२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशडडेल्धुरा अस्पतालमा चिकित्सक अभाव कायमै, मन्त्रालयले पठाएका १४ चिकित्सकमध्ये ३ मात्रै हाजिर

डडेल्धुरा अस्पतालमा चिकित्सक अभाव कायमै, मन्त्रालयले पठाएका १४ चिकित्सकमध्ये ३ मात्रै हाजिर


धनगढी—डडेल्धुरा सदरमुकाममा रहेको डडेल्धुरा अस्पतालमा चिकित्सक अभाव कायमै रहेको छ । विशिष्ट विशेषज्ञ अस्पतालका रूपमा संघीय सरकार मातहत रहेको सुदूरपश्चिम प्रदेशको एकमात्र डडेल्धुरा अस्पतालमा चिकित्सक अभाव कायमै रहेको हो ।

विगत लामो समयदेखि दरबन्दी अनुसारका चिकित्सक नपाएको अस्पतालले स्थापनादेखि हालसम्म अस्पतालको ११ औं तहको मेडिकल सुपरिटेण्डेन्ट समेत पाएको छैन भने तत्कालीन जिल्ला अस्पताल व्यवस्थापन समिति भंग भएपछि हालसम्म उपक्षेत्रीय अस्पताल तथा हालको विशेषज्ञ अस्पतालको विकास समितिसमेत गठन हुन सकेको छैन ।

अस्पतालमा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर, अहिले अस्पतालमा छात्रवृत्ति करारबाट एक जना र अस्पताल विकास समितिबाट दुईजना गरी करारमा ३ जना विशेषज्ञ चिकित्सक छन् । त्यस्तै १९ जना मेडिकल अफिसरको दरबन्दी रहेको अस्पतालमा ९ जना चिकित्सक रहेपनि ५ जना अध्ययन बिदामा रहेका छन् भने ४ जना मात्र अस्पतालमा कार्यरत छन् ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले पठाएका ११ जना स्थायी र ३ जना करार गरि १४ जना चिकित्सकमध्ये ३ जना मात्र डडेल्धुरा अस्पतालमा पुगेका छन् । बाँकी ११ जना भने अहिलेसम्म पनि अस्पतालमा पुगेका छैनन् । पुगुन पनि कसरी मन्त्रालयले पठाएका ७ जना चिकित्सक यसअघिदेखि नै अध्ययन बिदामा छन् भने एकजना संघीय सरकारबाट प्रदेश मातहतको बाजुरा जिल्ला अस्पतालमा काज सरुवा भएका छन् । अर्का एकजना अहिले सुत्केरी स्याहार बिदामा रहेका छन् ।

यसैगरी, करारमा पठाएका २ जना अझै सम्पर्कमा नआएका अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगदीशचन्द्र बिष्टले जानकारी दिए ।

अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा सात पहाडी जिल्लाको स्वास्थ्य सेवा नै प्रभावित बनेको छ । कर्मचारी समायोजनपछि डडेल्धुरा अस्पतालमा रहेका चिकित्सकहरु सरुवा भै गएपछि अभाव भएकोे अस्पतालका निमित्त प्रमुख डा.जगदीशचन्द्र विष्टले बताए ।
डडेल्धुरा अस्पताललमा ११औं तहको मेडिकल सुपरिटेण्डेन्टको दरबन्दी रहेको छ तर अस्पतालले अहिलेसम्म ११ औं तहको मेडिकल सुपरिटेण्डेन्ट पाएको छैन् । अस्पताल निमित्त प्रमुखको भरमा चलिरहेको छ । स्थापनादेखि डडेल्धुरा अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारीमा छ ।

पत्रकार सम्मेलनमार्फत अस्पतालबारेमा जानकारी

डडेल्धुरा अस्पतालका नयाँ निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.जगदीशचन्द्र बिष्टले आइतबार पत्रकारहरुसँग परिचयात्मक कार्यक्रमको आयोजना गरेर अस्पतालको बारेमा जानकारी गराएका छन् ।

उनले अस्पतालमा चिकित्सक अभाव नै प्रमुख समस्याको रुपमा रहेको बताए । उनले भने, ‘यो अस्पतालको प्रमुख समस्या भनेको दरबन्दीअनुसार चिकीत्सक नहुनु नै हो ।’ संघीय सरकार मातहत रहेको अस्पतालमा स्वास्थ्य मन्त्रालयले नै दरबन्दीअनुरुपका चिकित्सक पठाउनुपर्नेमा डा. बिष्टले आग्रह गरे ।

अस्पतालको आन्तरिक व्यवस्थापनका लागि आफूले प्रयत्न गर्ने बताउँदै डा. बिष्टले बाह्य वातावरणका लागि यहाँका सरोकारवालाहरुले सहयोग गर्नुपर्ने बताए ।

डडेल्धुरा अस्पतालमा चिकित्सकहरुलाई काम गर्न कुनै समस्या नरहेको समेत डा.बिष्टले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । यहाँका राजनितिक दल, स्थानीय प्रशासन र नागरिक समाज अस्पतालको विकासका लागि योजनावद्ध रुपमा अगाडि बढेकाले अस्पताल प्रशासनले समेत हातेमालो गर्दै अगाडी बढ्ने उनले बताए ।

परिचात्मक कार्यक्रममा अस्पताल विकासका साथै चिकित्सकहरुको पदपूर्ति, कर्मचारी व्यवस्थापन तथा औषधि खरिद र आन्तरिक व्यवस्थापनका विभिन्न विषयमा विशेष छलफलसमेत गरिहेको थियो ।

अहिले अस्पतालमा सिजरियन सर्जरी सेवा, यूएसजी सेवा, इन्डोस्कोपी सेवा तथा एसयनसीयू सेवा संचालनमा आएको छ । अस्पतालमा अहिले नेपाल सरकार तर्फबाट १ सय ८ जनाको दरबन्दी स्वीकृत भएपनि दरवन्दी अनुरुप कर्मचारी भने छैनन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ