२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा जनशक्तिको अभाव, पहुँचवालाको दबाबमा काम गर्नुपरेको स्वास्थ्यकर्मीको गुनासो

कोशीमा जनशक्तिको अभाव, पहुँचवालाको दबाबमा काम गर्नुपरेको स्वास्थ्यकर्मीको गुनासो


विराटनगर–पूर्वी नेपालको सबैभन्दा ठूलो सरकार अस्पताल भएकोले विराटनगरमा रहेको कोशी अस्पतालमा प्रदेश १ बाहेक मधेश प्रदेश र भारतसम्मका बिरामी आउने गरेका छन् । गुणस्तरीय उपकरण र सस्तो शुल्कमा दक्ष जनशक्तिबाट उपचार हुने भएकाले यो अस्पताल नागरिकको पहिलो रोजाइमा पर्छ ।

तर, नागरिकले अपेक्षित स्वास्थ्य सेवा प्राप्त गर्न भने कठिन बन्दै गएको छ । त्यसको एउटा कारण हो– आवश्यकताअनुसार दक्ष जनशक्तिको अभाव । कोशी अस्पतालका विभागीय प्रमुखहरूले दक्ष जनशक्तिको अभावमा अस्पतालको सेवा प्रवाह प्रभावकारी रूपमा गर्न नसकेको बताएका छन् ।

अस्पतालमा ओपिडी सेवा लिन दैनिक १५ सयभन्दा बढी बिरामी आउने गरेका छन् । बिरामीको चाप भएका कारण एक जना डाक्टरले ८० जनासम्म बिरामी हेर्नु परेको विभागीय प्रमुख चिकित्सकहरुले बताएका छन् । अस्पतालमा जनशक्ति भएपनि दक्ष जनशक्तिको अभावका कारण अस्पतालको सेवा प्रवाहमा समस्या भएको कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. रोशन खड्काले बताए ।

उनले अस्पतालमा फेरिरहने मेसु र अस्पताल विकास समितिका बीचमा समन्वय नहुँदा समेत अस्पतालमा समस्या भएको बताए । कोशी अस्पताल विकास समितिको ४ महिनादेखि बैठक बस्न सकेको छैन । आन्तरिक विवादका कारण बैठक बस्न नसक्दा चिकित्सक, कर्मचारीहरूले समस्या झेल्दै आएका छन् । यस विषयमा सरोकारवालाहरू मौन रहेको डा. खड्काले बताए ।

प्रदेश १ संवाद समूहको आयोजनामा भएको कोशी अस्पतालको प्रभावकारी सेवा प्रवाहमा पत्रकारको भूमिका विषयक संवादमा सहभागी अस्पतालका विभागीय प्रमुखहरूले अस्पतालमा असुरक्षा भएको बताए । अस्पतालमा राखिएका सुरक्षा गार्डहरूले प्रभावकारी रूपमा काम नगर्दा आफूहरु सधैं असुरक्षित भएर काम गर्नु परेको बताए ।

‘सुरक्षा गार्ड राखिएको छ । अप्ठ्यारो परेको बेला कोही पनि सुरक्षा गार्ड हुँदैनन् । सुरक्षा गार्ड नहुँदा डाक्टरले कुटाइ खानु परिरहेको छ,’ डा. खड्काले भने । अस्पतालको इमर्जेन्सी विभागमा काम गर्ने डाक्टरमाथि केही दिन अघि कार्यकक्ष मै हातपात र कुटपिट भएको थियो ।

अस्पतालका वरिष्ठ नर्सिङ प्रशासक मञ्जु यादवले अस्पतालमा स्टाफ नर्सको चरम अभाव भएको बताइन् । ‘अस्पतालमा रहेका नर्सहरू २४ सै घण्टा खटिनु पर्छ,’ उनले भनिन्, ‘एक जना नर्सले १२ जनासम्म अप्रेसन गरेका बिरामीको हेरचाह गर्नुपर्छ । एउटा नर्सले कति जना बिरामीको केयर गर्नु पर्ने हो ?’ उनले कोशी अस्पतालमा नर्सहरूले मापदण्ड अनुसार काम गर्छौ भन्दा धर नपाइएको गुनासो पोखिन् ।

यादवले ३५० शैय्याको अस्पतालमा स्वीकृत जनशक्ति नभएकाले काम गर्न समस्या भएको बताइन् । उनले जोखिम मोलेर काम गरेको भएपनि जोखिम भत्ता नपाएको गुनासो गरिन् ।

पहुँचवालाको दबाब

कोशी अस्पताल प्रसूति विभाग प्रमुख डा. अन्जु देवले प्रसूतिको बेड संख्या घटाएका कारण प्रसूति भएकाहरूलाई भुइमा राखेर उपचार गरिरहनु परेको बताइन् । ‘पहिला १ सय बेड क्षमता थियो । नयाँ भवन बनेपछि ७५ बेडमा झारियो,’ उनले भनिन्, ‘प्रसूतिको चाप बढेका कारण काम गर्ने समस्या भएको छ ।’

राजनीतिक दलका नेता र पहुँचवालाहरूले प्रसूति गराउन दबाब आउने गरेको अनुभव उनले सुनाइन् । ‘भर्ना गरौं बेड छैन, नगरौं दबाब छ,’ उनले भनिन्, ‘प्रसूति विभागमा आवश्यक डाक्टर भएपनि स्टाफ नर्सको अभाव छ ।’

उनले आफूहरुले काम गर्छौ भन्दा पनि काम गर्ने वातावरण नभएको बताइन् । ‘हामीले दबाबका बीचमा गरेको कामको समेत मुल्यांकन नहुँदा मनोबल गिरेको छ,’ उनले भनिन् ।

कोशी अस्पतालका डेन्टल विभागका प्रमुख डा. सुधीर श्रेष्ठले आफू मातहतको विभागमा ठाउँको अभाव भएको बताए । ‘डेन्टलकै विभिन्न विभाग र विशेषज्ञ डाक्टरहरू हुन्छन् । तर, जनशक्तिले समेत काम गर्न सकेका छैनन्,’ उनले भने, ‘भौतिक पूर्वाधार प्रयाप्त भए बिरामीलाई सहज रुपमा गुणस्तरीय सेवा दिनेछौं ।’

अस्पतालका अर्थोडिक वार्डका इन्चार्ज लजिता योन्जनले अस्पतालको संरचनाका कारण फोहोर व्यवस्थापनमा समस्या परेको बताइन् । ‘जनशक्ति अभाव हुँदाहुँदै पनि काम गरिरहेका छौं । तर, पूरानो संरचनाका कारण हामीलाई काम गर्न समस्या छ,’ उनले भनिन्, ‘अस्पतालको सबै भन्दा संवेदनशील वार्डमा शौचालयको फोहोर आउने गरेको छ ।’

अस्पतालका इमर्जेन्सी विभागका प्रमुख गजेन्द्र यादवले अस्पतालमा फोहोर व्यवस्थापनमा समस्या भएको बताए । उनले ड्रनेज सिस्टम राम्रो नहुँदा फोहोर व्यवस्थापन चुनौती बनेको बताए । ‘अस्पतालमा देखिने भनेको सरसफाइ हो । ड्रेनेज सिस्टम नै राम्रो नहुँदा कोशी अस्पतालमा फोहोर भएको छ,’ उनले भने ।

अस्पताल प्रशासनले भने अस्पतालको समस्या समाधान गर्न प्रयासरत भएको बताएको छ । संवादमा सहभागी कर्मचारी प्रशासनका प्रमुख नवराज लुइटेलले ११२५ जनाको दरबन्दी स्वीकृतका लागि पठाएको र सो दरबन्दी स्वीकृत भएर आए अस्पतालमा देखिएको जनशक्ति अभावको समस्या समाधान हुने बताए । ‘हामीले पठाएको फायल स्वास्थ्य मन्त्रालयबाट अर्थमा गएर अड्किएको छ, ‘उनले भने, ‘अर्थ मन्त्रालयलाई फाइल स्वीकृत गर्न दबाब दिन पत्रकारहरूले लेखी दिनुप¥यो । कोशी अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन पत्रकारको सहयोग आवश्यक छ ।’

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा लक्ष्मीनारायण यादवले अस्पतालमा भएको समस्या समाधान गरी सेवा प्रवाह गर्न लागि परेको बताए । अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले सरकारका कारण नै अस्पताल विकास समिति र अस्पताल प्रशासनका बीचमा विवादले भएको बताए । उनले अस्पतालमा ७ अर्बको लगानीमा भवनहरू बनिरहेकाले भौतिक पूर्वाधारको समस्या हट्ने बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ