२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशतीन जनाको ज्यान लिने गरी मुगुमा फैलिएको रुघाखोकी भाइरल इन्फ्लुएन्जा भएको पुष्टि

तीन जनाको ज्यान लिने गरी मुगुमा फैलिएको रुघाखोकी भाइरल इन्फ्लुएन्जा भएको पुष्टि


जुम्ला—मुगुको सोरु गाउँपालिका–६ पुरुमुरु गाउँमा तीन जनाको ज्यान जानेगरी फैलिएको रुघाखोकी भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको छ । सोरु गाउँपालिका–६ का पुरुमुरु र जिमा गाउँमा डेढ साताअघिबाट फैलिएको मौसमी रुघाखोकीबाट तीन जनाको मृत्यु भएको थियो ।

गाउँ १ सय ५० जना बिरामी परेका थिए । बिरामी मध्ये १० जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । जाँचका क्रममा भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको हो । स्थानीय ठूलो संख्यामा बिरामी परेपछि चिकित्सकसहितको टोली गाउँ पुगेको थियो ।

जिल्ला अस्पात मुगुका डा. कमल ढुंगानाका अनुसार उक्त क्षेत्रबाट १ सय ५० जनामध्ये १ सय ३५ जनामा भाइरल इन्फ्लुएन्जाको लक्षण देखिएको थियो ।

परीक्षण गराइएका स्वाबमध्ये एक १ जनामा कोभिड–१९, एक जनामा भाइरल इन्फ्लुएन्जा ए, अर्को एक जनामा भाइरल इन्फ्लुएन्जा बी र अरु ७ जना बिरामीमा भाइरल इन्फ्लुएन्जा भएको रिपोर्ट जिल्ला अस्पतालमा प्राप्त भएको डा. ढुंगानाले जानकारी दिए ।

सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले दिएको जानकारी अनुसार केही समय अगाडिबाट फैलिएको रुघाखोकी नियन्त्रण गर्न गाउँपालिकाले औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरेको छ । बुधबार जिल्ला अस्पतालबाट डाक्टरसहितको टोली गाउँ पुगेको छ ।

उपाध्यक्ष शाहीका अनुसार दुवै गाउँमा अहिले बिरामीको संख्या पहिलाको भन्दा घट्दै आएको छ । सोरु गाँउपालिका—६ पुरुमुरु गाउँका ७२ वर्षीय हरिबहादुर शाही सोही गाउँकी ७५ वर्षीया कृति छत्याल र २४ वर्षीया कुशुम ढोलीको यसअघि मृत्यु भएको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ