२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशघरघरमै पुगेर जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा

घरघरमै पुगेर जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा


चरिकोट—दोलखाको भीमेश्वर नगरपालिका—५ ले जेष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको छ । भीमेश्वर नगरपालिका—५ तल्लो माटीका १०२ वर्षीय टेकबहादुर थापाको स्वास्थ्य परीक्षणबाट सो सेवा सुरु गरेको हो ।

स्थानीय सूर्य थापालेसामान्य उपचारका लागि स्वास्थ्य संस्थासम्म जान गाह्रो भएका जेष्ठ नागरिकलाई स्वास्थ्यकर्मी घरमै पुगेर उपचारको व्यवस्था गर्न थालेपछि जेष्ठ नागरिकहरु निक्कै खुसी भएको बताए । ‘सामान्य रोग पनि पहिचान गर्न नसक्दा जेष्ठ नागरिकले निक्कै पीडा भोग्नु परेको थियो । घरघरमै पुगेर स्वास्थ्य सेवा दिने कुराले जेष्ठ नागरिक हर्षित छन्,’ उनले भने ।

मासिक रुपमा वडाका ७० वर्षमाथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधीसमेत वितरणको कार्यक्रम रहेको वडा नं. ५ का वडाअध्यक्ष वासु श्रेष्ठले बताए । वडाअध्यक्ष श्रेष्ठका अनुसार वडाअन्तर्गतका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयमंसेविकाहरु प्रत्येक महिना जेष्ठ नागरिकका घरमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्नेछन् । जटिल रोग भएमा सम्बन्धित स्वास्थ्य संस्थामा रिफर गर्ने छन् भने सामान्य रोगका लागि औषधी वितरण गर्नेछन् ।

मंगलबार वडाको तल्लो माटी र भट्यौलीका १५ जना जेष्ठ नागरिकको ब्लड प्रेसर, ज्वरो, शरीरमा अक्सिजनको मात्रालगायतको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधी प्रदान गरेको वडाले जनाएको छ । वडा नं ५ मा ७० वर्षमाथिका ३ सय जना जेष्ठ नागरिक रहेका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ