२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतीन महिना नपुग्दैं लखेटिए जिल्ला अस्पताल अछामका मेसु डा. यादव

तीन महिना नपुग्दैं लखेटिए जिल्ला अस्पताल अछामका मेसु डा. यादव


धनगढी—जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रवि यादवको तीन महिना नबित्दैं काज फिर्ता गरिएको छ। आइतबार डा. यादवको काज फिर्ताको पत्र आएको हो।

अछाम अस्पतालमा एक्ला स्थायी चिकित्सक रहेका उनी हाजिर भएको तीन महिना पनि नपुग्दै काज फिर्तामा परेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यादव काज फिर्ता गरिएको जनाएको छ।

२ असोजमा उनी अछाम अस्पतालमा हाजिर भएका थिए । तत्कालीन (हालै सरुवा भएका) सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकालले सुदूरपश्चिममा डा. यादवसहितका संघका चिकित्सकहरु पुल दरबन्दीमा ल्याएका थिए।

तर, उनीहरु अस्पतालभित्रको राजनीतिक दबाब र किचलोका कारण टिक्न भने सकिरहेका छैनन् । अछाम अस्पतालका मेसु डा. यादवको पनि राजनीतिक दबाबकै कारण काज फिर्ता भएको बताइएको छ।

अस्पतालका व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका नेकपा (माओवादी) केन्द्र अछामका नेता शिव बोगटीले भनसुन गराएर मन्त्रालयमार्फत उनको काज फिर्ता गराएका हुन्। बोगटीले हालै नयाँ कर्मचारी भर्नाका क्रममा आफ्ना दल र निकटका मान्छेलाई जागिर लगाउन खोज्दा डा. यादवले रोकेपछि टकराव सुरु भएर काज फिर्तासम्म पुगेको बताइन्छ। आफूले बेथिती रोक्न खोज्दा काज फिर्तामा परेको डा. यादवको दावी छ ।

तर, समितिका अध्यक्ष बोगटीले भने यादवको कार्यशैलीमाथि प्रश्न उठाउँदै त्यसकै फलस्वरूप काज फिर्ता भएको दाबी गरे। उनले अस्पतालमा हाकिम भएर बस्ने भन्दा बिरामी जाच्ने चिकित्सक चाहिएको भन्दै काज फिर्ता गराइएको दाबी गरेका छन् ।

हालैमात्र डा. यादव मेसु रहेकै बेला अछाम जिल्ला अस्पताललाई सुदूरपश्चिमको स्वास्थ्य निर्देशनालयले कार्यसम्पादनका प्रदेशकै उत्कृष्ट अस्पतालसमेत घोषित गरेको थियो। अछाम सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदको गृह जिल्ला पनि हो ।

यसअघि, गत असोजमा जिल्ला अस्पताल बझाङका मेसु डा. नवराज जोशीको पनि काज फिर्ता गरिएको थियो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ