भरतपुर—चितवनबाट एक जना चिकित्सक १७ थान मोबाइलसहित पक्राउ परेका छन् । १५ जेठमा चितवन प्रहरीले भरतपुर–१० चित्रसेन टोलस्थित डेराबाट डा. पप्पुकुमार यादवलाई अवैध क्रिप्टोकरेन्सी कारोबार तथा डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी चन्द्र भुषन यादवले जानकारी दिए ।
२९ वर्षीय डा. यादवलाई १७ थान मोबाइलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । धनुषाको हंसपुर नगरपालिका–४ स्थायी घर भएका डा. यादव चितवन मेडिकल कलेजमा मेडिकल अफिसरका रूपमा कार्यरत थिए ।
प्रहरीले गोप्य सूचनाका आधारमा अगाडि बढाएको अनुसन्धानमा डा. यादवले गैरकानुनी रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार सञ्चालन गरिरहेको तथ्य फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक यादवका अनुसार प्रारम्भिक अनुसन्धानमा डा. यादवले क्रिप्टोकरेन्सी कारोबारसँग सम्बन्धित गतिविधि सञ्चालन गरेको देखिएको छ। ‘उहाँको क्रिप्टोकरेन्सीको खातामा झण्डै ३० हजार अमेरिकी डलर देखिएको छ,’ सूचना अधिकारी यादवले भने, ‘थप अनुसन्धान जारी छ ।’