२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशबागमतीका स्वास्थ्यमन्त्रीको पहिलो निर्णयः आत्महत्या न्यूनीकरणमा जनचेतना फैलाउने

बागमतीका स्वास्थ्यमन्त्रीको पहिलो निर्णयः आत्महत्या न्यूनीकरणमा जनचेतना फैलाउने


हेटौंडा– बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सर्वपक्षीय आत्महत्या न्यूनीकरण सम्बन्धी संयन्त्र बनाएर व्यापक जनचेतना फैलाउने निर्णय गरेका छन् । मंगलबार सपथ ग्रहणपछि हेटौंडास्थित स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै मन्त्री श्रेष्ठले बागमती प्रदेशमा रहेका १३ वटै प्रादेशिक अस्पतालहरू र आयुर्वेद चिकित्सालयहरूमार्फत मानसिक रोगको निदान एवं उपचार सेवा प्रदान गर्ने निर्णय गरेको मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले जानकारी दिए ।

साथै उनले स्थानीय तहको साझेदारीमा समुदायस्तरमा मानसिक स्वास्थ्यको स्क्रिनिङ र निदान एवं मनोसामाजिक परामर्शलाई सुदृढीकरण गर्ने निर्णय गरेका छन् । मन्त्री श्रेष्ठले प्रदेश स्वास्थ्य नीति, २०८० को मस्यौदाको स्वीकृत गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजानुपूर्व आर्थिक मामिला तथा योजना मन्त्रालयमा रायका लागि पठाउने निर्णय गरेका छन् ।

सोमबार नै प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्री श्रेष्ठ पदभारका लागि मन्त्रालयमा पुगेका थिए । मन्त्रालयमा उनलाई सचिव खड्कासहित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र डिन, स्वास्थ्य निर्देशनालयका निर्देशक दिपकप्रसाद तिवारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक वसन्त अधिकारी लगायतले स्वागत गरेका थिए ।

श्रेष्ठ दोस्रो कार्यकालका लागि स्वास्थ्य मन्त्री भएका हुन् । पहिलो कार्यकालमा तत्कालीन गठबन्धन भत्किएसँगै उनले करिब २ महिनामै उनी मन्त्रीबाट बाहिरिएका थिए । स्वास्थ्य तथा औषधिका क्षेत्रमा लामो समय काम गरेका मन्त्री श्रेष्ठ विषय विज्ञ मन्त्रीका रुपमा चिनिन्छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ