२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिमको डोटीमा डेंगुबाट एक जनाको मृत्यु

सुदूरपश्चिमको डोटीमा डेंगुबाट एक जनाको मृत्यु


धनगढी-डोटीमा पहिलो पटक डेंगुबाट एक जनाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं. ६ थाप्लाकी ४२ वर्षीया छत्र मलासीको डेंगुबाट मृत्यु भएको हो ।

बिरामी भएपछि उपचारका लागि माया मेट्रो हस्पिटलमा भर्ना भएकी मलासीको बिहीबार विहान मृत्यु भएको हो । टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि उनलाई डोटीबाट धनगढी ल्याएको जेठाजु नारद मलासीले बताए । मलासीले भने, ‘सुरुमा यो भाइरल ज्वरोको समस्या सबैतिर छ, त्यही होला भन्ने भयो । बढ्दै गएपछि उपचारका लागि धनगढी ल्यायौं, डाक्टरले डेंगु हो भने हामी आश्चर्य चकित भयौं ।’

डोटी जिल्लामा बस्दै आएकी मलासीलाई डेंगु भनेपछि स्थानीयमा त्रास छाएको छ । मसालीलाई डेंगु र स्क्रप टाइफस दुई वटा बिरामी देखिएको माया मेट्रो अस्पतालका डा. विष्णु जोशीले बताए । जोशीले भने, ‘उहाँमा डेंगुले धेरै संक्रमण गरिसकेको थियो । त्यसैले पनि उपचार सम्भव भएन, कैलालीमा डेंगुको संक्रमण बढ्दो छ ।’

डोटीमा भने अहिलेसमम डेंगु रोग नभेटिएको जिल्ला अस्पताल डोटीका डा. भुषण मिश्रले बताए । मिश्रले भने, ‘हाम्रो रेकर्डमा अहिलेसम्म छैनन्, डेंगुबाट मृत्यु भएको खबर मैले पनि सुने, हामी परिक्षण गर्छौं । त्यसका लागि किटको माग गरिसकेका छौं ।’ पहाडमा पनि डेंगु रोग देखिनु चिन्ताजनक विषय भएको डा. मिश्रले बताए ।

एडिज नामको लामखुट्टेको टोकाइबाट डेंगु हुने गर्दछ । विभिन्न प्रकारका एडिजमध्ये एडिज एलवोपिक्टस र एडिज एजेप्टी मुख्य हुन् । एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बाहरु हुन्छन् । यसले दिउँसो टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ । यसले आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा करिब ३ सय वटा अण्डा पार्दछ ।

डेंगु ज्वरो भएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा उसलाई पनि डेंगु सर्दछ । लामखुट्टेको कारणभन्दा पनि मानिसहरुको तीव्र बसाइसराइ र भ्रमणले यो सार्न सहयोग गरिरहेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ