२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशभरतपुर अस्पतालका चिकित्सकसहितका दैनिक ज्यालादारीको बढेको तलब कात्तिकबाट समायोजन हुने

भरतपुर अस्पतालका चिकित्सकसहितका दैनिक ज्यालादारीको बढेको तलब कात्तिकबाट समायोजन हुने


चितवन—भरतपुर अस्पतालका दैनिकी ज्यालादारीका चिकित्सकहरुसहित झण्डै १ सय बढी कर्मचारीहरु बढेको २० प्रतिशत तलब समायोजन हुने भएको छ । आइतबार बसेको अस्पताल कर्मचारी व्यवस्थापन समितिको बैठकले कात्तिक १ गतेदेखि दैनिक ज्यालादारी कर्मचारीलाई पनि बढेको स्केलअनुसार तलब दिने निर्णय गरेको हो ।

यसअघि, सरकारले चालु आर्थिक वर्षमा सरकारी कर्मचारी वृद्धि गरेको बेसिक तलब स्केल नदिएपछि अस्पतालका दैनिक ज्यालादारी चिकित्सक, नर्स र कर्मचारी तीब्र असन्तुष्टी चुलिएको थियो । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले आइतबार दिउँसो बसेको अस्पतालको कर्मचारी ब्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको जानकारी दिए ।

‘आज दिउँसो बसेको कर्मचारी ब्यवस्थापन समितिको बैठकले कात्तिक १ गतेबाट लागु हुने गरी दैनिक ज्यालादारीलाई पनि सरकारको बढेको स्केलअनुसार तलब दिने निर्णय गरेको छ,’ उनले भने । उनले अस्पतालमा दैनिक ज्यालादारीमा  चिकित्सक, नर्स र अन्य कर्मचारी गरी करिब झण्डै १ सय बढी दैनिक ज्यालादारीमा कार्यरत छन् ।

अहिले भरतपुर अस्पतालमा आठौं तहमा २० जना मेडिकल अफिसर तथा माष्टर्स गरेका चिकित्सकहरु दैनिक ज्यालादारीमा कार्यरत छन् । यस्तै, नर्सिङ र अन्य कर्मचारी गरी झण्डै १ सय बढी दैनिक ज्यालादारी कर्मचारी अस्पतालमा रहेको मेसु तिवारीले बताए । उनीहरुले साउनदेखि आधारभूत तलबमा वृद्धि भएको स्केल दैनिक ज्यालादारी भन्दैं आफूहरुलाई नदिइएको बताउँदैं असन्तुष्टी जनाइरहेका थिए । तलब वृद्धिको माग गर्दै यसअघि उनीहरुले भरतपुर अस्पतालमा आन्दोलन समेत गरेका थिए ।

‘समान काम, समान दाम हाम्रो प्रमुख माग हो,’ भरतपुर अस्पतालमा दैनिक ज्यालादारीमा कार्यरत चिकित्सक डा. जीवन परियारले भने, ‘मैले अहिलेसम्म थाहा पाएको छैन । निर्णय भएको भए राम्रै हो ।’

दशैं अगाडि पनि बढेको तलब समायोजनको माग गर्दै भरतपुर अस्पतालका दैनिक ज्यालादारीका चिकित्सक, नर्ससहितका कर्मचारीहरु संघर्षमा उत्रिएका थिए । त्यसपछि अस्पताल प्रशासन, प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितीमा विकास समितिबाट छिरेका दैनिक ज्यालादारी कर्मचारीहरुलाई बढेको स्केलअनुसार तलब दिइएको थियो ।

तर, सबै दैनिक ज्यालादारी कर्मचारीको माग सम्बोधन भएको थिएन । जसका कारण अन्य १ सय भन्दा बढी चिकित्सकसहितका दैनिक ज्यालादारी कर्मचारीमा तीब्र असन्तुष्टी थियो । अस्पताल प्रशासनको यो निर्णयपछि उक्त असन्तुष्टी साम्य हुने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ