२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टभिडियो रिपोर्टः दुवै मिर्गौला फेल भएका बिरामीको नेपालमै पहिलो पटक मुटुको जटिल शल्यक्रिया

भिडियो रिपोर्टः दुवै मिर्गौला फेल भएका बिरामीको नेपालमै पहिलो पटक मुटुको जटिल शल्यक्रिया


काठमाडौं—सिरहा लहानका मोहम्मद सवीर वैदेशिक रोजगारीका सिलसिलामा कतारमा थिए । एक वर्षअघि मात्रै उनलाई विसन्चो हुन थाल्यो । त्यसपछि कतारमै उनले स्वास्थ्य परीक्षण गराए । डाक्टरले नेपालमै गएर उपचार गर्ने सल्लाह दिए ।

डाक्टरको सल्लाहपछि उनी नेपाल फर्किए । वैदेशिक रोजगारीबाटै परिवारको सम्पूर्ण लालनपालन गर्दै आएका उनीसँग आर्थिक अभाव उत्तिकै थियो । नेपाल फर्केपछि शहीद गंगालाल हृदय रोग केन्द्रमा स्वास्थ्य परीक्षण गराए ।सवीरको मिर्गौलामा समस्या देखियो ।

मिर्गौलामा समस्या देखिएपछि उनलाई भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा पठाइयो । त्यही बेला इमर्जेन्सी शल्यक्रिया गरेर एउटा किड्नी फालियो । उनलाई डाइलाइसिसमा राखियो । र, मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिइयो ।

त्यसपछि उनी मिर्गौला प्रत्यारोपणका लागि आवश्यक खर्चसहित चाँजोपाँजो मिलाउन घर गए । पछिल्लो एक वर्ष उनले जीवन र मृत्युको आशा र त्रासमै बिताए । मिर्गौला प्रत्यारोपणका लागि सबै तयारी सकेपछि गत पुसमा नयाँ जीवनको आशा लिएर ३६ वर्षीय सवीर छोरा मोहम्मद सफराज राय र श्रीमतीसहित काठमाडौं आए ।

भनिन्छ, जहाँ गहिरो त्यही पहिरो । ठ्याक्कै सवीरको जीवनमा पनि यस्तै नियति दोहोरियो । मिर्गौला प्रत्यारोपणका लागि केन्द्रमा थप चेकजाँचहरु गर्दा उनको मुटु असामान्य देखियो । मुटुमा समस्या देखिएपछि मिर्गौला प्रत्यारोपण टिमले थप चेकजाँचका लागि केन्द्रका कार्डियो भास्कुलर सर्जन डा. सन्जीतकुमार शाहको विभागमा पठाइदियो ।

डा. शाहले उनको थप चेकजाँच गराए । ‘मुटुले राम्रोसँग काम नगरेको पाइएपछि हामीले थप जाँच पडताल अगाडि बढायौं,’ केन्द्रका कार्डियो भास्कुलर सर्जन डा. सन्जीत भन्छन्, ‘त्यसपछि हामीले एन्जीओग्राम ग¥यौं ।’ एन्जीओग्राम गर्दा उनको मुटुका तीन वटा नसामध्ये दुई वटा पूर्ण रुपमा बन्द भएको र अर्कोमा पनि बोसोहरु जम्मा भएको पाइयो । डा. सन्जीतकाअनुसार तेस्रो नसाबाट अलिअलि रगत सर्कुलेसन भइरहेको तर कतिबेला रोकिन्छ भन्ने अवस्थामा थियो । डा. सन्जीतकाअनुसार सबीरलाई ‘डबल भेस्सल डिजिज वीथ क्रोनिक किड्नी’को समस्या देखियो ।

‘बुवाको मुटुको एउटा नसा पहिले नै ब्लकेज रहेछ,’ उनको छोरा सरफराज भन्छन्, ‘तर, बुवाले त्यो कुरा नभनेरै लुकाउनु भएको रहेछ ।’ पछि जाँच गरेपछि बल्ल थाहा भयो । मिर्गौलाले काम नै नगरेर एक थोपा पनि पिसाब नआउने सवीरको जिन्दगीमा अर्को ठूलो स्वास्थ्य संकट थपियो । ‘यथाशीघ्र मुटुको शल्यक्रिया नगरी नहुने अवस्था थियो,’ डा. सन्जीत सुनाउँछन्, ‘अरु स्वास्थ्य समस्या पनि भएकाले शल्यक्रिया के गर्ने भनेर सोधे ।’ त्यसपछि सवीरले केही दिन समय मागे । मुटुका लागि आवश्यक औषधिहरु दिएर पठाइयो ।

दुई महिनापछि गत चैतमा उनी मुटुको शल्यक्रिया गर्ने योजना बनाएर केन्द्रमा आए । सवीरलाई थप काउन्सिलिङ गरियो । जटिलताका बारेमा बिरामी र उनका परिवारलाई समेत जानकारी दिइयो । किड्नी र मुटुको टिमसँगै राखेर कसरी उपचार गर्ने भन्ने विषयमा गहन छलफल भयो । ‘ज्यान बचाउनका लागि मुटुको शल्यक्रिया अनिवार्य हो भन्ने निष्कर्षमा पुग्यौं,’ डा. सन्जीतले भने, ‘मुटुको शल्यक्रिया गरेमा डाइलाइसिस गरेर पनि बचाउन सकिन्थ्यो । मुटुको शल्यक्रिया नगर्दा बिरामीको जीवन नै रिस्कमा हुन्थ्यो । त्यही कारण हामी शल्यक्रिया गर्ने निष्कर्षमा पुग्यौं ।’

त्यही कारण चिकित्सकहरुको टिमले सवीरको मुटुको शल्यक्रिया गर्ने योजना अगाडि बढायो । १० चैतबाट उनलाई अस्पतालमा भर्ना गरेर उपचार सुरु गरियो । सवीरका अन्य स्वास्थ्य सूचकहरु असामान्य भएकाले शल्यक्रिया अगाडि ती सामान्य बनाउन आवश्यक थियो ।

रगत खराब हुने, रगत जम्ने, हेमोग्लोबिनको मात्रा निकै कमजस्ता समस्या उनमा थिए । विस्तारै उपचार अगाडि बढाइयो । ४ मात्र रहेको हेमोग्लोबिनलगायतलाई व्यवस्थापन गर्न विस्तारमा परीक्षण गरेर एक महिना काम गरे । ८ बैशाखमा कार्डियो भास्कुलर सर्जन डा. शाह, गंगालाल हृद्धय रोग केन्द्रका डा. विश्व पोखरेल, डा. अजय खड्का, केन्द्रकै एनेस्थेसिया टिमको ब्याकअपमा लागि मनमोहन कार्डियोथोरासिक सेन्टर डा. प्रिस्का बास्तोलालाई बोलाइयो । प्रफ्युनिष्ट निलम पण्डित, सहयोग उमेश खान, नर्सहरु कामना बोगटी र ज्योति कोजुसहितको टिममा झण्डै २ घण्टा समय लगाएर सवीरको शल्यक्रिया गरियो । मिर्गौला फेल भएका बिरामीको मुटु शल्यक्रिया गरिएको सम्भवतः नेपालमा यो पहिलो हो ।

मुटुको शल्यक्रियापछि अहिले सवीर सामान्य अवस्थामा फर्कदैछन् । ‘अहिले मलाई राम्रो हुँदै गएको छ,’ गत बिहीबार सवीरले हेल्थआवाजसँग भने, ‘नेपालमै यस्तो राम्रो केन्द्र रहेछ । यस्तो शल्यक्रिया हुन्छ भनेर थाहै थिएन । कमसेकम बाहिर एउटा बोर्ड भएपनि त राख्नुप¥यो ।’ उनी आफूलाई नयाँ जीवन दिने चिकित्सकहरुको टिमप्रति निकै अनुग्रहित देखिए । मुटुको शल्यक्रियापछि उनलाई डाइलाइसिस गरिदैं आएको छ । केही समयमै अब सबीर मिर्गौला प्रत्यारोपण गर्न सकिने गरी सन्चो हुनेछन् र उनलाई मिर्गौला प्रत्यारोपण गरिनेछ । आर्थिक रुपमा निकै विपन्न भएकाले अस्पतालले औषधी, प्रयोगशाला जाँच, शल्यक्रियालगायतका सबै कुरामा उनलाई छुट दिएको छ ।




क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ