२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशएक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दैं

एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दैं


चरिकोट-दोलखाको विभिन्न विद्यालयमा संचालित एक विद्यालय, एक नर्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ । दैनिक रुपमा विद्यार्थीहरुको स्वास्थ्य हेरचाह र विद्यालयमा जंक फुडको खाने क्रम घट्दै गएका कारणले पनि कार्यक्रम प्रभावकारी बनेको हो ।

विद्यालयमा नर्स भएपछि अभिभावकहरुलाई पनि आफ्ना बालबालिकाको स्वास्थ्य अवस्था थाहा पाउने गरेको छ । यसअघि बालबालिकाहरुलाई सामान्य चोटपटक लाग्दा र बिरामी पर्दा स्वास्थ्य संस्थामा लैजानुपर्ने झन्झट घटेको छ । सबै कक्षाका बालबालिकाहरुको स्वास्थ्य अवस्था चेक जाँच गर्ने र स्वास्थ्य सल्लाह दिने गरेकाले पनि बालबालिकाहरु सफा र स्वस्थ हुने गरेको हनुमन्तेश्वर माविमा कार्यरत विद्यालय नर्स भगवती श्रेष्ठले बताइन् । उनी यस विद्यालयमा वि.सं. २०७५ सालदेखि कार्यरत छिन् ।

विद्यालयमा एक विद्यालय, एक नर्स कार्यक्रम लागु भएपछि बालबालिकाको खानपान, सरसफाइ, दाँतको सफाइ, हात धुने, प्राथमिक उपचार, मातृत्व शिक्षा, प्रजनन सम्बन्धी शिक्षा, नयाँ रोगको बारेमा जानकारी, खोपको महत्व र सेनेटरी प्याडको प्रयोगको बारेमा जानकारी दिने गरेको छ । साथै १० देखि १९ वर्ष उमेर समूहका किशोरीहरुलाई आइरन चक्की खुवाउने काम पनि विद्यालय नर्सले गर्दै आएका छन् । विद्यालयमै प्रत्यक्ष रुपमा जुकाको औषधी वितरण र खुवाउने गरेको विद्यालय नर्स भगवती श्रेष्ठले जानकारी दिइन् ।

कार्यक्रमकै कारण आत्महत्या गर्नेको संख्यामा पनि कमी आएको छ । नत्र किशोरीहरुलाई असामान्य रोग लाग्दा र परीक्षामा अनुतीर्ण हुँदा आत्महत्याको विकल्प रोज्ने गरेको नर्सले अर्की एक नर्स बताउँछिन् । यसअघि कतिपय विद्यार्थीहरुलाई मानसिक रोगको कारण पनि आत्महत्याको प्रयास गर्ने गरेकोमा अहिले पूर्ण रुपमा हटेको बताउँछन् । त्यस्तै, अधिकांश विद्यार्थीले टिफिनमा जंक फुड प्रयोग गर्दै आएकोमा यस कार्यक्रमपछि विद्यालयमा जंक फुड ल्याउन बन्देज लगाएको छ । कतिपय विद्यार्थीहरु विद्यालय बाहिर पनि नखाने गरेको नर्स श्रेष्ठले बताइन् ।

किशोरीहरु महिनावारी हुँदा लाजले विद्यालय नै नआउने र सेनेटरी प्याड लिन आउनुस्भन्दा पनि लजाउने गर्थे सुरु-सुरुमा तर अहिले महिनावारी हुने बित्तिकै प्याड लिन आउने गरेको क्षत्रवती मावि क्षेत्रपाका विद्यालय नर्स जेसिका खड्का बताउँछिन् । ‘अहिले यस कार्यक्रमले गर्दा किशोरीहरुमा चेतना आएको छ । महिनावारी हुँदा दैनिक हेरचाह र खानपिनमा विशेष प्राथमिकता दिने गरेका छन्,’ उनले भनिन् ।

विद्यालयमै सामान्य क्लिनिकको रुपमा औषधीहरु पनि राखेका छन् । सामान्य घाइते हुँदा विद्यालयमै उपचार हुने गर्छ । माथिल्लो कक्षाका विद्यार्थीहरुलाई ब्लड प्रेसर जाँच, हात धुने सम्बन्धी प्रयोगात्मक कक्षा समेत हुने गर्दछन् । जसले गर्दा विद्यार्थीहरुलाई आधारभूत स्वास्थ्य सम्बन्धी जानकारी स्कुलमै प्राप्त गर्ने गरेका छन् ।

कक्षामै स्वास्थ्य शिक्षा प्रदान गर्नुको साथै बेला-बेलामा स्वास्थ्य सम्बन्धी ज्ञानमूलक प्रदर्शनी पनि हुने गर्दछ । पहिला-पहिला किशोरीहरु महिनावारी हुँदा लजाउने र आफ्ना समस्याहरु खुलेर शिक्षकहरुसँग राख्न सक्दैनन् । तर, अहिले विद्यालय नर्ससँग अभिभावक सम्झेर आफ्ना समस्या र कुराहरु राख्ने गरेको पशुपति कन्या मन्दिर माविका विद्यालय नर्स सन्तोषी कार्की बताउँछिन् । ‘विद्यार्थीहरु सामान्य उपचारका लागि पनि अस्पताल वा स्वास्थ्य संस्था धाउने गर्थे । तर, अहिले विद्यालयमै उपचार गर्न थालेपछि विद्यार्थीहरु साह्रै खुशी छन्’, नर्स कार्की भन्छन् ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत वि.सं. २०७५ सालदेखि एक विद्यालय, एक नर्स कार्यक्रम सञ्चालनमा ल्याएको हो । सुरुमा बागमती प्रदेशअन्तर्गत २० वटा विद्यालयमा यस कार्यक्रम लागू गरेका थिए । कार्यक्रम निकै प्रभावकारी हुँदै गएपछि अहिले दोलखामा मात्र ३० वटा विद्यालयमा यो कार्यक्रम रहेको छ । विद्यालयहरुमा किशोरीको क्षेत्रमा निकै प्रभावकारी हुने भएकाले सबै विद्यालयमा यस कार्यक्रम भइदिए अझ राम्रो हुने जिरी नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक केशव दाहालले बताए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ