२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टभारत जाँदा केटा, घर फर्किदा केटी

भारत जाँदा केटा, घर फर्किदा केटी


पदमराज भट्ट

कञ्चनपुर—पश्चिम नेपालका अधिकांशको रोजगारीको गन्तव्य छिमेकी मुलुक भारत हो । दशक यता तेस्रो मुलुकतिर छिट्टफुट्ट रोजगारीका लागि जाने गरेपनि अहिले पनि धेरैका लागि पहिलो गन्तब्य भारत नै हो ।

भारतमा रहँदा सोचेजस्तै भाग्यमा पैसा मात्रै हात लाग्दैन्, कोही रोग त कोही अंगभंग भएर स्वदेश फर्कन्छन् । तर, यो घटना अझ त्यसभन्दा पृथक र कारुणिक छ । जो कसैले कल्पनै गर्न नसकिने । भारतमा क्रुर नियतिलाई सामना गर्न बाध्य कञ्चनपुरका एक युवक, युवती बनेर फर्कन विवश भएका छन् ।

दुई चार पैसाकै जोहो गर्नका लागि चार वर्षअघि भारत गएका कञ्चनपुर कृष्णपुर नगरपालिकाका दिनेश माल (नाम परिर्वतन) अथाहा पीडाको भारी बोकेर फर्किएका छन् । भारतमा रहँदा सम्पर्कका आएको तेस्रो लिङ्गीको एक गिरोह २३ वर्षीय मालको लिङ्ग नै काटिदियो । ०७२ सालमा कक्षा १२ को परीक्षा दिएर खाली समयमा पढाइ खर्चको जोहो गर्न माल भारत पसेका थिए ।

त्यही उनी तेस्रो लिङ्गी समूहको गम्भीर आक्रमणको सिकार भए । उक्त गिरोहले मालको लिङ्ग मात्रै काटिदिएनन्, उनलाई महिला बनाएर कमाउने धन्दामा समेत प्रयोग ग¥यो । दिल्लीभन्दा झण्डै ५० किलोमिटर ढाटाको मेरिट भन्ने सहरका नईम खानको गिरोहले आफूलाई यस्तो काममा प्रयोग गरेको उनले बताए ।

आफ्नो अवस्था फेरिएपछि मानसिक तनावका कारण उनी केही समय घर फर्किन सकेनन् । तर, भारतमा एकपछि अर्को हन्डर ब्यहोर्नुपरेपछि बाध्य भएर ०७६ बैशाखमा नेपाल आए । पुरुष भेषमा भारत पसेको युवक महिला भेषमा गाउँ फर्किदा कसलाई पत्यार लागोस् । सुरुमा न उनका परिवारले पत्याए, न त गाउँलेहरुले नै । तर, पछि उनको निधारको घाउ र स्वरबाट उनलाई घर परिवारले दिनेश नै भएको पहिचान गरे ।

उनी आफै मानसिक तनावमा त छन् नै घरपरिवारका सदस्यहरु पनि तनावमा परेका छन् । कतिपय केटाहरु उनलाई केटी भनेर जिक्याउन थालेपछि उनी पुनः भारत पस्न बाध्य भए । जसले उनको लिङ्ग काटेर तेस्रो लिङ्गी बनादिए, रिजमान खानका छोरा सुहिल खानले उनलाई केटी नै सम्झेर प्रेम गर्न थाले । ८ असारमा भारतबाट सुहिल खानसँगै नेपाल उनी दोस्रो पटक नेपाल आए ।

मालको सिगैं शरीरको हाउभाव परिर्वतन भएको छ । माल अहिले युवकभन्दा पनि युवतीजस्तै भएका छन् । मालका बाबुले छोराको भविष्य नै डामाडोल पारिदिएको दुःखेसो पोखे । ‘छोरालाई छोरीजस्तै बनाइदिएको भएपनि हुन्थ्यो, यसलाई त न छोरा न छोरी बनाइदियो,’ उनले भने, ‘कसरी के गर्ने हो, आमाको आँखाबाट आँशु रोकिएको छैन्, यसको भविष्य पुर्नजागृत कसरी गराउने हो ?’ दिनेशसँगै पढ्ने र खेल्ने साथीभाइ पनि उनको अवस्था देखेर अचम्मित छन् । उनका साथी एकजना साथीले उनको यस्तो अवस्था देखेर निकै पीडा भएको सुनाए । ‘हामीसँगै खेल्थ्यौं,’ ‘उनले सम्झिए, ‘आजभोलि यसको यस्तो हविगत भयो ।’

मालको यो अवस्थापछि घरपरिवार, आफन्त र गाउँलेले उनीमाथि अन्याय भएको भन्दै न्यायका लागि इलाका प्रहरी कार्यालय झलारीमा निवदेन दिए । अंगभंग तथा बेचबिखन गरेको भन्दै मालको परिवारले खानलाई कार्बाहीको माग गरेपछि माललाई जबरजस्ती केटाबाट केटी बनाएको रहस्य खुलेको हो । खानलाई ल्याउन आएका दुई जनासहित तीन जना भारतीय नागरिक अहिले इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा छन् ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी इन्चार्ज प्रहरी निरीक्षक रमेश अवस्थीले नेपाली युवकलाई छलकपट गरेर लिङ्ग काटेको र लिङ्ग काट्ने उपर कार्बाही र क्षतिपूर्तिको माग पीडित परिवारले राखेको बताए । अवस्थीले घटनाका विषयमा कानुनी प्रक्रिया सरकारी वकिल कार्यालयसँग छलफल भैरहेको बताए । माल परिवारले छोराको भविष्य बिगार्नेलाई कार्बाहीका लागि मुद्धाको तयारी थालेका छन् । मुलुकी अपराध संहिता, २०७४ को दफा ५२ अनुसार अंगभंग गरेमा वा पुरुषलाई पुरुषत्वहीन गरेमा १० वर्ष कैद र एक लाख जरिवानाको व्यवस्था छ । यो घटना कञ्चनपुरका लागि नयाँ र पहिलो घटना हो ।

मलाई यसरी बनाइयो दिनेशबाट प्रिया

म १२ को परीक्षा दिएर खाली समयमा केही रकम कमाउन साथीभाईसँगै दिल्ली गए । मसँगै गएका चारै जना नोकरी लागे । म कपडा पसलमा काम गर्थे । त्यतिबेला मसँग एक नेपाली दाई भेटिए । उनले यो नोकरीभन्दा राम्रो नौकरी दिलाउँछु भनें । म राम्रो नोकरी लगाइदिने भनेपछि उनीसँगै गए । उनले एउटा राम्रो घरमा लगे । त्यही घरमा मैले काम गर्न थाले । मासिक ९ हजार रुपैयाँ पाउथे । काम केही पनि थिएन्, खाली घरमै बस्नुपथ्र्यो । मैले त्यतिबेला केही थाहा पाइन् । अहिले लाग्दैंछ उनीहरु मेरो लिङ्ग काट्ने र हिजडा बनाउने योजना बनाएकैले सायद मलाई राम्रो ब्यवहार गर्दथे ।

कहिलेकाही त्यहाँ बस्दा म देख्थे, राति राति तेस्रो लिङ्गी निर्वस्त्र भएर नाच्थे । बिस्तारै उनीहरु मलाई पनि आफूजस्तै बन्न दबाब दिन थाले । तर, मैले इन्कार गरे । म, त्यो ठाँउबाट फुपाजु धनी बोहरालाई फोन गरेर बाबु कहाँ हरिद्वार भागे । म भागेको उनीहरुले थाहा पाए । ६ महिनापछि उनीहरुले म बसेकै ठाउँमा पुगे । त्यतिबेला म कम्प्युटर सिक्थे, त्यही आएर कारमा लगेर गए । उनीहरुले कता—कता लगेर राखे । यातना दिए ।

वकिल कार्यालयमा लगे । त्यहाँ लगेर मलाई ‘एस वा नो’ मात्रै भन्न दिए । मलाई सुई लगाए, त्यो बेहोसको सुई रहेछ । मलाई पाँच दिनपछि होस आयो । रोए, कराए, केही सीप चलेन् । लिङ्ग काटेर उनीहरुले मेरो सर्जरी गरिदिए । मान्छेहरु कति निष्ठुर हुँदा रहेछन् । समय बित्दै गयो, उनीहरुले मलाई डान्स गर्न सिकाए, माग्न सिकाए । कति समय त मागे पनि । त्यो काम धेरै समयसम्म गरिरहन सकिनँ । सर्जरी गरिएपछि पुरुषको जस्तै दारी, जुँगा आएका छैनन्, महिलाकै जस्तै व्यवहार र स्तन बढेको छ ।

कतिपय ठाँउमा नेपाली पनि भेटिन्थे । तर, लाजले हिन्दी नै बोल्थे । त्यो एउटा नारकीय बाध्यता थियो मेरा लागि । युवाबाट युवती बनाइदिएपछि उनीहरुले नै मेरो नाम राखे— प्रिया । जसले पनि गोरो भएकाले मन पराउथे, त्यही भएर दलालको छोराले मलाई मन पराएर बिहे गर्न प्रस्ताव राख्यो । अहिले त मलाई केटी नै बन्न राम्रो लाग्छ । केटीहरु जे—जे लगाउँछन्, मलाई पनि त्यही पहिरिन मन पर्छ । जिन्दगी नै बर्बाद पारिदिए । भाग्यलाई के दोष दिऊँ ।

के असर हुन सक्छ, विज्ञ यसाे भन्छन्
यसका पार्न सक्ने मानसिक असरका बारेमा हेल्थआवाज डटकमले मानसिक रोग विशेषज्ञ डा. सुमन अर्यालसँग जिज्ञाशा राख्दा उनले जबरजस्ती गरिएका यस्ता क्रियाकलापले मानसिक रुपमा बढी तनाव हुने बताए । ‘यो एउटा ठूलो घटना हो, जसले डिप्रेसनमा जाने, एक्कासी भएका यस्ता घटनाले मानसिक स्वास्थ्यमा पनि असर पार्ने सम्भावना हुन्छ,’ उनले भने, ‘केही महिना वा केही वर्षसम्म पनि यो घटनाले झस्किरहने, मनोत्रास बढिरहने, चिन्ताको भावना आउने हुन्छ ।’

साथै, आनीबानीमा पनि परिवर्तन हुन सक्ने उनले बताए । उनले थपे, ‘चिठचिडाहट आउने, एक्लोपन महसुस गर्ने, अरुसँग टाढिन खोज्ने सम्भावना रहन्छन।’


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ