२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशमुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमप्रति नागरिक आकर्षित

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमप्रति नागरिक आकर्षित


चरिकोट—निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाउने भएपछि नागरिकहरु दैनिक अस्पताल पुग्ने गर्छन् । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा अहिले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम चलिरहेको छ ।

हप्तामा दुई बार मात्र यो सेवा दिने भएकाले बिहान सबेरैदेखि टिकट लिन लाइन बसेका हुन्छन् । यो कार्यक्रमअन्तर्गत प्रत्येक बुधबार र बिहीबार २०/२० जना मात्र स्वास्थ्य परीक्षण गरिन्छ । हप्तामा ४० जनालार्ई मात्र कोटा भएतापनि एकैदिन ४० जनासम्म पुग्ने गरेको छ ।

३० वर्ष उमेर माथिका नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिने भएकाले गाउँ–गाउँबाट समेत आउने गरेका पशुपति चौलागाई स्मृति अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत नारायण प्रधानले बताए । सिमित कोटा र धेरै नागरिकको चाहना भएकाले धान्न गाह्रो भएको अध्यक्ष प्रधानले बताए ।

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत औषधि खाइरहेका र दीर्घ रोगका बिरामीको स्वास्थ्य परीक्षण गरिदैन् । निरोगी मान्छेलाई रोग लाग्न नदिने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ । साथै, नसर्ने रोगको पहिचानको लागि परीक्षण, निदान परामर्श र उपचार सम्बन्धी निःशुल्क स्वास्थ्य कार्यक्रम रहेको छ ।

हाल यस अस्पतालमा उपलब्ध सेवाहरु रगत, दिसा, पिसाब जाँच, मुटुको इसीजी, छातीको एक्सरे, कलेजोको एलएफटी, मिर्गौलाको आरएफटी, लिपिड प्रोफाइलका साथै सुगर, ब्लडप्रेसरलगायतका जाँच गर्दै आएको स्वास्थ्यकर्मी दिनेश जिम्बाले जानकारी दिए । महिलाको लागि भीआईए परीक्षणसमेत निःशुल्क गरिदैं आइएको छ ।

अस्पतालले पाएको ९ सय ३५ जनाको कोटामा अहिलेसम्म ६ सय ३० जनाले स्वास्थ्य सेवा पाइसकेका छन् । सेवा लिनेमा हालसम्म ४ सय ४३ पुरुष र १ सय ८७ जना महिला छन् । यसमध्येमा पनि ३० देखि ४० वर्ष उमेर समूहका २ सय ३६ जना छन् । ७० देखि ८५ वर्ष उमेर समूहका २० जना मात्र छन् । गत वर्ष यस अस्पतालले ७ सय जनाको मात्र कोटा पाएको थियो ।

यस अभियानलाई लम्ब्याउन सकेमा विपन्न र विकट गाउँका नागरिकलाई समेत सेवा दिन पाइने आशा अस्पतालले राखेको छ । अहिलेसम्म सेवा लिनेमा भीमेश्वर नगरपालिकाभित्रकै नागरिकको सहज पहुँच पुग्ने भएकाले सेवा लिनेमा यहीका बढी छन् । सुगर र ब्लडप्रेसर जाँच गर्न आउनेको संख्या बढी रहेका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ