२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिम प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापनाको योजना अलपत्र

सुदूरपश्चिम प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापनाको योजना अलपत्र


धनगढी—सुदूरपश्चिममा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापनाको योजना अलपत्र परेको छ । नयाँ संरचनाअनुसार सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापनाको योजना गत वर्षकै भएपनि अहिलेसम्म स्थापना हुन सकेको छैन् ।

हुन त संघीय सरकारले एक महिना अगाडि नै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापनाका लागि दरबन्दी स्वीकृत गर्दै केही कर्मचारी पनि पठाएको छ । संघीय सरकारले ११ जनाको दरबन्दी स्वीकृत गर्दै एकजना प्रयोगशाला अधिकृत र एकजना लेखापाललाई सुदूरपश्चिम प्रादेशिक प्रयोगशालामा खटाइसकेको छ ।

तर, अहिलेसम्म प्रयोगशाला स्थापनाका लागि भाडाको घर समेत खोज्न बाँकी रहेको छ । प्रादेशिक प्रयोगशालाकी प्रयोगशाला अधिकृत अस्मिता सापकोटाले प्रयोगशाला स्थापनाका लागि भाडाको घर खोजिरहेको बताइन् । ‘दुई जना कर्मचारी पठाएपनि पदस्थापन हुन बाँकी छ,’ उनले भनिन्, ‘थप कर्मचारी पठाउने समेत तयारी भइरहेको जानकारी प्राप्त भएको छ ।’

झण्डै साढे तीन वर्षको पहलपछि २०७४ सालको कात्तिकदेखि सेती अस्पतालमा क्षेत्रीय प्रयोगशालाको नाम दिएर सञ्चालन गरिएको थियो । तर, क्षेत्रीय प्रयोगशालामा उपकरण र जनशक्तिको अभाव भएपछि अहिले क्षेत्रीय नाम समेत हटाएर अस्पतालले आफ्नो मात्रै प्रयोगशाला सञ्चालन गर्दै आएको सेती अस्पतालको प्रयोगशालाका इन्चार्ज रमेश शाहीले बताए ।

‘अस्पतालको प्रयोगशाला मात्रै सञ्चालनमा रहँदा चाप बढी छ,’ शाहीले भने, ‘प्रादेशिकस्तरको प्रयोगशाला स्थापना भए जाँचका लागि रेफर गर्नुपर्ने बाध्यता हट्ने विश्वास लिएको छु ।’ अहिले सानोतिनो जाँचका लागि पनि परनिर्भर हुनुपर्ने बाध्यता रहेको छ ।

‘यो वर्ष प्रदेश सरकारले प्रादेशिक प्रयोगशाला स्थापनाका लागि ३० लाख बजेट विनियोजन गरेको छ,’ सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख, बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले भने, ‘उपकरण खरिदका लागि समेत थप बजेट विनियोजन गरिएको छ, अब घर खोजेर छिट्टै प्रयोगशला स्थापनाको योजना रहेको छ ।’

विगतमा क्षेत्रीय प्रयोगशालाकै लागि दिइएका विभिन्न उपकरणहरु अहिले सेती अस्पतालमा राखिएको बताउँदै उनले ती उपकरण सेती अस्पतालकै प्रयोगशालामा राख्ने वा प्रादेशिक प्रयोगशालामा ल्याउने भन्ने विषयमा भने टुंगो नलागेको बताए ।

अहिले सरकारी अस्पतालका बाहेक अन्य छुट्टै सरकारीस्तरका जनस्वास्थ्य प्रयोगशाला सुदूरपश्चिममा नहुँदा अस्पतालका प्रयोगशालामा बिरामीको चाप छ । त्यसैले धेरै बिरामीहरु परिक्षणका लागि निजी प्रयोगशालामा धाउन बाध्य छन् ।

तर नीजि प्रयोगशालामा जाँच गराउँदा रिर्पोटमा त्रुटी भेटिन थालेपछि समस्या भएको छ । यस्तो अवस्थामा प्रादेशिक स्तरको प्रयोगशाला स्थापना भए ११ औँ तह सम्मका दक्ष जनशक्ति आउने बाटो खुल्ला हुने छ भने परिक्षणका लागि परनिर्भर हुनुपर्ने बाध्यतामा समेत कमी आउने विश्वास गरिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ