२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसंक्रमितमध्ये ३३ प्रतिशत डिस्चार्ज, २ प्रतिशत संक्रमित मात्रै अस्पतालको आइसोलेसनमा

संक्रमितमध्ये ३३ प्रतिशत डिस्चार्ज, २ प्रतिशत संक्रमित मात्रै अस्पतालको आइसोलेसनमा


धनगढी—सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ संक्रमितमध्ये ३३ प्रतिशत डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहको आइसोलेसनबाट ३३ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज भएका हुन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा शुक्रबार साँझ एक हजार दुई सय ६७ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म संक्रमितको संख्या तीन हजार सात सय ५५ पुगेको छ ।

उनका अनुसार शुक्रबार सेती अस्पतालबाट एक जनालाई मात्रै डिस्चार्ज गरिएको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कञ्चनपुरका तीन सय ५६ जना, बैतडीका दुई सय ५२, डडेल्धुराका एक सय ८८, अछामका एक सय ६४ र डोटीका एक सय ५७ र कैलालीका एक सय एक जना संक्रमितलाई अस्पताल र क्वारेन्टाइनबाट डिस्चार्ज गरिएको छ ।

यस्तै, बझाङबाट ३४, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ । कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन् ।

सुदूरपश्चिम प्रदेशका २ प्रतिशत संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य समस्या र रोगको लक्षण देखिएपछि मात्रै संक्रमितलाई अस्पतालमा स्थापना गरिएका आइसोलेसन कक्षमा राखेर उपचार गरिने नीति अवलम्बन गरिँदा झण्डै ९७ दशमलव ७१ प्रतिशत संक्रमित क्वारेन्टाइन र घरमै बसिरहेका छन् । निर्देशनालयको तथ्यांक हेर्दा दुई दशमलव १३ प्रतिशत संक्रमितको मात्रै आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा ३९, महाकाली अस्पतालमा १८, अछाम अस्पतालमा १०, सेती अस्पतालमा ६, मालाखेती अस्पतालमा तीन, डोटी र बाजुरा अस्पतालमा दुई÷दुई जना गरी एक सय एक जनाको अस्पतालमा उपचार भइरहेको छ ।

संकलन गरिएको नमुनामध्ये १४ प्रतिशतमा संक्रमण

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट कोभिड–१९ परीक्षणको लागि संकलन गरिएका नमुनामध्ये १४ प्रतिशतमा कोभिड–१९ पुष्टि भएको हो ।

कोभिड–१९ को परीक्षणको लागि संकलन गरिएको २६ हजार ५ सय ३५ नमुनामा ३ हजार ७ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबारसम्म सुदूरपश्चिम प्रदेशमा संकलन गरिएको २६ हजार ५ सय ३५ नमुना मध्ये २५ हजार ६ सय ८० को नतिजा आएको र ८ सय ५७ नमुनाको नतिजा आउन बाँकी रहेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ