२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगेटा अस्पताल भोलिबाट संचालनमा आउने, स्वास्थ्यकर्मीको २६ जनाको टोलीले सेवा दिने

गेटा अस्पताल भोलिबाट संचालनमा आउने, स्वास्थ्यकर्मीको २६ जनाको टोलीले सेवा दिने

शल्यक्रिया सेवा चैतमा र आईसीयु तथा एनआईसीयु सेवा आगामी बैशाखभित्र सञ्चालनमा ल्याइने


धनगढी—कैलालीको गेटा अस्पतालमा भोलिबाट अस्पताल सञ्चालनमा आउने भएको छ। मंगलबार अस्पतालका निर्देशक डा. प्रमोद जोशीले पत्रकार सम्मेलनमार्फत १ सय शैय्या क्षमताको अस्पताल सञ्चालनका लागि सबै तयारी पूरा भएर भोलिबाट संचालनमा ल्याउने जानकारी दिए ।

अस्पतालका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण, औषधीलगायतको प्रबन्ध भइसकेको छ। अस्पताल सञ्चालनका लागि सहायकस्तर र श्रेणीविहिन गरेर १ सय १० जना र नेपाल सरकार मन्त्रीपरिषदको २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्राकिंत तथा अधिकृतस्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएपछि अस्पताल सञ्चालनमा ल्याउन सहज भएको हो।

आर्थिक वर्ष २०८०÷८१ को बजेटमा गेटा अस्पताललाई १ सय शैय्या क्षमताको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको थियो।

१३ भदौं २०८० मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरको निर्णयअनुसार वार्षिक विकास कार्यक्रम स्वीकृती भई प्राप्त भएको एवं चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सम्बन्धि मार्ग दर्शन गेटा अस्पताललाई प्राप्त भएपछि भोलिदेखि अस्पताल सञ्चालनमा आउने अस्पतालका निर्देशक डा. जोशीले जानकारी दिए ।

गेटामा ओपीडी सञ्चालनका लागि मन्त्रालयले २१ भदौंमा अनुमति दिइसकेको छ। सेती प्रादेशिक अस्पतालकै सेवा शुल्क लिने गरी गेटामा अस्पताल सञ्चालन हुन लागेको उनले बताए। अस्पताल सञ्चालनमा ल्याउने अहिले गेटामा निर्देशकसहित चिकित्सक तथा स्वास्थ्यकर्मी लगायत २६ जना जनशक्ति हाजिर भइसकेका छन्।

१ कात्तिकदेखि गेटा अस्पतालबाट जनरल ओपीडी, हाडजोर्नी तथा नसा रोग ओपीडी, स्त्री सेवा, जनरल सर्जरी, अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालनमा आउनेछ।

साथै, एमसीएच क्लिनिक सेवा कात्तिक महिनाभित्र, खोप सेवा विस्तार र अन्तरंग सेवा मंसिर महिनाभित्र, इमर्जेन्सी सेवा र प्रसुती सेवा पौष महिनाभित्र, शल्यक्रिया सेवा विस्तार चैत महिनाभित्र, आईसीयु तथा एनआईसीयु सेवा आगामी बैशाखभित्र सञ्चालनमा ल्याउने तयारी छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ