२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशराज्यमन्त्री रावतले गरे सुर्खेतका चार पालिकामा १५-१५ शैय्याको अस्पताल शिलान्यास

राज्यमन्त्री रावतले गरे सुर्खेतका चार पालिकामा १५-१५ शैय्याको अस्पताल शिलान्यास


सुर्खेत – नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सुर्खेतका चार पालिकामा १५-१५ शैय्याका अस्पतालको शिलान्यास गरेका छन् । वीरेन्द्रनगर नगरपालिका ९ लाटिकोइली , बराहताल गाउपालिका ५ बड्डिचौर, चौकुने गाउँपालिका ४ बिजौरा, पन्चपुरी नगरपालिका २ साल्कोटमा अस्पतालको शिलान्यास गरिएको हो ।

आइतबार पञ्चपुरी नगरपालिकामा १५ शैय्याको अस्पतालको शिलान्यास कार्यक्रममा बोल्दै राज्यमन्त्री रावतले सरकार नागरिकको स्वास्थ्य प्रति गम्भिर रहेको बताए । सोही बमोजिम स्वास्थ्य सुविधाका लागि हरेक पालिकामा ५ देखि १५ शैय्याको अस्पताल निर्माण गर्ने सरकारको योजना रहेको बताए ।

अस्पतालको भवनका साथै जनशक्ति तथा उपकरणको कमी हुन नदिने राज्यमन्त्री रावतले प्रतिबद्धता जनाएका छन् । शिलान्यास कार्यक्रममा बोल्दै राज्यमन्त्री रावतले १८ करोड बजेट आउने सुनिश्चित भैसकेकाले सबै पालिकामा दुई वर्ष भित्र अस्पतालको निर्माण कार्य सम्पन्न गरी बिषशेज्ञ डाक्टर सहितको सेवा सुविधा दिइने जानकारी दिए । जसका लागि प्रत्यक पालिकामा एक एक करोड पठाइसकेकाले ढुक्कका साथ जनशक्ति र सामग्रीसहितको अस्पताल बन्ने उनले जनाएका छन् ।

उनले दुई वर्षभित्र भवन निर्माण कार्यसम्पन्न हुने बताए । सोही क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राज्यमन्त्री रावतले आफूले निर्माणका बेला गरेका प्रतिबद्धताहरु क्रमिक रुपमा पूरा गर्दै गएको उल्लेख गरे।  पश्चिमको विकासका लागि सडकबत्ति र अस्पताल निर्माणमा प्रगति भइरहेको बताउँदै रावतले जनतासामू गरेका बाचा पूरा गर्न इमान्दार भएर लाग्ने बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ