काठमाडौं—सरकारले पहिलो चरणमा ३ प्रतिशत नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । तर, उक्त खोप सामान्य चिस्यानमा राख्ने क्षमता भएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सामान्य चिस्यानमा राखिने खोप (२ देखि ८ डिग्री सेन्टिग्रेट) भण्डारण क्षमता समेत छैन । प्रदेश नम्बर २ र कर्णाली प्रदेशमा सामान्य चिस्यानमा राखिने खोप भण्डारण क्षमता नभएको मन्त्रालयले जनाएको छ ।
फाइजरको खोप भण्डारण क्षमता नेपालमा सम्भव देखिएको छैन । अत्यन्त चिस्यान भण्डारण क्षमता माइनस ७० डिग्री सेन्टिग्रेटमा यसलाई राख्नुपर्छ । हालको अवस्थामा फाइजरको खोप अनुपयुक्त भएको मन्त्रालयले बताएको छ ।
हाल देशमा २ देखि ८ र माइनस २० डिग्री सेन्टिग्रेटको सामान्य भण्डारण क्षमता रहेको छ । पहिलो चरणमा १८ लाख ४२ हजार ९५१ भायल खोपको भण्डारण गर्नुपर्नेछ । प्रदेश २ र कर्णालीमा भण्डारणको व्यवस्था मिलाएर २ देखि ८ र माइनस २० डिग्री सेन्टिग्रेटको खोप भण्डारणमा कुनै समस्या आउँदैन् ।
दोस्रो चरणमा १ करोड ४ लाख ४३ हजार १८५ डोज आवश्यक पर्छ । यसका लागि पनि भण्डारमा खासै समस्या छैन । तेस्रो चरणमा ४० देखि ५४ वर्षका बाँकी सबै २९ लाख १ हजार १०४ जना र उनीहरुका लागि ५८ लाख ६६ हजार ६१३ डोज खोप दिनुपर्नेछ । त्यस्तै सोही चरणमा १५ देखि ३९ वर्ष उमेर समूहका सबै ४२.०७ प्रतिशत अर्थात १ करोड २७ लाख ० हजार ४ जनाका लागि २ करोड ५८ लाख ४३ हजार ८१३ डोज भ्याक्सिन आवश्यक पर्छ । तेस्रो चरणको खोप भण्डारणका लागि भने १२१ घन मिटर भण्डारण अपुग हुनेछ ।