसम्म त्यहाँ आवश्यक जनशक्ति र औषधी उपचारको व्यवस्था समेत हेल्थ नेपालले गर्ने भएको छ ।

दोलखाका चिलंखावासी समेत रहेका छिरिङ शेर्पासँग विवाह गरेकी जर्मन नागरिक सोनिया, जर्मन डाक्टर क्लाउसको अग्रसरतामा अस्पतालका लागि आर्थिक सहयोग जुटेको बताइएको छ ।

अस्पताल सञ्चालनका लागि करिव साढे ६ रोपनी जग्गा संस्थाको स्वामित्वमा पास भैसकेको अध्यक्ष खड्काले जानकारी दिए । दुई रोपनी ईको हिमाल नामक संस्थाले खरिद गरिदिएको, आधा रोपनी स्थानीय समाजसेवी जेनी खड्काले दान गरेको र बाँकी ३९ जना दाताहरुबाट संकलन भएको रकमबाट जग्गा खरिद गरिएको हो ।

अस्पताल निर्माणपछि विगु गाउँपालिका–५, ६, ७, र ८ नम्बर वडाका नागरिकले सहज तरिकाले स्वास्थ्य सेवा प्राप्त गर्नेछन् । विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले अस्पताल सञ्चालनका लागि स्थानीय सरकार हातेमालो गर्न तयार रहेको भन्दै सहयोगी दाताहरुप्रति आभार व्यक्त गरे ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ