२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टराज्यमन्त्री श्रेष्ठसहितको ५० करोड लगानीमा ‘हेलियस सुपर स्पेस्यालिटी’ बुटिक हस्पिटल आउँदैं

राज्यमन्त्री श्रेष्ठसहितको ५० करोड लगानीमा ‘हेलियस सुपर स्पेस्यालिटी’ बुटिक हस्पिटल आउँदैं

को—को चिकित्सक छन् हेलियसमा ?


काठमाडौं—प्रधानमन्त्री कार्यलयका राज्यमन्त्री तथा चर्चित व्यवसायी उमेश श्रेष्ठसहितको समूहले ललितपुरको जावालाखेलमा ‘हेलियस सुपर स्पेस्यालिटी हस्पिटल’ सञ्चालनमा ल्याउने भएको छ । श्रेष्ठसहित समूहले शालिग्राम होटल रहेकै स्थानमा सुरुमा ५० बेडको बुटिक सुपर स्पेस्यालिटी हस्पिटल हेलियस सञ्चालनमा ल्याउनका लागेको हो ।

हस्पिटलको मुख्य लगानीकर्ता भने शालीग्राम होटलका सञ्चालक मधुकर राणाका छोरा प्रद्युत शमशेर राणा र मन्त्री श्रेष्ठको लिटिल एन्जल्स समूह रहेको छ । सो हस्पिटलमा अधिकांश नाम चलेका चिकित्सकहरुको पनि लगानी हुने सञ्चालकमध्येका एकले हेल्थआवाजलाई जानकारी दिए ।

सुरुवातमा ५० बेडको बुटिक हस्पिटलका रुपमा हेलियस सञ्चालनमा आउने र त्यसको सुरुवाती लगानी झण्डै ५० करोड रुपैयाँ हुने अनुमान गरिएको राज्यमन्त्री श्रेष्ठका भाइ राजेश श्रेष्ठले जानकारी दिए । ‘५० बेडको बुटिक सुपर स्पेस्यालिटी हस्पिटल बनिरहेको छ,’ उनले भने, ‘सुरुवाती लागत नै ४०—५० करोड रुपैयाँ हुनेछ । विस्तारैं त्यो बढ्दै जानेछ ।’ क्षमता अभिवृद्धि गर्दै पछि हस्पिटललाई १ सय बेडको बनाउने लक्ष्य लगानीकर्ताहरुको छ ।

श्रेष्ठकाअनुसार शालीग्राम होटलले थोरै क्षेत्र ओगटेर बाँकी रहेको सबै क्षेत्र अस्पताललाई दिइएको छ । जसमा भौतिक संरचना निर्माणको कार्य पनि जारी रहेको छ । सो होटल भएको ठाउँमा क्लिनिक र ल्याब भने यसअघि नै सञ्चालनमा आइसकेको थियो । उक्त क्लिनिक र ल्याब पनि अहिले हेलियसकै नाममा सञ्चालन गर्न सुरु भइसकेको छ ।

प्राइभेट बहुल स्वामित्वमा खोलिने उक्त अस्पतालबाट सुपर स्पेस्यालिटी सेवाहरु दिने तयारी छ । नाम चलेका स्त्री तथा प्रसुती रोग विशेषज्ञहरु, हाडजोर्नी विशेषज्ञहरु, मुटुरोग, इन्टर मेडिसिनका विशेषज्ञ चिकित्सकहरुलाई अस्पतालले अनुबन्धित समेत गरिसकेको छ । उनीहरुमध्ये अधिकांशलाई अस्पतालको सेयरसमेत दिइएको स्रोतको दावी छ ।

उसो त पूर्व स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका श्रेष्ठ कुनै समय नाम चलेको जनमैत्री सामुदायिक अस्पतालको सञ्चालक समितिको अध्यक्ष समेत छन् । स्वास्थ्य राज्यमन्त्री हुँदा उनले आफ्नो आधा सम्पत्ति राज्यलाई दिने घोषणा गरेका थिए । श्रेष्ठ शिक्षा क्षेत्रमा प्रतिष्ठित लिटिल एन्जल्स समूहका मालिक हुन् ।

को—को चिकित्सक छन् हेलियसमा ?

श्रेष्ठले हेलियर सुपर स्पेस्यालिटी हस्पिटलमा नाम चलेका चिकित्सकहरु अनुबन्धित गरेका छन् । ती चिकित्सकहरुले अहिले सोही ठाउँमा हेलियस सुपर स्पेस्यालिटी हस्पिटलकै नाममा सञ्चालन भइरहेको क्लिनिकमार्फत सेवा दिइरहेका छन् ।

क्लिनिकमा डाइबटिज एण्ड इन्डोक्राइनकी चिकित्सक डा. मीमी गिरी, इन्टरनल मेडिसिनका चिकित्सक डा. सफला माथेमा, इन्टरल मेडिसिन एण्ड नेफ्रोलोजीका डा. निरज सिंह, स्त्री तथा प्रसुती रोग विशेषज्ञहरु डा. मिरा हाडा र डा. अचिरा चतुर्वेदी, मुटु रोग विशेषज्ञ डा. कुनाल साह, हाडजोर्नी विशेषज्ञद्वय डा. सैलज रन्जितकार र डा. अनिमेष जोशी, रेडियोलोजिष्ट डा. प्रिटी अग्रवाल र साइक्याक्ट्रिक डा. ऋचा अमात्य रहेका छन् ।


क्याटेगोरी : विशेष रिपोर्ट
ट्याग : #उमेश श्रेष्ठ, #डा. मिरा हाडा, #डा. मीमी गिरी, #शालिग्राम होटल, #हेलियस सुपर स्पेस्यालिटी हस्पिटल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ