२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेश१ लाख तलब दिँदा पनि गाउँमा बस्न मान्दैनन् डाक्टर

१ लाख तलब दिँदा पनि गाउँमा बस्न मान्दैनन् डाक्टर


चरिकोट–सरकारी तलब स्केलभन्दा दोब्बर तलब दिँदा पनि गाउँमा डाक्टर बस्न मान्दैनन् । सरकारी तलब सुविधा डाक्टरको मासिक पचास हजार हो । तर, शैलुङ गाउँपालिकाले मासिक एक लाख तलब सुविधा दिनेभन्दा पनि चिकित्सकहरु आउन मानेका छैनन् ।

शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबुु श्रेष्ठले आफ्नो पालिकामा ५ वेडको अस्पतालको लागि सरकारी स्केलभन्दा दोब्बर तलब दिँदा पनि डाक्टर बस्न नमानेको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसमक्ष गुनासो पोखे ।

त्यस्तै, गौरीशंकर गाउँपालिकामा पनि लामो समयदेखि सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर बस्नै नमानेको गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले बताए । सदरमुकाम चरिकोटबाट गाडीमा ३ घण्टामै प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्न सकिन्छ । तर, डाक्टरहरु दुर्गम भन्दै बस्न नमानेको पालिका अध्यक्ष विश्वास कार्कीले बताए । ‘गाडीमा सदरमुकाम बाट तीन घण्टामै स्वास्थ्य केन्द्रमा पुगिन्छ । तर, डाक्टरहरु दुर्गम भन्दै गाउँमा आउनै मान्दैनन्,’ उनले भने ।

दोलखाको उत्तरी क्षेत्र कालिञ्चोक गाउँपालिकास्थ्ति सिंगटी अस्पतालमा पनि लामो समयदेखि डाक्टरबिहिन अवस्था रहेको गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटीले बताए । १५ वेडको अस्पताल अहेवको भरमा चलाउनुपर्ने बाध्यता रहेको अध्यक्ष शिवाकोटीले जानकारी दिए ।

पछिल्लो अवस्थामा प्रदेश सरकारले कर्मचारीहरु काज सरुवा गरेकाले पनि अस्पतालहरु खाली हुुन थालेको जिरी नगरपालिकाका मेयर मित्र जिरेलले बताए । ‘बाह्य सहयोगमा जिरी अस्पताल भव्य बनायौं । तर, स्वास्थ्यकर्मी अभावको कारण बिरामीले दुुःख पाएका छन्,’ उनले भने । अस्पतालमा स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मी प्रशस्तै हुँदा दोलखालगायत रामेछाप, ओखलढुंगा र सिन्धुलीसमेत बिरामीहरुले स्वास्थ्य सेवा लिने गरेको मेयर जिरेलले बताए ।

जिल्ला समन्वय समिति दोलखाले आयोजना गरिएको आर्थिक वर्ष २०७८/०७९मा संघीय तथा प्रदेश सरकारअन्तर्गत कार्यालयहरु र स्थानीय तहहरुबाट सञ्चालन भएका आयोजना तथा कार्यक्रमहरुको वार्षिक समीक्षामा पालिकाका जनप्रतिनिधिहरुले सो गुनासो बागमती प्रदेशका मुख्यमन्त्री समक्ष राखेका हुन् ।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भर्खर कर्मचारी आवश्यकता माग गरिएको हुनाले छिट्टै नै आवश्यकताअनुसार सबै अस्पतालमा स्वास्थ्यकर्मी पदपूर्ति गर्ने प्रतिवद्धता जनाए । साथै, बागमती प्रदेशमा सञ्चालित अस्पतालहरुमा स्वास्थ्य उपकरण, डायलाइसिस मेसिनलगायतको सुविधा हुने मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताए । दोलखामा सञ्चालित प्रदेशिक पशुुपति चौलागाई स्मृति अस्पताल चरिकोट र जिरी अस्पताल जिरीलाई पैसाकै अभावमा अस्पतालबाट सेवा नरोकिने मुख्यमन्त्री पाण्डेले बताए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ