२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशविद्युत लाइनको बहानामा भवन हस्तान्तरण नगर्दा ९ वर्षदेखि स्वास्थ्य चौकी टहरामै

विद्युत लाइनको बहानामा भवन हस्तान्तरण नगर्दा ९ वर्षदेखि स्वास्थ्य चौकी टहरामै


चरिकोट—निर्माण व्यवसायीले नवनिर्मित भवनमा बत्तीको विद्युत (ट्रान्समिटर लाइन) जडान गर्न नसकेपछि स्वास्थ्य चौकी ९ वर्षदेखि टहराबाटै सेवा दिइरहेको छ । दोलखाको विगु गाउँपालिका–५ चिलंखामा नवनिर्मित स्वास्थ्य चौकी भवनमा ट्रान्समिटर लाइन जडान गर्न नसकेपछि वि.सं. २०७२ सालमा निर्माण गरिएको जस्तापाताको टहराबाटै सेवा दिइरहेको छ ।

भूकम्पपछि सोही वडाको ढाकरेबोटमा स्वास्थ्य चौकीका लागि नवनिर्मित भवन निर्माण व्यवसायीले समयमै हस्तान्तरण गर्न नसकेपछि टहराबाटै स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता रहेको चिलंखा स्वास्थ्य चौकी इन्चार्ज प्रमोद नगरकोटीले जानकारी दिए । निर्माण व्यवसायीले दशैंको समयमा हस्तान्तरण गर्ने सम्झौता थियो तर अहिलेसम्म हस्तान्तरण गरेका छैनन् ।

जसका कारण सुत्केरी गराउन, क्षयरोगको बिरामीलाई औषधी वितरण, खोप कार्यक्रम, परिवार नियोजन र दैनिक चेक जाँचमा समस्या भोग्दै आएको इन्चार्ज नगरकोटीले बताए । यही आर्थिक वर्ष साउनदेखि हालसम्म ९ जनालाई सुत्केरी गराइएको इन्चार्ज नगरकोटीले भनाइ छ ।

स्वास्थ्य चौकीको संरचनामा निर्माण भएको भवनमा सर्न नसकेकै कारण दुई कोठे घर भाडामा लिएर वर्थिङ सेन्टर संचालन गर्नुपर्ने बाध्यता छ । रातिको समयमा वर्थिङ सेवा लिन आउनेले समयमा स्टाफ भेट्न पनि गाह्रो भइरहेको छ । दुई कोठे भवनमा वर्थिङ स्टाफ बस्ने व्यवस्था नहुँदा घर—घरमा बोलाउन जानुपर्ने बाध्यता सेवाग्राहीले भोग्दै आएका छन् ।

टहरोको संचालित स्वास्थ्य चौकी

स्वास्थ्य चौकीको लागि दुई कोठे भवन भाडामा लिएबापत गाउँपालिकाले मासिक तीन हजार भाडा तिर्दै आएको छ । यस स्वास्थ्य चौकीले अहिले पनि दैनिक १५ जनाभन्दा बढीलाई स्वास्थ्य सेवा प्रवाह गर्दै आएका छन् ।

दशैंअघि नै भवन निर्माण कार्य सम्पन्न भएकाले निर्माण व्यवसायीलाई हस्तान्तरणको लागि आग्रह गर्दै आएको वडा नं. ५ का वडाअध्यक्ष कर्म (काले) शेर्पाले बताए । निर्माण व्यवसायीलाई हस्तान्तरण गर्नको लागि पटक—पटक आग्रह गर्दापनि नयाँ ट्रान्समिटरलाइन जडान गरेपछि मात्र हस्तान्तरण गर्ने निर्माण व्यवसायीले जानकारी दिएको वडाअध्यक्ष शेर्पाले उल्लेख गरे । यो वडा मात्र नभएर अन्य वडाका भवन पनि निर्माण व्यवसायीले समयमा हस्तान्तरण गरेको वडाअध्यक्ष शेर्पाले बताए ।

स्वास्थ्य चौकी निर्माण कार्य सम्पन्न भएको महिनौ भइसकेको तर निर्माण व्यवसायीले कामदारको ज्याला नदिएको गुनासो पालिकामा आएको हुँदा समयमा नवनिर्मित भवनमा सर्न नसकेको विगु गाउँपालिकाको उपाध्यक्ष देविका थामीले बताए । दुवै पक्षलाई राखी वास्ताविकता बुझेर भवन हस्तान्तरण चाँडै नै गर्ने उपाध्यक्ष थामीले बताए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ