२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशजिल्ला प्रशासन दोलखाले भेला हुन नदिने

जिल्ला प्रशासन दोलखाले भेला हुन नदिने


चरिकोट—जिल्ला प्रशासन कार्यालय दोलखाले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । बुधबार दोलखाका प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले आदेश जारी गर्दै २५ जना भन्दा बढी भेला हुने गरी तालिम, गोष्ठी, मेला, भेला तथा महोत्सवहरु एवम् कुनै किसिमका सामाजिक गतिविधिहरु नगर्न आदेश जारी गरेका हुन् ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा बसेको बैठकले अर्काे सूचना जारी नभएसम्म लागू हुनेगरी यस्तो आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले बताए ।

बैठकले यही माघ ७ गतेदेखि लागू हुने गरी सार्वजनिक सेवा प्रवाह हुने कार्यालयहरुमा खोप कार्ड अनिवार्य गरिएको छ । स्वास्थ्य कार्यालय दोलखाले स्थानीय तहसँगको समन्वयमा सबै विद्यालयहरुमा १२ देखि १७ वर्ष समूहका विद्यार्थीहरुलाई अनिवार्य रुपमा कोभिड–१९ विरुद्धको खोप लगाई सक्ने व्यवस्था मिलाउन भनिएको छ ।

सरकारको निर्णय बमोजिम २०७८ साल माघ १५ गतेसम्म भौतिक उपस्थितिमा विद्यालय सञ्चालन नगर्ने, नगराउने र पूर्वनिर्धारित सेमेष्टर तथा वार्षिक परीक्षाहरुको हकमा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न आग्रह गरिएको छ । पहिला सञ्चालनमा ल्याएका स्वास्थ्य संस्था तथा स्थानीय तहले विगतमा सञ्चालन गरेका कोभिड–१९ उपचार केन्द्र तथा आइसोलेसन केन्द्रलाई सुदृढ गरी सञ्चालनमा ल्याउने भएको छ ।

हालको संकटलाई मध्यनजर गरी कृतिम अभाव देखाउने, औषधिलागयत अत्यावश्यक वस्तुमा मूल्यवृद्धि गर्ने, सामानहरु लुकाउने, सहज आपूर्तिमा अवरोध गर्ने उपर कानुन बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए । स्थानीय प्रशासनले कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि जारी भएका आदेश पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने चेतावनी समेत दिएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ