२०८१ मंसीर १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यरोग लिएर फर्कन्छन् महिला कामदार

रोग लिएर फर्कन्छन् महिला कामदार


काठमाडौं – विदेशमा २१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीया एक महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो । आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउने उद्देश्यले मलेसिया पुगेकी उनी स्वदेश फर्कदा पैसा त ल्याइन तर सँगै रोग पनि ल्याइन् । घरेलु कामदारका रूपमा कतारमा काम गर्दा उनी २१ घण्टासम्म काममा खट्नु पर्दथ्याे।

बिहान २ बजेदेखि काम गर्ने र राति पनि १२ बजेसम्म काम गर्नुपर्ने बाध्यता थियो । जानेबेला दलालले भनेको भन्दा धेरै समयसम्म काम गर्नुपर्ने र काम गरेअनुरूपको तलब नपाउँदा उनी देश फर्किइन्। ‘बैंकमा दुईचार पैसा बचत भएर मात्रै के गर्नु र ? अनेक रोगले गर्दा अब काम गर्न नसक्ने भइहालें।’

उनीजस्तै ३५ वर्षीया अर्की महिला पनि विदेशमा रोजगारीका लागि जाँदा शारीरिक समस्या लिएर फर्कनु प-यो । दैनिक २२ घण्टासम्ममा काम गर्दा र आरामको समय नहुँदा उनी रोगी बनेर स्वदेश फर्कनु परेको थियो । घरेलु कामदार उनले दिनमा दुई÷तीन घण्टाबाहेक फुर्सद पाउँदैन थिईन्।  खाना पकाउने, शौचालय सफा गर्ने, बच्चाको स्याहार गर्नेलगायतका काम गर्नुपर्दथ्याे । लामो समयसम्म काम गर्दा ढाड दुख्नेलगायतका समस्या आएपछि नेपाल फर्किइन्।

घरेलु कामदारका रूपमा विदेश जानु धेरै नेपाली महिलाका लागि रहरभन्दा पनि बाध्यता बनेको छ । सरकारले महिलाका लागि खाडीमुलुक जान रोक लगाएको भने पनि जाने क्रम रोकिएको छैन। कतिपय महिलाले अनेक हैरानी सहेर पैसा पनि नकमाइ फर्किएका छन् । कतिपय अत्यधिक कामको चापले विभिन्न रोगले पीडित बनेका छन् ।

अर्की ३७ वर्षीया महिलालाई सुटकेस बोकेर भ¥याङ उक्लने ओलर्ने गर्दा धेरै स्वास्थ्य समस्या आयो । श्रीमानको निधनपछि घरको आर्थिक भार बेहोर्न पर्ने बाध्यता आइलाग्यो र उनी वैदेशिक रोजगारीमा गइन। कुवेत जान हिँडेको मान्छे विमान चढेपछि उहाँले आफू ओमन जान लागेको थाहा पाइन । दलालले उनलाई झुक्याएर कतार भन्दै ओमन पु-याएको थियो । उनी काम गर्ने घरमा  दुई घण्टाभन्दा बढी आराम गर्न पाउदैन थिईन। ‘उतै मर्छु भन्ने लागेको थियो भाग्यले बाँचे,’ उनले भनिन्।

बिरामी हुँदासमेत कामबाट विश्राम र उपचार दुवै पाइनन ।‘चार दिनसम्म बिरामी पर्दा कसैले वास्ता गरेनन,’ उनले भनिन्, ‘नेपाल फर्किएर नाङ्लो पसल खोल्छु भन्ने सोचाइ आयो र अहिले त्यही गरिरहेकी छु ।’
वैदेशिक रोजगारीबाट फर्किएका महिलाका संस्था पौरखीका अध्यक्ष मञ्जु गुरुङ खाडी मुलुकमा घरेलु श्रमिकका रूपमा पुगेका धेरै महिला फर्कँदा रोगी भएर फर्किने गरेको बताउँछिन्। ‘लामो समयसम्म उभिएर काम गर्दा महिलामा पाठेघर खस्ने, छालाको एलर्जी, मिर्गौलाको समस्या देखिएको छ,’ उनले भनिन्, ‘कामको अवधिमा पर्याप्त मात्रामा पानी नपाउने र पौष्टिक आहारा नपाउँदा महिला कामदार कमजोर शरीर लिएर फर्कनुपरेको हो । कतिपय महिला यौन हिंसामा समेत परेका छन्।’

स्वास्थ्य अवस्था कमजोर भएर फर्किएका महिलाको उपचारको सहयोग गरिरहेको उनले बताइन्। नेपालले नीतिगतरूपमा खाडीमा महिला कामदार रोकेको तर छिमेकी देशको बाटो हुँदै महिला कामदार जाने क्रम नरोकिँदा समस्या बढेको उनको अनुभव छ। रासस

TFN


क्याटेगोरी : यौन स्वास्थ्य, विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ