२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नवजात शिशु बिक्री प्रकरणः उच्च अदालतद्वारा डा. कर्णलाई १ लाख धरौटीमा छाड्न आदेश

नवजात शिशु बिक्री प्रकरणः उच्च अदालतद्वारा डा. कर्णलाई १ लाख धरौटीमा छाड्न आदेश


विराटनगर—नवजात शिशु बिक्री गरेको कसुरमा पक्राउ डा. तपेश्वरलाल कर्णसहित दुई जनालाई उच्च अदालत विराटनगरले धरौटीमा रिहा भएका छन् । बिहीबारउच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र न्यायाधीश सृधरा कुमारी पुडासैनीको संयुक्त इजालसले डा. कर्ण र सूर्यनारायण राजवंशीलाई जनही १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।

गत असोज २४ मा मोरङ अदालतले डा. कर्णसहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो । मोरङ जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले ६८ वर्षीय डा. कर्णसहित कटहरी गाउँपालिका–४ का सूर्यनारयण राजवंशी र भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई धरौटी नछाडेर पुर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको थियो ।

नवजात शिशु बेपत्ता पारेको कसुरमा ६ जनाविरुद्ध मुद्दा दायर भएको थियो । ६ जनामध्ये पाँच लाखमा शिशु बिक्री गरेको खुलेको डा. कर्ण, खरिद गर्ने राजवंशी र नवजात शिशुका बाबु राईसहित तीन जना पुर्पक्षको लागि थुनामा गएका थिए भने सहयोगी तीन जना धरौटीमा रिहा भएका थिए ।

त्यसबेला मोरङ कटहरी–२ आदर्शटोलकी ३३ वर्षीया सुधा भन्ने सुक्री राजवंशी २ लाख रुपैयाँ, सिराहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव १ लाख रुपैयाँ र ४७ वर्षीया दिलमनीदेवी राजवंशी १० हजार रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएका थिए । पुर्पक्षमा रहेका डा. कर्ण र राजवंशीले जिल्लाको आदेश बदरको माग राख्दैं उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालयले डा. कर्णसहित ६ जना प्रतिवादीहरुविरुद्ध अपहरण तथा व्यक्ति वेपत्ता, एकीकृत कसुर सम्बन्धी मुद्दा दायर भएको थियो ।

भोजपुर हतुवागढी–४ का २७ वर्षीय गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीयाको सम्बन्धबाट १४ असारमा शिशु जन्मिएको थियो ।

विराटनगरको ग्रीनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा. कर्णले मोरङको कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पत्तिलाई ५ लाख रुपैयाँमा बिक्री गरेको खुलेको थियो । प्रहरीले उनीसहित अपराधमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । डा. कर्णले उक्त बच्चाको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएको पुष्टि भएको छ ।

डा. कर्णको क्लिनिक ग्रीनक्रस अस्पताल नजिक छ । आफ्नो क्लिनिकमा आएकी गर्भवती युवतीलाई ग्रीनक्रसमा सुत्केरी गराएर अस्पतालकी सफाइ कर्मचारी सुधा राजवंशी र क्लिनिककी सहयोगी नर्स निर्मला यादवमार्फत डा. कर्णले कटहरी–२ की दिलमाया राजवंशी र उनका छोरा सूर्यनारायणलाई उक्त शिशु ५ लाख रुपैयाँमा बिक्री गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ ।

त्यसअघि डा. कर्णले ती अविवाहित जोडीबाट शिशुको व्यवस्थापन गर्ने जिम्मा लिँदै ३५ हजार रुपैयाँ लिएको पनि अनुसन्धानबाट खुलेको छ । प्रहरीले यस घटनामा ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये ग्रिनक्रस हस्पिटलका संचालक कृष्ण खवासलाई मुद्दा नचलाउने निर्णय गरेको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ