२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टचिकित्सकको परामर्श शुल्क बढ्दैं, को सँग जचाउँदा कति पैसा तिर्नुपर्नेछ ?

चिकित्सकको परामर्श शुल्क बढ्दैं, को सँग जचाउँदा कति पैसा तिर्नुपर्नेछ ?


काठमाडौं–सरकारले ५ वर्षपछि चिकित्सकहरुको परामर्श शुल्क पुनरावलोकन गर्ने तयारी गरेको छ । सरकारलाई शुल्क पुनरावलोकनको सिफारिस गर्नका लागि बिहिवार स्वास्थ्य मन्त्रालयमा बसेको शुल्क पुनारावलोकन सिफारिस कार्यदलको पहिलो बैठक बसेको थियो ।

सिफारिस कार्यदलको सो बैठकले परामर्श शुल्क परिमार्जनको लागि सिफारिस गर्ने निर्णय गरेको छ । बैठकमा शुल्क पुनरावलोकनका लागि दुई प्रस्ताव पेश गरिएको थियो । पहिलो प्रस्ताव अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै नेपालमा पनि शुल्क तोकिनुपर्ने थियो भने दोस्रो प्रस्ताव नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष निकाल्ने उपभोक्ता मुद्रास्फीति दरलाई आधार मान्ने थियो । बैठकमा सहभागी अधिकांशले पहिलो प्रस्ताव नेपालका लागि सुहाउँदो नभएको तर्क पेश गरेका थिए भने दोस्रो प्रस्तावमा अगाडि बढ्नुपर्ने राय पेश भएको थियो ।

दुई प्रस्तावमध्ये मुद्रास्फीतिसँग आधारित प्रस्ताव मनासिव देखिएको सिफारिस समितिका संयोजक समेत रहेका नीति योजना महाशाखाका प्रमुख डा. विकास देवकोटाले बताए । ‘हाम्रो सन्दर्भमा पहिलोभन्दा दोस्रो व्यवहारिक र वैज्ञानिक देखियो,’ डा. देवकोटाले हेल्थ आवाजसँग भने ‘अधिकांशको सहमति त्यसैमा रह्यो ।’ बैठकमा शुल्क परिमार्जनसँगैं सेवाको गुणस्तर बढाउनुपर्ने विषयमा पनि छलफल भएको उनले बताए ।

पहिलो पटक तत्कालीन स्वास्थ्यमन्त्री डा. उपेन्द्र देवकोटाले चिकित्सकको शुल्क निर्धारणका लागि मन्त्रिपरिषद्बाट पास गराएका थिए । तर, सो निर्णय कार्यान्वयन नभै थन्किएको थियो । २०७१ सालमा खगराज अधिकारी स्वास्थ्यमन्त्री भएपछि सो निर्णयलाई आधार मान्दैं स्वास्थ्य मन्त्रालयस्तरीय निर्णय गराई चिकित्सकहरुले लिने परामर्श शुल्क तोकिएको थियो । शुल्क तोक्ने निर्णयसँगै प्रत्येक २÷२ वर्षमा परामर्श शुल्क पुनरावलोकन गर्ने पनि उल्लेख थियो ।

त्यसबीचमा पुनरावलोकन हुन सकेको थिएन । ‘शुल्क तोकेको ५ वर्ष भएछ, तोकिएको समयदेखि परिमार्जन भएको छैन्,’ डा. देवकोटा भने, ‘सरोकारवालहरुसँग बसेर आज प्रारम्भिक छलफल भएको हो ।’ उक्त सिफारिस स्वास्थ्यमन्त्रीले मन्त्रीस्तरीय निर्णय गरेपछि लागु हुनेछ ।

लामो समयदेखि शुल्क परिमार्जन नहुँदा चिकित्सक मर्कामा परेका थिए । यसबारेमा चिकित्सक सम्बद्ध नेपाल चिकित्सक संघलगायतका सरोकारवाला पक्षले पुनरावलोकनको माग गर्दै आएका थिए । नेपाल चिकित्सक संघले पटक—पटक सरकारसँग पुनरावलोकनको लागि माग गरेको संघका महासचिव डा. लोचन कार्कीले बताए । ‘परामर्श शुल्क नबढ्दा चिकित्सकहरुको मनोभावना खस्किएको छ,’ उनले भने ‘२/२ वर्षमा बढ्नुपर्ने शुल्क ६ वर्ष हुँदा पनि बढेको छैन् ।’

महासंघका कोषाध्यक्ष डा. प्रकाश बुढाथोकीले मुद्रास्फीतिअनुसार शुल्क वृद्धि हुँदा सेवाग्राही र सेवा प्रदायक दुवैलाई मार नपर्ने बताए ।

कुन तहको चिकित्सकसँग जाँच गराउँदा कति तिर्नुपर्ने हुन्छ ?

नेपाल राष्ट्र बैंकको उपभोक्ता मुद्रा स्फितीलाई आधार मानेर परामर्श शुल्क बढ्यो भने ५ वर्षभन्दा कम अनुभव भएको एमबीबीएस उत्तीर्ण चिकित्सकसँग सेवा लिंदा ३ सय ३५ रुपैयाँ तिनुपर्ने हुन्छ । ५ वर्षभन्दा बढी अनुभव भएको सोही तहको चिकित्सकसँग जाँच गराउँदा ३ सय ९० रुपैयाँ शुल्क तिनुपर्ने हुन्छ ।

एमबीबीएस गरेर फेलोसीप गरेको चिकित्सकसँग जाँच गराउँदा ५ सय ३५ रुपैयाँ र ५ वर्षभन्दा कम अनुभव भएको एमडी (विशेषज्ञ) पास गरेका चिकित्सकसँग जाँच गराउँदा ५ सय ९० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्तै, एमडी गरी ५ वर्षभन्दा बढी अनुभव भएको चिकित्सकसँग जाँच गराउँदा ६ सय ३५ रुपैयाँ शुल्क तिनुपर्ने हुन्छ ।


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ