२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मेची अस्पतालका चिकित्सकमाथि हातपात, कारवाहीको माग राख्दै चिकित्सक आन्दोलनमा

मेची अस्पतालका चिकित्सकमाथि हातपात, कारवाहीको माग राख्दै चिकित्सक आन्दोलनमा


विराटनगर –  झापाको भद्रपुरस्थित मेची अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात गर्नेलाई कारबाहीको माग राख्दै चिकित्सकहरु आन्दोलित भएका छन् । डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेको भन्दै चिकित्सकहरूले मेची अस्पताल भद्रपुर सोमबार बिहानदेखि सम्पूर्ण सेवा ठप्प पारेर आन्दोलित भएका हुन् ।

हल्दीबारीका पुष्पराज निरौला र आकस्मिक कक्षमा कार्यरत डा. केवल कपुरीबीच उपचारकै विषयमा विवाद हुँदा हात हालाहाल भएको थियो । श्रीमती कञ्चनलाई उपचारका लागि आइतबार बेलुका मेची अस्पतालको आकस्मिक कक्षमा लागेको ४५ मिनेट पछि मात्र चिकित्सक कपुरी आएका बिरामीको आफन्तको भनाई छ ।

त्यही विषयलाई लिएर डा. कपुरीसँग केही भनाभनकै क्रममा बिरामीका आफन्त निरौलाले अपशब्द प्रयोग गर्दै हातपात गरेको बुझिएको छ ।
घटनाको विषयलाई लिएर अस्पतालमा मेडिकल अधिकृतहरूसँग सोमबार बिहान छलफल गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा टंकप्रसाद बाह्रकोटीले बताए ।

मेडिकल अधिकृतहरू विरोधमा उत्रिएपछि अस्पतालको सबै सेवा ठप्प भएको उनको भनाइ छ । दोषीलाई कारबाही नभएसम्म सेवा नदिने अडान रहेको उनले बताए ।

घटनाको विषयलाइ लिएर चिकित्सकले डाक्टरलाई हातपात गर्नेलाई कारवाहीको माग राख्दै विज्ञप्तिसमेत जारी गरेका छन् । शान्तिपूर्ण रुपमा अस्पतालमा विरोध जनाउँदै दोषीलाई कानुनी कारबाही नभएसम्म विरोध जारी रहने विज्ञप्तिमा उल्लेख छ ।

छलफलपछि डा. कपुरीलगायत केही मेडिकल अधिकृतहरू जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिन गएको बुझिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ