२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशदोलखामा एक जनाको एकै पटक चार समस्याको शल्यक्रिया

दोलखामा एक जनाको एकै पटक चार समस्याको शल्यक्रिया


चरिकोट—दोलखा सदरमुकाम चरिकोटमा रहेको च्छो–रोल्पा जनरल अस्पतालमा भारतको सिक्कीमबाट उपचारको लागि आएकी एक महिलाको न्युन शुल्कमा चार ओटा शल्यक्रिया गरिएको छ ।

आर्थिक अभावको कारण सिक्कीममा उपचार गर्न सम्भव नभएपछि बुवा कृष्णबहादुर बस्नेतको सहयोगमा च्छो– रोल्पा जनरल अस्पताल आएकी बैतेश्वर–३ कि सरिता खड्काको एमडिजिपी डा. विनोद दंगालको टिमले न्युन शुल्कमा चार वटा शल्यक्रिया गरेको हो । बुवा कृष्णबहादुरले अस्पतालका एमडिजिपी डा. विनोद दंगालसँग उपचारको बारेमा कुराकानी गरेपछि सरितालाई नेपाल बोलाएका थिए ।

सुरुमा सरिता पाठेघरको शल्यक्रिया गर्न च्छो–रोल्पा जनरल अस्पताल आएका थिए । परिक्षणको क्रममा सरितामा एकै पटक चार वटा शल्यक्रिया गर्नुपर्ने समस्या देखिएको डा. दंगाल बताउँछन् । सरितालाई पाठेघरको समस्यासँगै, एपेन्डिसाइटिस अण्डासयमा डरमोयड सिस्ट, टुईस्टेट ओभरिएन सिष्टलगायतको समस्या देखिएपछि एकै पटक चार वटा शल्यक्रिया गर्नु परेको डा. दंगालले बताए ।

श्रीमानसंग मजदुरीको लागि भारतको सिक्कीम पुगेकी सरितालाई एक वर्ष अघिदेखि ढाड, पेट दुख्ने समस्या सुरु भएको थियो । दुखाइ बढेपछि सिक्कीमकै केही अस्पतालमा देखाएको र पाठेघरसँगै जण्डीसको समेत समस्या देखिएपछि चार दिन अस्पताल भर्ना भएर उपचार समेत गरे ।

अस्पतालले पाठेघरको शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको थियो । सिक्कीममै शल्यक्रियासहितको उपचार गर्दा झण्डै भारतीय रुपैयाँ तीन लाख लाग्ने जानकारी पाएपछि सरीताले खर्च जुटाउन बुबालाई खबर गरेकी थिइन् ।

दोलखामा रहेका बुवा कृष्णबहादुरले चिनजानका आफन्तसँग सल्लाह गर्दा च्छो–रोल्पा जनरल अस्पतालमा डा. विनोद दंगालले न्यून शुल्कमा राम्रो उपचार सेवा दिने जानकारी पाएपछि उनले छोरीलाई चरिकोट बोलाएका थिए ।

न्यून शुल्कमा आफ्नै जिल्ला सदरमुकाममा रहेको अस्पतालले राम्रो उपचार सेवा दिएको भन्दै सरिताका श्रीमान रामजी खड्काले खुशी व्यक्त गरे ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ